चाडपर्वको शुभकामना प्रकाशन-प्रसारण नगर्न मिडिया हाउसलाई मोर्चाको चेतावनी
१० कात्तिक, बारा । दिपावली, छठलगायतका चाडपर्वका शुभकामना प्रकाशन-प्रसारण नगर्न संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बाराका सञ्चारमाध्यमहरुलाई चेतावनी दिएको छ । यस्तै मधेस आन्दोलन जारी रहुन्जेल वित्तीय संस्थाहरुलाई कुनै पनि किसिमको किस्ता नउठाउन पनि भनिएको छ ।
मंगलबार मधेसी मोर्चा बाराले कलैयाको एक लजमा पत्रकार सम्मेलन गर्दै मोर्चाका नेताहरुले यदि चाडपर्वहरुको शुभकामना सन्देश प्रकाशन वा प्रसारण गरे ‘असहज परिस्थिति’को सामना गर्नुपर्ने चेतावनी दिए ।
स्थानीय एफएम रेडियो र पत्रपत्रिकाहरुमार्फत् बिभिन्न राजनीतिक दलका सांसद र नेताहरुले चाडपर्वको अवसरमा शुभकामना सन्देश दिँदै आएका छन् ।
मधेसी जनतालाई अधिकार र पहिचान दिन नचाहने नेताहरुले शुभकामना सन्देश प्रकाशन-प्रसारण गरेर मधेसी जनताकै अपमान गरेको संघीय समाजवादी फोरम नेपाल बाराका अध्यक्ष रामबाबुकुमार यादवले बताए ।
पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘मधेस बिरोधी तत्वहरुको शुभकामना सन्देश प्रकाशन प्रसारण नगर्न, नगराउन सम्पूर्ण सञ्चार जगतलाई सूचित गरिन्छ ।’
मोर्चामा आबद्ध संघीय समाजवादी फोरम नेपाल बाराका अध्यक्ष रामबाबुकुमार यादव, तराई मधेस लोकतान्त्रिक पार्टी बाराका अध्यक्ष नवलकिशोर सिंह, सदभावना पार्टी बाराका अध्यक्ष महम्द सफिक अंसारी, तराई मधेस सदभावना पार्टीका केन्द्रीय सदस्य रमेश यादव, राष्ट्रिय मधेस समाजबादी पार्टीका केन्द्रीय सचिव पारसप्रसाद साह लगायत पत्रकार सम्मेलनमा सहभागी थिए ।