गणेशराज : जसले पैसाका लागि पीडकको मुद्दा हेरेनन्
शर्मालाई नजिकबाट चिन्ने संवैधानिक कानूनका विज्ञ ललितबहादुर बस्नेत भन्छन्- ‘शर्माले उत्पीडितको मात्रै मुद्दा हेर्नुभयो, पैसाका लागि जसको पनि मुद्दा हेर्नेकाम उहाँबाट कहिल्यै भएन ।’
वीपी कोइरालाका वकिलका रुपमा चिनिने शर्माले वीपीमाथि मृत्युदण्डको सजायँ हुन लाग्दा बचाउने काम गरेका थिए ।
वीपी कोइरालाले आफ्ना डायरी र गोप्य लिखतहरु शर्मालाई विश्वास गरेर छाडेर गएका थिए । अरुले हात पारेका वीपीका डायरीहरु गायव भए पनि शर्माले वीपीको आत्मवृतान्त प्रकाशन गरेर वीपीबारे रहेका भ्रमहरु हटाउने काम गरे ।
‘वीपीलाई वास्तवमै वीपी बनाउने योगदान शर्माको रहेको छ,’ अधिवक्ता बस्नेत भन्छन्- ‘वीपीलाई भारतपरस्त भएको आरोप लगाउने गरिएको थियो, तर शर्माले उनको आत्मवृतान्त बाहिर ल्याएपछि वीपीका आलोचकहरु घटे ।’
वकिलको नातामात्रै होइन शर्मा र वीपीवीच पारिवारिक सम्बन्धसमेत थियो । शर्मा साइनोले वीपी कोइरालाका साँढु भाइ थिए ।
नेपालको कानूनी क्षेत्रका हरेक व्यक्तिहरु गणेशराजलाई गहिरो अध्ययन भएका आदर्श कानूनविदका रुपमा हेर्ने गर्छन् । कतिपय वकिलहरु त उनको अध्ययनलाई देखेर भित्रभित्रै डाहासमेत गर्थे ।
शर्माले अदालतलाई अत्यन्तै श्रद्धा गर्थे । अदालतमा बहसका लागि उपस्थित हुँदा उनी सभासट भएर सुट र टाईमा प्रस्तुत हुन्थे ।
शर्मा बेलायती कानूनबाट प्रभावित थिए । जीवनको अन्तिम घडीसम्म उनको आस्था बेलायतको जस्तै संवैधानिक राजतन्त्रतात्मक संसदीय प्रजातन्त्रप्रति थियो । कानूनी शासन र प्रजातन्त्रलाई बलियो बनाउनुपर्छ भन्ने उनको विचार थियो ।
शर्माको अर्को विशेषता भनेको उनी राष्ट्रवादी थिए । भारतले नेपालमाथि गरेको थिचोमिचोको उनले सधैंभरि विरोध गरे । ०४५ सालमा भारतले नाकाबन्दी गरेका बेला उनले लेखेको बुकलेट विद्यालय-विद्यालयमा वितरण गरिएको थियो ।
शर्माले जीवनभरि सरकारी जागिर खाएनन् । चाहेको भए उनी सर्वोच्च अदालतको न्यायाधीश वा प्रधान न्यायाधीशसम्म बन्न सक्ने व्यक्तित्व हुन् । तर, उनले वकालतलाई नै आफ्नो आदर्श पेशा बनाए, सरकारी जागिरप्रति कहिल्यै रुची देखाएनन् ।
विगतमा शर्माको नजिकबाट संगत गर्नुका साथै हाल राष्ट्रपतिको कानूनी सल्लाहकारको भूमिका निभाइरहेका अधिवक्ता बस्नेतले शर्माको सम्झना गर्दै भने-‘उहाँको निधन नेपालको संवैधानिक कानूनको इतिहासमा धु्रवताराको अस्तजस्तै हो । उहाँको निधनले विधिशास्त्रको क्षेत्रमा अपूरणीय क्षति भएको छ ।’अनलाईन खबरबाट ।