गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, राजनीतिनिवर्तमान राष्ट्रपति बस्ने निवासमा रातारात सेनाद्वारा मर्मत सम्भार

निवर्तमान राष्ट्रपति बस्ने निवासमा रातारात सेनाद्वारा मर्मत सम्भार

October 29, 2015१६५ पटक

१२ कात्तिक, काठमाडौं । सरकारले निवर्तमान राष्ट्रपति डा. रामवरण यादवका लागि समयमा आवासको व्यवस्था गर्न नसक्दा भाडामा लिइएको घरलाई युद्धस्तरमा सेना लगाएर सिंगार्नु परेको छ।

सेनाको मर्मत सम्भार विभाग बुधबार साँझदेखि राति अबेरसम्म ललितपुरको बागडोलस्थित भाडामा लिइएको घर मर्मतमा जुटेको थियो।पूर्वराष्ट्रपतिलाई के के सुविधा दिने भन्ने स्पष्ट निर्णय हुन नसक्दा सरकार अन्योलमा  थियो।

यसबारे मंगलबार राति प्रधानमन्त्री निवासमा विशेष छलफल गरिए पनि कानुनको अभावमा निर्णय हुन नसकेको बालुवाटार स्रोतले बतायो।यादवलाई भीभीआईपी सुविधाअनुसार आवास, सचिवालय, पेन्सन, सुरक्षालगायत दिने तयारी छ। तर ती सुविधा कुन कानुनअनुसार दिने भन्नेमा अन्योल रहेको अन्नपूर्ण पोस्टमा खबर छ ।

स्रोतका अनुसार पहिलो राष्ट्रपतिलाई केके सुविधा दिने भन्ने निर्णय बिहीबार बिहान बस्ने मन्त्रिपरिषद् बैठकले औपचारिक निर्णय गर्दैछ।भारतलगायत अन्य मुलुकमा पूर्वराष्ट्र प्रमुखलाई आजीवन आवास, सुरक्षा, पेन्सनलगायतका सुविधा दिने चलन छ।

नवनिर्वाचित राष्ट्रपति विद्या भण्डारीले बिहीबार शपथ लिएपछि यादव उक्त घरमा सर्ने भएका छन्। सरकारले शीतल निवासमा बिहीबार नै विशेष कार्यक्रम आयोजना गरेर यादवलाई बिदाइ गर्नेछ।

बिदाइ कार्यक्रम सकिएलगत्तै उनलाई सेनाले विशेष सम्मानका साथ बागडोलस्थित घरमा पुर्‍याउने कार्यक्रम छ।यादवका केही निजी सामान बुधबारदेखि नै विष्ट थरका व्यक्तिको उक्त घरमा सारिएको छ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण