गृहपृष्ठ » खेलकुदपक्राउ खेलाडीलाई राज्यविरुद्धको अपराध मुद्दा

पक्राउ खेलाडीलाई राज्यविरुद्धको अपराध मुद्दा

October 28, 2015१७० पटक

कात्तिक ११, काठमाडौं । म्याच फिक्सिङको आरोपमा पक्राउ परेका चार खेलाडी र एक प्रशिक्षकलाई प्रहरीले राज्यविरुद्धको अपराध मुद्दामा अनुसन्धान अघि बढाएको छ । पक्राउ परेको १४ दिनपछि मंगलबार विशेष अदालतले उनीहरूलाई १७ दिन थुनामा राखेर अनुसन्धान गर्ने म्याद दिएको छ ।

match fix

म्याच फिक्सिङमा नेपालमा पहिलोपटक खेलाडीलाई राज्यविरुद्धको अपराध मुद्दामा अनुसन्धान गरिएको छ । म्याच फिक्सिङ राज्यविरुद्धको अपराध स्वीकार गर्दै अदालतले थुनामा राख्ने आदेश दिएको हो ।

पक्राउ परेको १४ दिनपछि मात्र अदालत खुलेकाले प्रहरीले मंगलबार थुनामा राख्न अदालतको आदेश लिएको हो । राष्ट्रिय टोलीका कप्तान सागर थापासहित पाँचजनालाई महानगरीय अपराध महाशाखाले २७ असोजमा पक्राउ गरेको थियो । पक्राउ परेकै दिनबाट गनेर अदालतले थुनामा राख्ने अनुमति दिएको हो । राज्यविरुद्धको अपराध र सजाय ऐन २०४६ को दफा ४ अनुसार प्रहरीले २० दिन थुनामा राख्न म्याद मागेको थियो ।

प्रहरीले अब १३ कात्तिकसम्म थुनामा राखेर उनीहरूमाथि अनुसन्धान गर्नेछ । ‘पहिलोपटक अदालतबाट थुनामा राख्ने म्याद लिइएको छ, अब उनीहरूको बयान सुरु हुन्छ,’ महानगरीय अपराध महाशाखाका एसपी सहकुल थापाले भने, ‘बयान पूरा गरेपछि हामी मुद्दा दायर गर्छौ ।’ राष्ट्रिय टोलीका कप्तान थापासहित गोलरक्षक रितेश थापा, राष्ट्रिय खेलाडी सन्दीप राई, पूर्व राष्ट्रिय खेलाडी विकाससिंह क्षेत्री र प्रशिक्षक अन्जन केसीलाई प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको हो ।

म्याच फिक्सिङसम्बन्धी छुट्टै कानुन नभएको र यसअघि यस्तो मुद्दा दायर नभएकाले अदालतले थुनामा राख्ने अनुमति दिने–नदिनेमै अन्योल थियो । थुनामा राख्ने म्याद लिन प्रहरीले म्याच फिक्सिङका क्रममा भएको ट्रान्जेक्सनको विवरण तथा उनीहरूको प्रारम्भिक बयान फाइलमा राखेको थियो । बुधबारदेखि उनीहरूको लिखित बयान सुरु गरिने प्रहरीको काठमाडौं परिसरका डिएसपी दिनेश आचार्यले बताए ।

पक्राउ परेका खेलाडीका नौजना वकिलले राज्यविरुद्धको अपराध मुद्दा उनीहरूमाथि आकर्षित नहुने भन्दै थुनामा राख्ने म्याद नदिन बहस गरेका थिए । बहस लामो भएकाले साढे १० बजे नै उनीहरूलाई अदालतमा पुर्‍याइएकोमा साढे ४ बजे मात्र थुनामा राख्ने आदेश दिइएको थियो । खेलाडीका पक्षबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, अधिवक्ता गोविन्द कटवाललगायतले बहस गरेका थिए । खेलाडीका आफन्त पनि अदालतमा उपस्थित थिए ।
खेलाडीले बोली फेरे

पक्राउपछि प्रहरीले सोधपुछ गर्दा खेलाडी तथा प्रशिक्षकले पैसा लिएर मिलेमतोमा खेलेको स्वीकार गरेका थिए । तर, मंगलबार अदालतमा पेस गर्दा उनीहरूले आफूहरूलाई फसाइएको दाबी गरेका छन् ।

विशेष अदालतमा पत्रकारहरूसँग बोल्दै कप्तान सागर थापाले आफूहरूलाई अपराधी बनाइएको, तर एक दिन आफूहरू निर्दाेष साबित हुने दाबी गरे । न्यायाधीशको अगाडि पनि आफूहरूले मिलेमतोमा खेलेको भन्ने प्रहरी आरोप गलत भएको उनीहरूले बताएका छन् ।

तर, प्रहरीसँग उनीहरूले पैसा लिएर अरू देशलाई खेल जिताएको बयानको भिडियो रेकर्ड नै छ । तर, म्याद थप गरेपछिको लिखित बयान आधिकारिक हुने वकिलहरूको सल्लाहमा खेलाडीले बोली फेरेका हुन् । प्रहरीले भने खेलाडीले पहिला स्वीकार गरेको भिडियोसमेत अदालतमा बुझाउने तयारी गरेको छ ।

बैंक स्टेटमेन्ट: प्रहरीको बलियो प्रमाण
म्याच फिक्सिङ प्रकरणमा खेलाडीको बैंक स्टेटमेन्ट प्रहरीको बलियो प्रमाण हो । उनीहरूले बोली फेरे पनि प्रहरीले बैंक स्टेटमेन्टलाई नै प्रमुख प्रमाण मानेर मुद्दा दायर गर्ने तयारी गरेको छ ।

प्रहरीका अनुसार खेलाडीको नाममा विदेशबाट पटक–पटक पैसा आएको छ । सो रकमको स्रोत उनीहरूले खुलाउन सकेका छैनन् । सोधपुछका क्रममा म्याच फिक्सिङबाटै रकम आएको उनीहरूले बताएको प्रहरीको भनाइ छ ।

वेस्टर्न मनी ट्रान्सफर तथा साइबर मनी ट्रान्सफरमार्फत सिंगापुर र मलेसियाबाट खेलाडीहरूको नाममा पटक–पटक पैसा आएको प्रहरी अनुसन्धानमा देखिएको छ । म्याच फिक्सरले नै सो पैसा उनीहरूलाई पठाएको प्रहरी दाबी छ । सिंगापुरका चर्चित म्याच फिक्सर विल्सनराज पेरुमलले आफ्नो पुस्तक ‘किलोङ किङ्स’मा कसरी नेपाली खेलाडी किन्न सफल भए भन्ने उल्लेख गरेका छन् ।

हालसम्मको अनुसन्धानमा ६ वटा अन्तर्राष्ट्रिय खेलमा उनीहरूले म्याच फिक्सिङ गरेको प्रहरी दाबी छ । जसमा खेलाडीले एउटा खेलबाट पाँच हजार अमेरिकन डलरसम्म लिएका थिए ।

सन् २००८ देखि गत वर्षसम्मका खेलमा म्याच फिक्सिङ भएको अपराध महाशाखाले जनाएको छ । सन् २००८ मा मोर्डेका कपमा अफगानिस्तानसँग म्याच फिक्सरको निर्देशनअनुसार २–२ को बराबरी खेलेको प्रहरी दाबी छ ।

त्यस्तै २००९ को साग च्याम्पियनसिप, सन् २०११ मा मलेसियासँगको मैत्रीपूर्ण खेल, फिलिपिन्ससँगको मैत्रीपूर्ण खेल, सन् २०१२ मा भारतसँग भएको नेहरु कप र सन् २०१४ मा कोरियामा भएको साफ गेमको फुटबलमा म्याच फिक्सिङ गरेको प्रहरीले जनाएको छ । जसमा अन्य खेलाडी र एन्फा पदाधिकारीसमेत संलग्न भएको प्रहरीले बताए पनि अरू भने पक्राउ परेका छैनन् । सबै खेलमा थ्री स्टार क्लबका पूर्वप्रशिक्षक रहेका अन्जन केसीले नै पैसाको डिल गर्दै आएको प्रहरी अधिकारी बताउँछन् ।

धरौटीमा छुट्ने सम्भावना
राज्यविरुद्धको अपराध र सजाय ऐन २०४६ को दफा ४ अनुसार प्रहरीले खेलाडीहरूलाई २० दिन थुनामा राख्न म्याद मागेको छ । यो दफाअनुसार मुद्दा चलाइएमा अभियुक्तहरू धरौटीमा छुट्ने सम्भावना छ ।

राज्यविरुद्धको अपराध तथा सजाय ऐनको दफा ४ मा भनिएको छ– ‘कसैले स्वतन्त्र एवं अविभाज्य नेपालको सार्वभौमसत्ता, अखण्डता खलल पर्न सक्ने गरी वर्गीय, जातीय, धार्मिक, क्षेत्रीय वा कुनै आधारमा घृणा, द्वेष, अवहेलना उत्पन्न हुने कुनै काम–कारबाही गरे–गराएमा तीन वर्षसम्म कैद र तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै हुनेछ ।’ तीन वर्षसम्म कैद सजाय हुने मुद्दामा साधारणत: अदालतले अभियुक्तलाई धरौटीमा छाड्ने गरेको नजिर छ । त्यसैले खेलाडीहरू धरौटीमै छुट्ने सम्भावना छ ।

तर, राज्यविरुद्ध अपराध ऐनको दफा ३ अनुसार मुद्दा दायर गरेमा खेलाडीहरू जेल जाने सम्भावना हुन्छ । दफा ३ मा जन्मकैदसम्म हुने प्रावधान छ । दफा ३ मा भनिएको छ, ‘नेपालको सार्वभौमसत्ता, अखण्डता वा राष्ट्रिय एकतामा आघात पर्न सक्ने गरी, कुनै विदेशी राज्य वा संगठित शक्तिसँग मिली कुनै प्रकारको षड्यन्त्र गरेमा निजलाई जन्मकैद वा १० वर्षसम्म कैद हुनेछ ।’

खेलाडीहरूले विदेशी बुकीहरूसँग मिली राज्यको प्रतिष्ठामा आँच आउने काम गरेकाले केही प्रहरीले यही दफाअनुसार मुद्दा चलाउनुपर्ने बताएका थिए । तर, मंगलबार दफा ४ अनुसार म्याद थप गरिएको छ । अनुसन्धान पूरा भएपछि सरकारी वकिल कार्यालयले कुन दफा अनुसार मुद्दा चलाउने भन्ने निर्णय गर्नेछ । -नयाँ पत्रिका दैनिक

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण