गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, शिक्षा, समचारडाक्टरको परीक्षामा कडाई

डाक्टरको परीक्षामा कडाई

October 29, 2015२२४ पटक

Doctor
१२ कात्तिक, काठमाडौं । एमबिबिएस र बिडिएस परीक्षा उत्तीर्ण गरेका विद्यार्थीले लाइसेन्स परीक्षामा सहभागी हुन अबदेखि प्रवेशपत्रमा औँठाछाप लगाउनुपर्ने भएको छ । नेपाल मेडिकल काउन्सिलले आगामी १२ मंसिरमा हुने एमबिबिएस र बिडिएस तहको लाइसेन्स परीक्षादेखि नै त्यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउने भएको हो ।

लाइसेन्स परीक्षामा कतिपय विद्यार्थी पटकपटक फेल हुने गरेको र त्यस्ता विद्यार्थीले नक्कली परीक्षार्थी खडा गर्न सक्ने सम्भावना रहेको भन्दै काउन्सिलले यस्तो व्यवस्था गर्न लागेको जनाएको छ । परीक्षाका वेला औँठाछाप अनिवार्य गर्न लागेको काउन्सिलले परीक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई लाइसेन्स वितरण गर्ने वेलामा परीक्षाका वेला गरेको हस्ताक्षर, औँठाछाप र फोटो पुन: रुजु गरेर मात्र लाइसेन्स वितरण गर्ने नयाँ पत्रिकामा खबर छ ।

काउन्सिल प्रवक्ता डा. कृष्ण अधिकारीले परीक्षालाई मर्यादित र व्यवस्थित गर्न तथा गुणस्तर कायम गर्न यस्तो विधि सुरु गर्न लागिएको बताए । उनले एमबिबिएस तथा बिडिएस उत्तीर्ण गरेका डाक्टरलाई फारम भर्न वा अन्य काम गर्न काउन्सिल आउनुपर्ने झन्झट पनि अन्त्य गर्न लागिएको बताए । ‘काउन्सिलले लाइसेन्स परीक्षाको फारम भर्नेदेखि प्रवेशपत्र लिनेसम्मको सम्पूर्ण काम अनलाइनबाट हुने व्यवस्था मिलाएको छ । परीक्षार्थीलाई परीक्षा केन्द्र र कक्षाकोठासमेत अनलाइनमार्फत नै जानकारी हुन्छ । ‘फारमका लागि बैंकको ई–सेवामार्फत फारम शुल्क बुझाएपछि फारम डाउनलोड गर्न सकिने र फारम अपलोड गरेपछि प्रवेशपत्र लिन मिल्ने र त्यसमा हस्ताक्षरसहित औँठाछाप लगाउनुपर्ने व्यवस्था गर्न लागिएको छ,’ डा. अधिकारीले भने ।

यसैगरी काउन्सिलले निकट भविष्यमै चिकित्सक दर्ता, योग्यता प्रमाणपत्रलगायतका काम पनि अनलाइनबाट हुने जनाएको छ । प्रवक्ता अधिकारीले काउन्सिललाई पेपरलेस गराउने अभियानअन्तर्गत प्रविधिको सहयोगबाट काम सुरु गरिएको बताए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण