गृहपृष्ठ » मुख्य समाचार, समचारथारुहरुले पनि सीमा केन्द्रित आन्दोलन थाल्ने

थारुहरुले पनि सीमा केन्द्रित आन्दोलन थाल्ने

October 27, 2015१३४ पटक

१० कात्तिक, नवलपरासी । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सीमा केन्द्रित आन्दोलन जारी राखेकोबेला थारु कल्याणकारिणी सभाले पनि सीमानाका बन्द गर्ने लगायतका आन्दोलनका कार्यक्रम सुरु गर्ने घोषणा गरेको छ ।

नवलपरासीको डण्डा अमलटारीमा दुई दिनसम्म चलेको थारु कल्याणकारिणी सभाको राष्ट्रिय भेलाले आन्दोलनमा जाने निर्णय गरेको हो ।

भेलाका निर्णय सार्वजनिक गर्न मंगलबार कावासोती नगरपालिका १६ डण्डामा रहेको थारु संग्रहालयमा आयोजित पत्रकार सम्मेलनमा थारु समुदायका अगुवा राजकुमार लेखीले बन्द, हडताल, सीमामा नाकाबन्दी, राजधानी केन्द्रित आन्दोलन, संघीयताको सात प्रदेशको खाका जलाउने लगायतका आन्दोलन गर्ने जानकारी दिए ।

थारु कल्याणकारिणी सभाका आन्दोलन परिचालन समितिका संयोजक समेत रहेका लेखीले बुधबारदेखि नै सम्भव भएका जिल्लाहरुबाट आन्दोलन शुरु हुने बताए ।

थारु कल्याणकारिणी सभाले टीकापुर घटनाका अभियुक्त एवम् थारु नेता धनिराम चौधरीलगायतलाई लगाइएको झुटा मुद्दा खारेज गरी रिहा गर्नुपर्ने लगायतका माग राखेको छ । सात प्रदेशको विरोधमा थारु समुदायले कैलालीको टीकापुरमा गत भदौ २७ गते गरेको आन्दोलनले हिंसात्मक रुप लिँदा एसएसपीसहित नौ जनाको ज्यान गएको थियो ।

पत्रकार सम्मेलनमा लेखीले वर्तमान सरकारलाई कठपुतलीको संज्ञा दिँदै वार्ता र आन्दोलन सँगसँगै अघि बढाउने बताए । तर, वार्ता टोलीमा सरकार समर्थित थारु सांसदहरुलाई सहभागी गराए मान्य नहुने उनले बताए ।

आन्दोलनरत पक्षसँग वार्ता गर्न सरकारद्वारा गठित वार्ता समितिमा फोरम लोकतान्त्रिकका महासचिव तथा कैलालीबाट निर्वाचित सांसद रामजनम चौधरी पनि छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण