गृहपृष्ठ » मुख्य समाचार, राजनीति, विशेषशीतल निवासमा महामहिम बिद्या भण्डारी

शीतल निवासमा महामहिम बिद्या भण्डारी

October 28, 2015२८६ पटक

काठमाडौं, कात्तिक ११ – एकाबिहानै नक्सालको डेरामा भेट्न पुगेका शुभचिन्तकले २०४८ सालमा मदन भण्डारीलाई सल्लाह दिँदै भनेका थिए “पार्टीको महासचिव भएर अब साइकल नचढ्नोस्, सुरक्षाको पनि बिचार गर्नुपर्छ ।” मदन भण्डारीले फिस्स हाँसेर भने “आम मान्छेले यही साइकल पाएका छैनन् ।” साइकलको कुरा त्यहीँ सकियो । ती शुभ चिन्तकले अब त्यसो भए घर किन्ने सल्लाह के दिनु भनेर ठट्टा गर्दा मदन भण्डारीले गम्भीर हासो मिसाएर जवाफ दिए “मैले घर बनाउने बेलासम्ममा नारायणहिटी खाली भैहाल्छ नि !” ती शुभचिन्तक महासचिव भण्डारीको जवाफ सुनेर फिस्स हाँसे र बिद्या भण्डारीले बनाएको चिया र पाउरोटीको “ब्रेकफास्ट” खाएर फर्किए । त्यो बेला जनताको छोरो वा छोरी राष्ट्रप्रमुख हुन्छ भन्ने कल्पना गर्न पनि सजिलो थिएन ।

मदन भण्डारी आफैं नारायणहिटी बस्नका लागि बाँचेनन् । तर, देशको पहिलो महिला राष्ट्रपति भएर मदनकी पत्नी बिद्या भण्डारी राष्ट्रप्रमुख बस्ने औपचारिक भवन शीतल निवासमा सर्ने दिन आउँदा बिद्याको सम्झनामा भण्डारीको शब्दहरु ताजा भएका होलान् । त्यो दिन महासचिव पतिले गरेको गम्भीर ठट्टा आज बिद्या भण्डारीको लागि वास्तविकतामा फेरिएको छ ।  जीवनमा आमूल परिवर्तन गर्न २६ वर्षको अवधि धेरै नेपालीका लागि त्यति पर्याप्त नहुन सक्छ । तर, संसदबाट नवनिर्वाचित राष्ट्रपति बिद्यादेवी भण्डारीको जीवन भने पछिल्ला २६ वर्षमा अनेकौं आरोह अवरोह हुँदै आमूल परिवर्तन नै भएको छ । कहाँ २०४६ को जनआन्दोलनमा बिराटनगरका जुलुशहरुमा प्रहरीसँग अरु सहभागी भन्दा बढी नै सतर्क हुँदै राजाको शासन बिरुद्ध नारा लगाउँदै हिड्ने विद्या पाण्डे, कहाँ तिनै राजालाई बिस्थापन गरेर स्थापित गणतन्त्रको सर्वाेच्च पद राष्ट्रपतिमा निर्वाचित बिद्या भण्डारी ।

२०१८ साल असार ५ गते भोजपुरको मानेभञ्ज्याङ गाविसमा पर्ने गुराँसेमा जन्मिएर त्यहीको बेहेरेश्वर प्राथमिक बिद्यालय र बेहेरे खोला पारिको पञ्चकन्या मिडिल स्कूल भुल्केमा प्राथमिक शिक्षा, बिद्योदय माबि भोजपुर बजारमा माद्यमिक शिक्षा, भोजपुर कलेजमा आइए पढिसकेर थप अध्ययन गर्न पहाडका डाँडाबाट मोरङको बिराटनगर झरेकी बिद्याको बिराटनगरमा पढ्दा पढ्दै भूमिगत नेकपा (माले)का नेता मदनकुमार भण्डारीसँग २०३९ सालमा भूमिगत बिबाह भएको थियो ।

२०४६ मा मालेको चौथो महाधिवेशनबाट महासचिव निर्वाचित भएपछि मदन पार्टी हेडक्वाटर चलाउन कोशी अञ्चलको जिम्मेवारी अरुलाई छाडेर काठमाडौं पसेका थिए । २०४१ मा जन्मिएकी उषाकिरण र २०४४ मा जन्मिएकी निशा कुशुमको सुरक्षित लालनपालन गर्दै जनआन्दोलनमा लागेकी बिद्याले आफूलाई मात्र हैन, श्रीमान र छोरीको पनि चिन्ता गर्नुपथ्र्यो ।

भूमिगत नेताकी पत्नी भएकाले प्रहरीबाट पक्राउ पर्दा मदनबारे गोप्यता खुल्न सक्ने भएकाले पनि त्यो बेला अरु आन्दोलनकारी भन्दा सतर्क भएर हिड्नु पर्थ्यो बिद्याले । २०४६ चैत २६ गते राती राजनीतिक दलहरुमाथिको प्रतिवन्ध हटेपछि बिद्याको जीवनले एउटा कोल्टे फेर्‍यो । मदनले बोलाएपछि बिद्या दुई छोरीसहित बिराटनगरबाट काठमाडौं पस्नुभयो । २०३५ सालदेखि तत्कालिन मालेको युथ लिगमा संगठित भएर २०३७ मा बिद्याले पार्टी सदस्यता लिँदा त्यो बेला माले पार्टीमा झण्डै ३०० ले मात्रै पार्टी सदस्यता पाएका थिए ।

अनेरास्ववियूको पूर्वाञ्चल कमिटी सदस्य र महेन्द्र मोरङ क्याम्पस बिराटनगर स्ववियूको कोषाध्यक्ष भई आफ्नै राजनीतिक हैसियत बनाइ सकेको भए पनि काठमाडौ आएपछि बिद्याको समय पतिको राजनीतिक जीवनलाई ब्यवस्थित बनाउने र छोरी हुर्काउने काममा बित्न थाल्यो । राजनीतिक चेतना र परिपक्व पत्नीको सहयोगले मदनको राजनीतिक जीवन उचाईमा पुग्दै थियो भने बिद्याले पनि पतिको सफलतामै आफ्नो राजनीतिक आकांक्षालाई समाहित गर्नु भएको थियो ।

२०५० साल जेठ ३ गते चितवनको दाशढुंगामा भएको रहस्यमय जीप दुर्घटनामा पार्टीका अर्का नेता जिवराज आश्रितसँगै मदनको निधन भयो । त्यो दुर्घटनाले नेकपा एमाले र राष्ट्रिय राजनीतिलाई भन्दा बढी बिद्याको जीवनलाई राजनीतिको नयाँ मोडमा पुर्‍याई दियो । मदनले २०४८ सालमा जितेको काठमाडौं क्षेत्र नम्बर १ को उपनिर्वाचनमा पार्टीले बिद्यालाई उमेद्वार बनायो, मदनले नै पराजित गरेका नेपाली कांग्रेसका तत्कालिन सभापति कृष्णप्रसाद भट्टराईलाई २०५० सालको उपनिर्वाचनमा पराजित गरेर बिद्याको राष्ट्रिय राजनीतिक जीवन पुनः प्रारम्भ भयो ।

राष्ट्रिय राजनीतिमा बिद्याको पदार्पणमा मदनको लोकप्रियताको भूमिका महत्वपूर्ण थियो । तर, आफ्नै  राजनीतिक अनुभव र क्षमता पनि बिद्यामा कम थिएन । उपनिर्वाचनमा उमेद्वार हुँदा नै सबै पक्षलाई समेटेर आफ्ना बिचार ब्यक्त गर्ने र बिपक्षीलाई शालिनतापूर्वक प्रहार गर्ने क्षमता देखाएर त्यसैबेला देखि बिद्याले आफ्नो राजनीतिक भविष्य सुरक्षित पार्न थालेको हो । त्यही क्षमताको कारण, उहाँलाई मदनको विधवा मात्र नभएर पार्टीको नेताका रुपमा कार्यकर्ताले स्वीकार गरेका थिए ।  २०५१ सालमा भएको मध्यावधि निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ बाट बिजयी भएपछि २०५० सालको जीत मदनको सहानुभूतिका कारण मात्र भएको होईन भन्ने प्रष्ट भयो ।

जनप्रतिनिधि भएसँगै बिद्याको जिम्मेवारी पार्टीमा पनि बढ्दै गयो । २०५० देखि ०५४ सम्म एमालेको भातृ संगठन नेपाल ट्रेड युनियन महासंघ जिफन्टको महिला विभाग प्रमुख, २०५४ मा अर्काे भातृ संगठन अखिल नेपाल महिला संघको अध्यक्ष, २०५४ मा नेपालगञ्जमा भएको एमालेको छैठौं महाधिवेशनबाट पार्टी केन्द्रीय सदस्यमा निर्वाचित भएपछि बिद्यालाई बिपक्षी र आम मानिसले पनि नेता मान्न थाले ।

२०५६ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ बाट जितेर पुन सांसद र २०५९ मा जनकपुरमा भएको एमालेको सातौं महाधिवेशनमा पुनः केन्द्रीय सदस्यमा निर्वाचित भएपछि राष्ट्रिय राजनीति र पार्टीमा बिद्याको हैसियत अरु बलियो भयो । यस्तैमा राजा ज्ञानेन्द्रले २०६१ माघ १९ गते एकलौटी शासन हातमा लिए र दलहरुलाई सत्ताबाट बाहिर पुर्‍याए । राजाकोे शासन बिरुद्धको आन्दोलनमा लाग्दा प्रहरीले पक्राउ गरी बिद्यालाई एक महिनाभन्दा बढि समय थुनामा राख्यो ।

२०६२/०६३ को जनआन्दोलन सफलतामा पुगे लगत्तै बिद्याको जीवनमा भने ठूलो संकट देखियो रगतमा एक प्रकारको ब्लड क्यान्सरका रुपमा । तर त्यसले पनि बिद्याको राजनीतिक गतिलाई रोकेन । २०६४ सालमा बुटवलमा भएको नेकपा (एमाले) को आठौं महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित बिद्याले २०६७ मा रक्षा मन्त्री भएर काम गरि सक्नुभएको छ । २०७१ सालमा भएको नेकपा (एमाले) को नवौं महाधिवेशनबाट पुन उपाध्यक्ष निर्वाचित राष्ट्रपति बिद्या भण्डारीले भारत, चीन, पाकिस्तान, बंगलादेश, श्रीलंका, ब्राजिल, अमेरिका, क्यानाडा, इटाली लगायतका देशको भ्रमण गर्नु भएको छ ।

भोजपुरको गुराँसे गाउँमा जन्मेर गाउँको लालीगुराँस झै फुल्दै र फक्रदै नेपालको पहिलो महिला राष्ट्रपति निर्वाचित हुनु भएकोमा बिद्या भण्डारी (पाण्डे) लाई हाम्रो पनि बधाई र आगामी कार्यकालको हार्दिक शुभकामना !उज्यालो अनलाईन बाट ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण