गृहपृष्ठ » मुख्य समाचार, राजनीतिठूला हस्तीलाई हराएर उदाएकी विद्या भण्डारी

ठूला हस्तीलाई हराएर उदाएकी विद्या भण्डारी

October 26, 2015२०० पटक

९ कात्तिक, काठमाडौं । दुई दशकअघि पूर्णकालिन राजनीतिमा होमिएकी विद्या भण्डारीका लागि २०७२ कात्तिक ११ गते उनको राजनीतिक जीवनमा उत्कर्षको दिन हुनेछ ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिका लागि उनलाई उम्मेदवार बनाउने निर्णय एमालेले गरिसकेको छ । कात्तिक ११ गतेको राष्ट्रपति निर्वाचनमा बहुमत सांसदको मत पाइन् भने उनी नेपालको पहिलो महिला राष्ट्रपति हुने छिन् ।

समकालिन नेपाली राजनीतिमा क्रियाशिल महिला नेतृहरुमध्ये बरियता, सक्रियता र प्रभावको हिसाबले विद्या भण्डारी शीर्षस्थानमा छिन् । मुलुकको दोस्रो ठूलो दल नेकपा एमालेको उपाध्यक्ष रहकी भण्डारी पार्टीभित्रको शीर्ष बरियतामा चौथो स्थानमा छिन् । अन्य प्रमुख दलमा विद्या भण्डारीको उचाइका महिला नेतृ छैनन् ।

पार्टीका शीर्ष नेतृत्वमा रहेका महिला गन्ने हो भने सबैभन्दा ठूलो दल नेपाली कांग्रेसमा चित्रलेखा यादव कोषाध्यक्ष छिन् । एमालेमा विद्या भण्डारी र अष्टलक्ष्मी शाक्य उपाध्यक्ष तहमा छन् । एमाओवादीमा पदाधिकारी तहमा महिला नेतृ छैनन् । यस हिसाबले पनि विद्या भण्डारीको राष्ट्रपतिमा उम्मेदवारी अर्थपूर्ण छ ।

विद्यार्थीकालमै राजनीतिमा लागे पनि विद्या भण्डारीले राजनीतिमा चर्चा पाएको चाहिँ नेकपा एमालेका तत्कालिन महासचिव मदनकुमार भण्डारीको दासदुंगा दुर्घटनामा मृत्युपछि हो । कम्युनिस्ट पार्टीलाई बहुदलीय प्रतिस्पर्धामा लगेर जनताको बहुदलीय जनवादी सिद्धान्त आविष्कार गरेपछि चर्चा पाएका भण्डारीको राजनीतिले शिखर चुम्न नपाउँदै उनको निधन भयो ।

भण्डारीको निधन लगत्तै २०५० मा भएको उपचुनावमा मदनकी बिधवा विद्याले कांग्रेसका तत्कालिन सभापति कृष्णप्रसाद भट्टराईलाई काठमाडौं क्षेत्र नम्बर १ मा पराजित गरेर चर्चा पाइन् । त्यस लगत्तै भएको २०५१ को मध्यावधी निर्वाचनमा विद्याले तत्कालिन सभामुख दमननाथ ढुंग्ाानालाई काठमाडौं २ बाट पराजित गरेपछि उनको राजनीतिक उचाई अझ अग्लियो ।

२०१८ सालमा भोजपूरको गुराँसेमा पाण्डे परिवारमा जन्मिएकी विद्यादेवी भण्डारी राजनीतिक माहौलमा हुर्किइन् । धेरैलाई थाहा नहुन सक्छ नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री ज्ञनेन्द्रवहादुर कार्की विद्या भण्डारीका दाजु हुन् ।

भण्डारी आफ्नो बाल्यकाल सम्झिँदै भन्छिन्-हजुरबुबा गाउँको मुखिया र प्रधानपञ्च थिए । घरमा राजा महेन्द्र, माओत्से तुङ र इन्दिरा गान्धीको चर्चा हुने गर्थ्यो । त्यतिबेला छोरी पढाउने जमाना थिएन त मलाई भने मेरो हजुरबालेनै स्कूल लगेर भर्ना गरिदिनुभएको थियो ।
२०२८ सालतिर गाउँमा सनसनीपूर्ण हल्ला फैलियो ।

त्यतिबेला झापाली युवा कम्युनिस्टहरुले सामन्तको टाउको गिड्ने अभियान चलाएका थिए । विहे नगरेका छोरी चेलीलाई उनीहरुले लैजान्छन् भन्ने हल्ला गाउँमा चल्यो । त्यसपछि त विहे नगरेका केटीहरुले पनि सिन्दूर र पोते लगाउन थाले । त्यो बेलाकी विद्या पाण्डेले पनि सिन्दूर पोते लगाइन् ।

विद्याको परिवारका अधिकांश सदस्यहरु नेपाली कांग्रेस थिए । तर, उनी भनें भोजपूर सदरमुकामको विद्योदय माविमा पढ्दा देखिनै कम्युनिस्ट राजनीतितर्फ लागिन् ।

पूर्वी नेपालमा क्रियाशिल तत्कालिन कम्युनिस्ट समूहहरु रातो झण्डा र कोअर्डिनेशन केन्द्रको सम्पर्कमा पुगेपछि उनी विस्तारै कम्युनिस्ट राजनीतिमा पसेकी हुन् । २०३५ सालमा नेकपा माले गठन भएपछि त उनी रेडगार्ड बनिन् ।

ख्याल ख्यालमै कम्युनिस्ट राजनीतिमा सक्रिय भएर हिडेपछि विद्याको परिवार चिन्तित बन्यो । आमाको विशेष आग्रहमा हजुरबुबाले छुटाउने प्रयास गरे तर विद्याले परिवारबाटै एक प्रकारले विद्रोह गरेर राजनीतिमा अघि बढिन् ।

मदनकुमार भण्डारीसँग उनको पहिलो भेट भोजपूरमै हिमालधन राईको डेरामा भएको थियो । त्यतिबेला सागरको नामले चिनिएका थिए मदन । पछि २०३७ सालमा पार्टीले १७ वर्षे किशोरी विद्यालाई तीनै सागरसँग विहे गर्ने प्रस्ताव राख्यो । वास्तविक नाम, थर र हैसियत केही थाहा थिएन । तर, पनि उनले विहेको प्रस्ताव स्वीकार गरिन् ।

२०३९ सालमा मदन भण्डारी र विद्या पाण्डेको विहे भयो । माइती पक्षले त्यो विहेलाई स्वीकार गरेन । विहेपछि मात्रै उनले श्रीमानको नाम मदन भण्डारी हो भन्ने थाहा पाइन् । त्यो बेला कम्युनिस्ट पार्टीका नेताहरुले आफ्ना परिवारका सदस्यलाई समेत वास्तविकता लुकाउथे । माइतीबाट विद्रोह गरेर भुमिगत नेतासँग विहे गर्दा उनले ठूलो खतरा मोलेकी थिइन् । अभाव र संघर्षबाट गुजि्रदै दुई छोरी हुर्काइन् । केही समय मोरङको एक विद्यालयमाव शिक्षिका भएर उनले काम गरिन् ।

२०४६ को परिवर्तनपछि नेकपा माले खुल्ला भयो । मदनकुमार भण्डारीको भाषणले सिंगो देश लठि्ठयो । जादूमय ढंगले मदन भण्डारीको उदय भयो । विद्या पनि विराटनगरबाट छोरी सहित काठमाडौं आइन् । तर उनी काठमाडौं आएको तीन वर्ष नपुग्दै मदन भण्डारीको निधन भयो ।

२०५० जेठ ३ गते चितवनको दासढुंगामा मदन र जीवराज आश्र्रितको रहस्यमय जीप दुर्घटनामा निधन भयो ।  विद्या भण्डारी २०५४ सालमा करीव ७ महिना जनसंख्या तथा वातावरण मन्त्री बनिन् । त्यहि वर्ष उनी नेकपा एमालेको केन्द्रीय सदस्य निर्वाचत भइन् ।

त्यसयता उनी राजनीतिमा तीब्र गतिमा अघि बढिन् । २०६६ सालमा उनी रक्षामन्त्री बनिन् । २०६५ को बुटवल महाधिवेशनबाट एमाले उपाध्यक्षमा निर्वाचित भएकी विद्या २०७१ को काठमाडौं महाधिवेशनमा पनि पुनः उपाध्यक्षमै निर्वाचित भइन् ।

एमालेको अध्यक्ष र प्रधामन्त्रीसम्मको लक्ष्य राखेर पार्टीमा बलियो गुट निर्माण गरिरहेकी भण्डारी राष्ट्रपतिमा निर्वाचित भइन् भने उनको सक्रिय राजनीति सकिने छ र एमाले संस्थापन पक्षमै रहेको एउटा उपकेन्द्र बिघटन हुनेछ ।अनलाईन खबरमा छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण