गृहपृष्ठ » मुख्य समाचार, विशेष, समचारकरोडौँ लागतको ताराखोला साना जलबिद्युत आयोजना बिचैमा अलपत्र !!

करोडौँ लागतको ताराखोला साना जलबिद्युत आयोजना बिचैमा अलपत्र !!

August 7, 2015४८३ पटक

२२ साउन, बागलुङ तारा,अर्गल र हिल गाविसका २२ सय घरधुरीलाई लक्षित गरी सुरु गरिएको ३९४ किलोवाट क्षमताको ताराखोला सामुदायिक साना जलविद्युत अयोजना अलपत्र अवस्थामा छ । सो महत्वाकांक्षी आयोजना तारा–८ घप्लेङमा मुहान निर्माण गरी कुलोमार्फत पानी ल्याएर तारा–८ कै धस्मरमा विद्युत् गृह निर्माण गरी विद्युत् निकाल्न लागिएको हो । २०६९ साल असोज महिना भित्र सम्पन्न गर्ने गरी २०६८ साल बैशाख महिनामा निर्माण कार्य शुभारम्भ गरिएको १६ करोड रुपयाँ लागतको सो आयोजनाको निर्माण कार्य २०७२ सालको असोज महिना आईपुग्न लाग्दा सम्म वीचमै अलपत्र अवस्थामा देख्दा शेयर लगानीकर्ताहरुको मनमा चिसो पसेको छ । आयोजना बन्ला कि नबन्ला भन्ने दोधारमा पुगेका छन स्थानीयवासी । आयोजना स्थलमा निर्माण सामाग्रीहरु यत्रतत्र छरिएको अवस्थामा छन् भने आयोजनाका अन्य निर्माण गरिएका संरचनाहरुपनि बेवारिसे अवस्थामा छन् । आयोजनाको कार्यालय सँधै बन्द छ । २०६५ सालमा आयोजना दर्ता गरी कार्य प्रारम्भ गरिएको ताराखोला सामुदायिक साना जलविद्युत आयोजनामा तारा, हिल र अर्गल गाविसका २२ सय घर धुरीले १५ हजार रुपयाँका दरले करिब रु ३ करोड शेयर राखेका छन् । कतिपय घरधुरीले त स्वेच्छाले १५ हजार रुपयाँ भन्दा बढी शेयर राखेको आयोजनाले जानकारी दिएको थियो । यस आयोजनाले तारा र हिल गाविसका सबै र अर्गलका वडा नं ६ लाई मात्र समटेको छ । रू। १६ करोड भन्दा बढीको लागतमा निर्माण सुरु गरिएको यस आयोजनाको लागि नेपाल सरकार अन्तर्गतको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले रू छ करोड २७ लाख ८० हजार अनुदान सहयोग स्वीकृत गरेको छ । बागलुङकै पहाडी हाइड्रोपावर कम्पनीले पनि आयोजनामा रू। एक करोड सेयर लगानी गरेको छ । हालसम्म रू। ५ करोड लागतमा मुहान, ९ सय मिटरको कुलो, फोरवे, डिस्टेनिङलगायतका सिभिल निर्माणका काम पूरा भइसकेको आयोजनाका इन्जिनियर राजेन्द्र खनालले एक वर्ष पहिले असारमा बताएका थिए । त्यस्तै, ३ सय मुख्य लाइनका पोलहरू पनि गाडिसकिएको पनि त्यतिबेलै जानकारी दिईएको हो । “हामीले ऋणधन गरेर दिएको रकमबाट सुरु गरिएको आयोजना अलपत्र अवस्थामा देख्दा मन त दुख्छ, जतिसक्यो चाँडो निर्माण कार्यलाई निरन्तरता दिईयोस भन्ने हाम्रो चाहना छ तर खोई कता के भयो वा भएको छ लथालिंग देख्दा योजना नबन्ने हो कि भन्ने पिर लागेको छ” शेयरदाता स्थानीयको गुनासो सुनिन्छ । “न आयोजना उपभोक्ता समिति तात्यो न जनताको करोडौँ रुपयाँ यसरी डुब्ने अवस्थामा पुग्दा सम्म कुनै सरोकारवाला निकायले नै चासो लियो।।” भन्ने उनिहरुले दुखेसो सुनाउन थालेका छन् । आयोजना उपभोक्ता समितिको साइनबोर्डमा समितिको वेबसाइट समेत उल्लेख गरिएकोले आयोजना सम्वन्धि जानकारी लिन सो वेबसाइट लगअन गर्दा त्यहाँपनि योजना निर्माणकार्य यसरी विचैमा रोकिनुको कारण केहि उल्लेख गरिएको छैन अर्थात धेरै समय देखी अपडेट गरिएको पनि छैन । यसरी जनतासंग रकम उठाएर करोडौँको योजना बीचमै अलपत्र छोड्नु भन्दा कसरी योजना निर्माण कार्य अघी बढाउन सकिन्छ समितिले समय मै बुद्धि पुराउनु जरुरी छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण