जलविद्युत लगानी तथा विकास कम्पनी दुई अर्बको शेयर खुला ।।
सरकारी स्वामित्वको जलविद्युत लगानी तथा विकास कम्पनीले आजदेखि दुई अर्बको शेयर खुला गरेको छ । शेयरको प्राथमिक बजारमा लगानी गर्न चाहनेहरुका लागि यो ठूलो अवसर भएको अर्थ विश्लेषकहरुले बताएका छन् । आजदेखि खुला हुने शेयर २ करोड कित्ता शेयर सर्वसाधारणका लागि खुला भएको हो । यसअनुसार सर्वसाधारणले एक अर्ब ९० करोड रुपैया बराबरको लागि आवेदन दिन पाउनेछन् । नेपालको पूँजी बजारमा यो अहिलेसम्मकै ठूलो शेयर हो । कात्तिक २९ गतेसम्म समय दिइए पनि आवश्यक मात्रामा आवेदन आए कम्पनीले कात्तिक १९ गते नै शेयर बिक्री बन्द गर्ने तयारी गरेको छ । प्रतिकित्ता एकसय रुपैयाँका दरले न्यूनतम ५० कित्ता अर्थात ५ हजारदेखि अधिकतम ५० लाख कित्ताम्म शेयर खरिदका लागि आवेदन दिन सकिने भएको छ । शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष रहेको छ । आवेदन कोषसहित ३० वटा बैंक तथा बित्तिय संस्थाका ४० वटा केन्द्रमार्फत दिन सकिने जनाइएको छ ।