गृहपृष्ठ » मुख्य समाचार, समचारअनुदानको चिनियाँ इन्धन बुधबार भित्रिने

अनुदानको चिनियाँ इन्धन बुधबार भित्रिने

October 27, 2015२०४ पटक
फोटो :फाइल फोटो
भारतीय आयल निगमले आवश्यक परिमाणमा इन्धन उपलब्ध नगराउँदा नेपालीको जनजीवन कष्टकर बन्दै गएपछि सरकारले तत्कालका लागि इन्धन आपूर्ति गर्न चिनियाँ अधिकारीहरूसँग वार्ता गर्न सरकारी टोलीलाई चीन पठाएको हो।
वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार बेजिइङस्थित नेपाली राजदूत महेश मास्केको नेतृत्वमा उच्च अधिकारीहरू चीन गएका हुन्। टोलीमा वाणिज्य, परराष्ट्र, अर्थ र कानुन मन्त्रालयका एकएक सहसचिव तथा गुणस्तरका नापतौल विभागका महानिर्देशक र नेपाल आयल निगमका दुईजना अधिकारी संलग्न छन्। टोलीले चिनियाँ पक्षसँग आवश्यक परिणाममा इन्धन उपलब्ध गराउने विषयमा वार्ता गर्ने छ।
स्रोतका अनुसार चीन युरो ४ मापदण्ड पेट्रोलियम पदार्थको प्रवद्र्धक भएकाले नेपालमा सोही मापदण्डको पेट्रोलियम पदार्थ ल्याउने तयारी छ। निगमले भने भारतसँग हालसम्म युरो ३ मापदण्डको पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ।
‘सरकारले इन्धन भित्र्याउने विषयमा जिम्मेवारीपूर्वक आवश्यक तयारी गरेको छैन’, मन्त्रालय स्रोतले भन्यो, ‘हचुवाका भरमा टोली गठन गरेर चीन पठाइएको छ। कुन मापदण्डको इन्धन कति परिमाणमा ल्याउने, चीनबाट ल्याउँदा लाग्ने खर्च र भण्डारण कहाँ गर्ने भन्नेमा आन्तरिक छलफल र अध्ययन नै भएको छैन।’
युरो ३ मापदण्डभन्दा युरो ४ मापदण्डको पेट्रोलियम पदार्थ गुणस्तरीय मानिन्छ। पछिल्लो समय भित्रिएका सवारीसाधन युरो ४ मापदण्डको रहेकाले चीनले अनुदान दिने भनेको तेल अहिलेसम्म भारतबाट आयात गरेको भन्दा गुणस्तरीय हुनेछ।
इन्धन ल्याउन नेपाली टोली चीन पठाउने निर्णयका बारेमा टोलीमा जाने कतिपय सहसचिवहरूलाई सोमबार बिहानसम्म जानकारीसमेत गराइएको थिएन। नेपाल आयल निगमका प्रवत्ता दीपक बरालले चीन सरकारले अनुदानमा उपलब्ध गराउने भनिएको एक हजार मेट्रिक टन (करिब १३ लाख लिटर) पेट्रोल बुधबारसम्म रसुवागढी आइपुग्ने जानकारी दिए।
निगमका अनुसार चीनले अनुदान सहयोगमा उपलब्ध गराउने पेट्रोल काठमाडौं, अमलेखगन्ज, विराटनगर, जनकपुर, भैरहवा, पोखरा, नेपालगन्ज, सुर्खेत, धनगढी र दिपायलपस्थित भण्डारणमा संकलन गरी प्राथमिकताका आधारमा वितरण गरिनेछ। निगमले अनुदानमा प्राप्त गरेको पेट्रोललाई प्रतिलिटर एक सय ४ रुपैयाँको दरले बिक्री गर्ने जनाएको छ।
चीनबाट अनुदानमा प्राप्त पेट्रोलले बढीमा चार दिनको मात्र माग धान्नेछ। सामान्य अवस्थामा उपत्यकामा दैनिक साढे तीन लाख लिटर पेट्रोल खपत हुन्छ । अहिले भने आयल निगमले दैनिक ५० हजार लिटर मात्र वितरण गर्दै आएको छ।
निगमले चीनबाट ल्याउने पेट्रोलियम पदार्थको भण्डारणमा समस्या नहुने बताए पनि ट्यांकर व्यवसायीले भने समस्या हुने बताएका छन्। वाणिज्य मन्त्रालय स्रोतका अनुसार चीनबाट आयात गर्ने पेट्रोलियम पदार्थको मूल्य कति पर्छ त्यसको आवश्यक तयारी भने टोलीले गर्न पाएको छैन। ‘नेपालको सिमानासम्म आइपुग्दा लागत कति पर्छ जानकारी छैन’, मन्त्रालय स्रोतले भन्यो।
नेपालसँग हाल ७१ हजार ६ सय २२ किलोलिटर पेट्रोलियम पदार्थ मौज्दात राख्ने क्षमता छ। भारतीय आयल निगमले मागअनुसारको पेट्रोलियम पदार्थ नदिएपछि विकल्पका रूपमा चीनबाट ल्याउने तयारी गरिएको हो। आयल निगमले चीनको सरकारी स्वामित्वमा रहेको आयल निगमसँग सम्झौता भएपछि रसुवागढी नाकाबाट पेट्रोलिमय पदार्थ भित्रनेछ।
प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण