गृहपृष्ठ » मुख्य समाचार, राजनीतिराष्ट्रपति निर्वाचन संविधान कार्यान्वयनमा थप पाइला : प्रधानमन्त्री ओली

राष्ट्रपति निर्वाचन संविधान कार्यान्वयनमा थप पाइला : प्रधानमन्त्री ओली

October 28, 2015२०५ पटक

काठमाडौं, कात्तिक ११ – प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्थापिका–संसदबाट आज भएको राष्ट्रपति निर्वाचनलाई संविधान कार्यान्वयनको प्रसङ्गमा थप पाइला भएको बताउनुभएको छ ।

राष्ट्रपतिको निर्वाचनपछि संसद भवनबाट बाहिरिने क्रममा प्रधानमन्त्री ओलीले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै संविधानसभाबाट संविधान जारी भएपछि संविधान कार्यान्वयनको सम्बन्धमा राष्ट्रपति पदको निर्वाचन भएको उल्लेख गर्नु भयो ।

उहाँले मुलुकको इतिहासमा गणतन्त्रात्मक प्रणालीअनुसार आज दोस्रो राष्ट्रपतिमा महिला निर्वाचित हुनुले नयाँ इतिहासको रचना गरेको धारणा राख्नु भयो । निर्वाचन लोकतान्त्रिक अभ्यास हो भन्दै प्रधानमन्त्री ओलीले निर्वाचनमा कसले जित्यो र कसले जितेन महत्वपूर्ण कुरा नहुने, लोकतान्त्रिक अभ्यासबाट राष्ट्रपति निर्वाचन भएकोमा खुशी व्यक्त गर्नुभयो ।

उहाँले आज भएको राष्ट्रपति पदमा र केही दिनअघि मात्र भएको सभामुखको निर्वाचनमा पनि महिला नै निर्वाचित भएको प्रसङ्ग उल्लेख गर्दै यसले नेपाली महिलाहरुको सशक्तीकरण, सवलीकरणका साथै सामाजिक, राजनीतिक, र शासनमा सहभागिताको अवस्थालाई उजागर गरेको उल्लेख गर्नुभयो ।

राष्ट्रपतिमा निर्वाचित हुनुभएकी विद्यादेवी भण्डारीलाई बधाई तथा शुभकामना दिँदै उहाँले यस निर्वाचनबाट सबै नेपाली खुशी र उत्साही हुनुपर्ने उल्लेख गर्नु भयो । प्रधानमन्त्री ओलीले मुलुकमा देखिएको आपूर्तिको असहज अवस्थालाई प्राथमिकता दिएर समाधानका लागि पहल भइरहेको जानकारी गराउनुभयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण