गृहपृष्ठ » अार्थिक, मुख्य समाचारमधेस आन्दोलनसँगै बैंकहरुमा अर्बाैं थुप्रियो

मधेस आन्दोलनसँगै बैंकहरुमा अर्बाैं थुप्रियो

October 29, 2015१७० पटक

bank (1)

१२ कात्तिक, काठमाडौं । अढाई महिनादेखि जारी मधेस आन्दोलनका कारण बैंकिङ प्रणलीमा अर्बाैं रुपैयाँ बराबरको लगानी योग्य रकम (अधिक तरलता) थुप्रिएको छ । निक्षेप बढेको तर कर्जा नबढेका कारण बैंकहरूमा तरलता बढेको हो ।

अहिले बैंकिङ प्रणलीमा सवा खर्ब रुपैयाँको हाराहारीमा अधिक तरलता भएको नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले अनलाइनखबरलार्इ  बताए ।

‘सवा खर्ब अधिक तरलतामध्ये करिब ६० अर्ब रुपैयाँ राष्ट्र बैंकले निक्षेपका माध्यमबाट लिएको छ भने करिब ६० अर्ब रुपैयाँ अधिक तरलता बैंकहरुसँगै छ ।’ पौडेलले भने ।

मुलुकमा लगानी र व्यापारमैत्री वातावरण नभएकाले कर्जाको माग अत्यन्तै न्यून छ तर निक्षेप भने बढिरहेको छ । तराई बन्द भएपछि लगानी गर्ने वातावरण नबनेकाले बैंकिङ प्रणलीमा तरलता बढेको उनले जानकारी दिए ।

‘भूकम्पदेखि नै बैंकहरुमा तरलता थुप्रिन थालेको थियो । तराई आन्दोलनले त झन थुपार्‍यो ।’ पौडेलले भने ।

बैंकहरुमा अधिक तरलताको उच्च रहेको निक्षेपको व्याजदर अत्यन्तै न्यून बिन्दुमा झर्नुले प्रमाणित गरेको एनबी बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले बताए ।

‘बैंकहरुले निक्षेपमा दिने व्याजदर निकै घटेको छ ।’ ढुंगानाले भने- ‘बैंकहरुको अधिकांस लगानी हुने तराई अढाई महिनादेखि बन्द छ ।’

राष्ट्र बैंकका प्रबक्ता त्रिलोचन पंगेनीका अनुसार कात्तिक १० गते (मंगलबार)सम्ममा बैंक तथा वित्तीय संस्थाहरुमा ५२ अर्ब रुपैयाँ अधिक तरलता छ ।

‘अनिवार्य नगद मौज्दानत बाहेक ७४ अर्ब ८ करोड नगद मौज्दात रहेको र दैनिक कारोबारको लागि आवश्यक रकम २१ अर्ब १६ करोडलाई छुट्याउँदा अब वित्तीय प्रणालीमा ५२ अर्ब ९२ करोड रूपैयाँ अधिक तरलता रहेको छ ।’ उनले भने ।

बैंकिङ प्रणालीमा अत्यधिक तरलता भएपछि राष्ट्र बैंकले मंगलबारमात्रै १० अर्ब रुपैयाँ निक्षेप संकलनका लागि बोलकबोल आहृवान गरेको थियो । जसमा ४ गुणा अर्थात् ३९ अर्ब ८० करोड रुपैयाँ बराबरको माग रहेको प्रबक्ता पंगेनीले बताए ।

राष्ट्र बैंकले निक्षेपका लागि गरेको बोलकबोलमा बैंकहरुले न्यूनतम ०.१४ प्रतिशतमा बोलकबोल गरेका छन् । बैंकहरुले हालेको गोप्य बोलकबोलका आधारमा औषत व्याजदर ०.४ प्रतिशत कायम भएको पंगेनीले बताए ।

‘दशैंमा बढी रेमिटान्स आएका, मधेस आन्दोलन र भारतीय नाकाबन्दीका कारण व्यापार व्यवसाय सुस्ताएकाले बैंकिङ प्रणालीमा लगानी योग्य रकम थुपि्रएको हो’ पंगेनीले भने ।

तरलता बढी भएपछि सर्वसाधारणको हातमा बढी पैसा हुने र उत्पादनशीलभन्दा उपभोगमा बढी खर्च गर्ने भएकाले अर्थतन्त्रमा गंभीर संकट निम्त्याउन सक्ने खतरा रहेको भन्दै उनले चिन्ता प्रकट गरे ।

दशैंमा सर्वसाधारणका हातमा गएको रकम बैंकिङ प्रणालीमा फर्किएपछि तरलता अझ बढ्ने देखिएको छ । जसले अर्थतन्त्रलाई अझ संकटतर्फ धकेल्ने अवस्था आउने भन्दै जानकारहरु चिन्तीत छन् ।

राष्ट्र बैंकले विभिन्न मौदि्रक औजारको प्रयोग गरी बजारमा भएको अधिक तरलता लिएपनि कर्जा बढ्न नसकेका कारण समस्याको समाधान हुन सकेको छैन ।onlinekhabar

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण