गृहपृष्ठ » मुख्य समाचार, राजनीतिकांग्रेसको राष्ट्रपति उम्मेदवार कुलबहादुर गुरुङ ?

कांग्रेसको राष्ट्रपति उम्मेदवार कुलबहादुर गुरुङ ?

October 26, 2015१८२ पटक

पार्टी नेतृत्व असफल भएको नेताहरुको गुनासो

Kul-Bahadur-Gurung

९ कात्तिक, काठमाडौं । सभामुखमा एमाओवादी उम्मेदवार ओनसरी घर्तीलाई भोट हाल्दै गर्दा नेपाली कांग्रेसका नेताहरुले एमाओवादीको पत्र देखाउँदै पार्टीको बैठकमा भनेका थिए-राष्ट्रपतिमा समझदारी हुन सक्छ ।

तर, सहमतिको समय सकिएर बहुमतीय प्रक्रिया सुरु हुँदा पनि प्रमुख दलहरुबीच कुनै सहमति भएको छैन । एमालेले त विद्या भण्डारीलाई उम्मेदवार तोकेर कांग्रेसले राष्ट्रपति नपाउने प्रष्ट पारिसकेको छ ।

सोमबार एमालेले उपाध्यक्ष विद्या भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । यससँगै कांग्रेसलाई राष्ट्रपति दिने सम्भावना धेरै हदसम्म सकिएको एमाले सचिव योगेश भट्टराईले बताए ।

प्रधानमन्त्री निर्वाचनसँगै एमालेसँगको सहकार्य तोडेको कांग्रेसले सबै पदमा उम्मेदवारी दिने निर्णय गरेको थियो । तर, सभामुख र उपसभामुख चुनावमा उसले सत्तारुढ दलका उम्मेदवारलाई समर्थन गर्‍यो ।

कांग्रेसले सभामुख र उपसभामुखमा उम्मेदवार नउठाउदा राष्ट्रपतिमा पनि सहमति गर्न सत्तारुढ दलहरुलाई केही दबाव परेको थियो । एमाओवादी नेतृत्वदेखि एमालेभित्रैपनि कांग्रेसलाई राष्ट्रपति दिन सकारात्मक वातावरण बनेको थियो ।

तर, यो बीचमा पार्टी नेतृत्वले जुन रुपमा रानजीतिक सम्वाद गर्नु पर्ने हो त्यो नगरेको एक कांग्रेस नेताले बताए । उनले भने-राजनीतिमा लाज मान्नु हुँदैनथ्यो तर हाम्रा नेताले लाज माने । हामीले आज एकपटक फेरि गिरिजाबाबुलाई सम्झिएका छौं ।’

तत्कालीन कांग्रेस सभापति कोइरालाले हार्ने देखेपछि कांग्रेसले रामवरण यादवलाई राष्ट्रपति उम्मेदवार बनायो । रातारात बहुमत जुटाउन कोइराला सफल भए र सत्तारुढ दलकै मत पाएर यादव राष्ट्रपति भए ।

तर, यो पटक एमाओवादी र एमालेको एउटा तप्का सकारात्मक हुँदा पनि कांग्रेस नेेतृत्व सफल देखिएन । उसले यसबीचमा एमालेले बैठकबाटै ग्रिन सिग्नल पठाउदा समेत त्यो संकेत बुझेन ।

अब आफूहरुले सभामुखमा एमाओवादी उम्मेदवारलाई किन भोट हालेेको भनेर नेतृत्वलाई प्रश्न गर्ने एक केन्द्रीय सदस्यले बताए ।

अबको विकल्प कुलबहादुर ?

एमालेले आफ्नै उम्मेदवार खडा गरेपछि कुनै चमत्कार नभए राष्ट्रपतिमा कांग्रेस उम्मेदवार हार्नेछन् । यद्यपि यो चुनाव गोप्य मतदान हुन भएकाले सत्तारुढ दलका सांसदले आफूले इच्छाएको अर्को गठबन्धनको उम्मेदवारलाई पनि मतदान गर्न सक्छन् ।

तर, अब कांग्रेसको उम्मेदवार हार्ने चुनावका लागि हुने कांग्रेस नेताहरुले नै स्वीकार गरेका छन् ।

कांग्रेस बैठकमा हालै मात्र वरिष्ठ नेता शेरबहादुर देउवाले राष्ट्रपतिका लागि तीन नाम प्रस्तुत गरेका थिए । दलहरुबीच सहमति हुन्छ भने आफू तयार रहेको सन्देश मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले आफूलाई भनेको भन्दै देउवाले उनको नाम प्रस्ताव गरे ।

अर्को नाम मानबहादुर विश्वकर्माको थियो । तर, उनले जित्ने भए मात्र उम्मेदवार बन्छु भनेको देउवाले सुनाए । तर, कुलबहादुर गुरुङ भने हार जित जे भए पनि पार्टीर्को निर्णय मान्न तयार रहेको देउवाले बैठकमा सुनाएका थिए ।

कांग्रेसका एक नेता भन्छन्-‘एमालेले उम्मेदवार बनाइसकेको अवस्थामा कुलबहादुर गुरुङको सम्भावना बढी भएको छ ।’

तर, राष्ट्रपति र उपराष्ट्रपतिमा उम्मेदवारबारे कुनै निर्णय भइसकेको छैन । नेताहरुका अनुसार मंगलबार विहानै पार्टी नेताहरुबीच हुने छलफलले यसको टुङ्गो लाग्नेछ ।

 onlinekhabar
प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण