पशु आहार चरन विकास कार्यक्रम सुरु
बनेपा, १३ कार्तिक । काभ्रेपलाञ्चोकमा दूध तथा मासुजन्य उत्पादनको लागत घटाउन पशु आहार चरन विकास कार्यक्रम (फरेज मिसन) सुरु भएको छ ।
सो कार्यक्रम अन्तर्गत विभिन्न उन्नत् जातका घासको बीउ तथा बिरुवा वितरण कार्य जारी रहेको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । कार्यालयका पशु चिकित्सक मणि सापकोटाका अनुसार व्यावसायिक रुपमा एक हेक्टर क्षेत्रफलमा घाँसखेती गर्ने व्यवसायिक फार्म, कृषक समूह र सहकारीलाई रु १० हजारका दरले अनुदान दिइने छ ।
जिल्लामा उन्नत् जातको जौँ, निन्दुला, टीओसेन्टीलगातयका भुइँ तथा डाले उन्नत् जातका घास वितरण गर्न कार्यालयले रु २५ लाख बजेट छुट्टाएको छ । उन्नत् जातको घाँसको बीउ रु तीन लाख बराबरको सात हजार किलो वितरण गरिसकेको पशु चिकित्सक सापकोटाले बताउनुुभयो ।
वर्षाको समयमा बहुवर्षे जातका घाँसको बीउ तथा बिरुवा वितरण गरीने कार्यालयले जनाएको छ । पशुपालनको पकेट क्षेत्र भएको मण्डन, पाँचखाल, पनौती, कुशादेवी, दाप्चा र नालामा मिसन कार्यक्रम सुरु गरीएको छ ।
यसै गरी जिल्लामा भूकम्पपीडित कृषकका लागि रु २२ लाख बराबरको खाद्य सुरक्षा पोषण कार्यक्रम आउन लागेको सापकोटाको भनाइ छ । भूकम्पका कारण जिल्लामा साना तथा ठूला पशुपक्षी गरेर रु ३० करोड बरावबको क्षति भएको थियो । रासस