गृहपृष्ठ » मुख्य समाचार, समचारकतै पैदल त, कतै जोखिमपूर्ण यात्रा

कतै पैदल त, कतै जोखिमपूर्ण यात्रा

October 27, 2015२३५ पटक

बागलुङ, ९ कात्तिक । इन्धनको अभाव देखाउँदै पर्वत र बागलुङका यातायात व्यवसायीहरूले दसैंमा गाउँबाट फर्किनेहरूसँग तेब्बर भाडा असुल्ने गरेका छन्। ग्रामीण क्षेत्रमा विरलै मात्र चलेका यात्रुवाहक बस र जिपहरूले सामान्य अवस्थामा भन्दा तेब्बर भाडा लिने गरेका हुन्।  दसैं सुरु भएदेखि अहिलेसम्म गाउँ जाने र फर्किनेहरूबाट तेब्बर भाडा असुल्दा सर्वसाधारण मर्कामा परेका छन्।
पर्वतमा सबैभन्दा बढी चल्ने दोबिल्ला–फलेबास सडकमा चल्ने सवारीहरूले यसरी यात्रुहरूबाट खुलेआम बढी भाडा असुलिरहेका छन्। सामान्य अवस्थामा एक सयदेखि एक सय बीस रुपैयाँ भाडा तोकिएको उक्त सडकमा गुड्ने यात्रुवाहक बसहरूले अहिले तीन सयदेखि साढे तीन सय रुपैयाँसम्म लिने गरेका हुन्।  ‘अरू बेला एक सय लिन्थे, अहिले छतमा बसेर साढे तीन सय तिर्नुपर्‍यो,’ शनिबार खानीगाउँबाट कुश्मा आउँदै गरेका पाङराङका तिलक क्षेत्रीले भने, ‘सिट नपाएर पनि तेब्बर भाडा तिर्नुपर्‍यो।’ बस कम चलेर बढी यात्रु चढाए पनि भाडामा एकरूपता हुनुपर्ने उनले बताए। Yatru haru
दस जना क्षमता भएका जिपले २२ र २४ सिटको क्षमता भएका बसहरूले ८० जनासम्म यात्रीहरू बोक्ने गरेका छन्। ग्रामीण क्षेत्रका कच्ची सडकमा मुस्किलले सवारी चलेको अवस्थामा क्षमताभन्दा तेब्बर यात्री कोचेर तेब्बर नै भाडा असुल्ने व्यवसायीहरूलाई अहिलेसम्म कसैले कारबाही गर्न सकेको छैन। पर्वतको फलेबास–कुश्मा, कार्कीनेटा–लुङ्खु, हुवास–वालिङलगायतका सडकहरूमा यस्तो समस्या छ।  व्यवसायीहरूले भने इन्धन ‘ब्ल्याकमा’ किन्नुपरेका कारण पुरानो भाडादरमा यात्री बोक्न नसकिने जनाएका छन्। ‘पम्पहरूमा तेल पाइँदैन,’ एक व्यवसायीले भने, ‘मुस्किलले दोब्बर मूल्यमा तेल किनेपछि भाडा पनि सोहीअनुसार लिनै पर्‍यो।’  यात्रीहरूसँगको समझदारीमै आफूहरूले भाडा लिएको उनले बताए।
बढी यात्रु चल्ने दसैंका बेला भएको भन्दै व्यवसायीहरूले तेल महँगोमा खरिद गरेरै भए पनि सेवा दिएको भन्दै आफूहरूले जोखिम मोलेर सेवा दिएको दाबी गर्छन्।  सामान्यतया दैनिक ३० वटासम्म यात्रुवाहक बस चल्ने दोबिल्ला–फलेबास सडकमा अहिले मुस्किलले तीन–चार वटा मात्रै चल्दै आइरहेका छन्। ‘पैसामा चढेर गन्तव्यमा पुगिँदैन,’ खानीगाउँका दीपेन्द्र पौडेलले भने, ‘समयमा पुग्नका लागि मागेको भाडा तिर्नैपर्‍यो।’ तोकिएको भन्दा धेरै भाडा लिने र क्षमताभन्दा बढी यात्री राख्ने व्यवसायीलाई कारबाहीको दायरा कडा बनाइएको भए पनि अहिलेको अवस्थामा कारबाही गर्न नसकिएको ट्राफिक प्रहरी बताउँछ।
‘हामीले सकेको कारबाही गरेका छौं,’ पर्वत ट्राफिक प्रहरी प्रमुख विकास तिमिल्सिनाले भने, ‘वीरगन्ज पुगेर दुई सय पचास रुपैयाँमा तेल ल्याएर सवारी चलाएको भन्छन् अनि कसरी कारबाही गर्नु ?’  पर्वत यातायात व्यवसायी समितिले तेल सहज उपलब्ध भए यो समस्या नहुने जनाएको छ। भारतले गरेको नाकाबन्दीपछि जिल्लामा पटक–पटक आएको २४ हजार लिटर डिजेल स्टक रहने बेलासम्म भाडामा पुरानै मूल्य कायम गरिएको समितिका अध्यक्ष विद्वान् गुरुङले बताए। स्टक रहेको इन्धन सकिएपछि व्यवसायीहरूले आफूखुसी महँगोमा तेल खरिद गरेर सोहीअनुसार सवारी चलाएकाले त्यो विषयमा समिति दोषी नभएको उनको दाबी छ।
बागलुङवासी भने पैदल फर्कंदै –
 
दसैंमा घर जाँदा र आउँदा सवारी नचलेपछि बागलुङवासी भने पैदल यात्रा गर्न बाध्य भएका छन्। पेट्रोलियम पदार्थको आयात नभएपछि अधिकांशले ग्रामीण बस्तीदेखि पैदलै घर जान आउन बाध्य भएका हुन्। ‘खाद्यान्न र दसैंका लागि सामान बोकेर घर गइयो,’ दमेककी रूपा पाण्डेले भनिन्, ‘पैदल यात्रा गर्दा हैरानी खेप्नुपर्‍यो,’ फर्कंदा पाइएको जिपमा पनि चापाखर्क भन्ने स्थानमा आइपुग्दा तेल सकिएर आधा बाटो पैदलै यात्रा गर्न बाध्य भएको उनले गुनासो गरिन्।
जिल्ला सदरमुकामदेखि १ सय ४२ किमि पश्चिम, ६० किमि दक्षिणलगायतका गाउँमा यात्रा गर्नुपर्ने भौगोलिक कठिनाइका स्थान छन्। ती स्थानका बासिन्दाले दैनिक उपभोग्य वस्तुहरू पिठ्युँमै बोकेर लगेका थिए। ‘दाल चालम, चिउरा, खाने तेललगायतका सामग्री महँगो मूल्यमा किनेर पनि आफैंले बोकेर लैजाँदा निकै सास्ती भएको हो,’ उनले भनिन्, ‘खुट्टा भाँचिएकाले सामान्य पैदल यात्रा गर्न पनि कठिन थियो, यसपटक चाडपर्वकै लागि दुइ दिन हिँड्न बाध्य भएँ।’जिल्लामा समय समयमा भित्रने इन्धन प्रशासनले जिम्मा लिएर वितरण गर्दै आएको छ। जिपलाई बढीमा २० लिटर दिएपछि लामो दूरी पार गरेर ग्रामीण क्षेत्रमा पुग्दा बाटैमा अलपत्र परेको चालकहरूले गुनासो गरे। समानुपातिक रूपमा कुपन दिएर वितरण गरेको सहायक प्रजिअ छविलाल सुवेदीले बताए। सर्वसाधारणले भने प्रशासनको वितरण प्रणाली अन्यायपूर्ण भएको वताएका छन । सहायक प्रजिअले आफन्तलाई हेरेर कुपन वितरण गरेको उनीहरुको आरोप छ । जिल्ला सदरमुकाम बागलुङबाट जिल्लाको विभिन्न स्थानमा चलेका सवारी साधानहरुले पनि बढि भाडा असुलीरहेका छन । यात्रुको गुनासोको प्रशासनले कुनै सुनुवाई नै गरेको छैन ।
प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण