गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, शिक्षा, समचारइन्धन अभावका कारण बिरामीको अस्पतालमै बेहाल

इन्धन अभावका कारण बिरामीको अस्पतालमै बेहाल

October 30, 2015२५१ पटक

Bir-Hospital
१३ कात्तिक, काठमाडौं । इन्धन अभावमा अस्पतालका चुलोहरूमा ग्यास तथा स्टोभको सट्टा दाउराको प्रयोग हुन थालेको छ । भारतले करिब डेढ महिनादेखि गरेको नाकाबन्दीले ग्यास र तेल नभएपछि अस्पतालले विकल्पका रूपमा दाउराको प्रयोग गरेका हुन् ।

राजधानीका ठूला सरकारी अस्पताल वीर, त्रिवि शिक्षण, गंगालाल, निजामती कर्मचारी अस्पताल, पाटनलगायतका अस्पतालले भर्ना भएका बिरामीका लागि खाना पकाउन दाउराको प्रयोग गर्न थालेको हो । ‘ग्यास र तेल अभाव छ । विकल्प दाउरा नै हुने भयो । हाम्रो अस्पतालको क्यान्टिनमा खाना पकाउन दाउराको प्रयोग भएको छ,’ वीर अस्पतालका निर्देशक डा. स्वयंप्रकाश पण्डितले बताएको नयाँ पत्रिकामा खबर छ ।

बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका निर्देशक डा. ज्योतेन्द्र शर्माले पनि नाकाबन्दीको असर अहिले अस्पतालको क्यान्टिनबाट सुरु भएको बताए । ‘ग्यास र तेल नभएपछि दाउरा बालेर बिरामीलाई खाना खुवाइएको छ । अहिले लोडसेडिङ कम भएकाले उपचार पद्धतिमा समस्या छैन । लोडसेडिङ भयो भने जेनेरेटर चलाउन अर्को समस्या पर्न सक्छ,’ उनले भने । शर्माले उपत्यकाका सबैजसो अस्पतालको समस्या आफूहरूको जस्तै रहेको बताए ।

नाकाबन्दीले अस्पतालमा चुलोको समस्या मात्रै होइन, औषधि र औषधिजन्य उपकरणमा समेत असर पारेको छ । बिरामीका लागि चाहिने औषधि/उपचार सामग्री सकिँदै गएका छन् । अस्पतालमा बिरामीको संख्यासमेत उल्लेख्य रूपमा घटेको छ । अस्पतालहरूले अहिलेसम्म मौज्दात औषधि र सर्जिकल उपकरणहरूको प्रयोग गरेको बताएका छन् । यही अवस्था धेरै दिन रहे ठूलो समस्या पर्नसक्ने चिकित्सकहरूको भनाइ छ ।

वीर अस्पतालका निर्देशक डा. पण्डितले नाकाबन्दीले चिकित्सक, नर्स तथा कर्मचारीका लागि आउजाउ गर्न समस्या भएको बताए । उनले औषधि, अक्सिजन र सर्जिकल सामग्री अभाव नभए पनि कमी हुँदै गएको दाबी गरे । आफ्नो अस्पतालमा दैनिक आउने बिरामीको संख्या एकतिहाइमा झरेको उनले बताए । सो अस्पतालमा दैनिक एक हजार पाँच सय बिरामी आउने गर्छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण