गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, राजनीतिशीतलनिवासबाटै चल्छ राष्ट्रपति पुत्रको दादागिरी

शीतलनिवासबाटै चल्छ राष्ट्रपति पुत्रको दादागिरी

August 8, 2015३९३ पटक

काठमाण्डु, २३ साउन– सर्वोच्च र तटस्थ मानिने राष्ट्रपतिको कार्यालय र उनको निवासबाट दलीय गतिविधि सञ्चालन हुँदा यसले सार्वजनिक जीवनका मूल्य र राष्ट्रको छवि विवादमा तानिएको छ । chandramohan-yadavराष्ट्रपति यादवका छोरा एवं नेपाली काँग्रेसका तर्फबाट धनुषा–५ का निर्वाचित सभासद् डा. चन्द्रमोहन यादवले राष्ट्रपति निवासमा बसेर दलीय राजनीतिक गतिविधि सञ्चालन गर्दै आएका छन् ।

मुलुकको राजनीतिक यात्रामा लामो संघर्ष गरेका व्यक्तिदेखि कूटनीतिक ओहोदामा रहेकाहरुले यसलाई राष्ट्रपति पद, निवास र हैसियतको दुरुपयोग मानेका छन् ।

राष्ट्रपतिले आफ्ना छोरालाई शीतलनिवासमा नबस्न कुनै किसिमको आग्रह गरेका छैनन् । चन्द्रमोहन शीतलनिवासमा बस्दा पार्टी विशेषका कार्यकर्ता त्यहाँ सहज प्रवेश पाएका छन् ।

काँग्रेसको दलीय राजनीतिमा सक्रिय रहेको आरोप बाबु यादवलाई लागिरहेका बेला चन्द्रमोहनको शीतल निवास बसाइले त्यो आरोप थप पुष्टि गरेको छ । काँग्रेसका एक पदाधिकारीले राष्ट्रपतिबाट समयसमयमा काँग्रेसको मात्र नभएर अन्य दलको राजनीतिमा समेत खेल्ने र खेलाउने काम गरेको दाबी गरे ।

संयोग र समानता अन्यत्र पनि छन् । भारतीय राष्ट्रपति प्रणव मुखर्जीका छोरा अभिजित मुखर्जी पनि त्यहाँको लोकसभा सदस्य छन् तर उनी राष्ट्रपति निवासमा बस्दैनन् ।

‘मुखर्जीसँग व्यक्तिगत सम्बन्ध भएका डा. यादवले किन किन उनीबाट केही सिक्न सक्दैनन् ?’ एक कुटनीतिज्ञले भने ।

काँग्रेस केन्द्रीय सदस्य एवं धनुषाका सभासद महेन्द्र यादवले शीतल निवासबाट प्राइभेट नम्बरको मोबाइल फोन प्रयोग गरी धनुषा, सिरहा, सप्तरी क्षेत्रका प्रशासकहरुलाई चन्द्रमोहनले दबाब दिने गरेको आरोप लगाए ।

चन्द्रमोहनले राष्ट्रपति पदको दुरुपयोग गर्दा काँग्रेसको प्रजातान्त्रिक छविसमेत धमिलिएको दाबी केन्द्रीय सदस्य यादवले गरे । यादव राष्ट्रपति हुन् कि काँग्रेसका नेता भन्ने आफूले बुझ्न नसकेको उनले बताए ।

काँग्रेसको १२ औं महाधिवशेनमा सभापतिका प्रत्यासी शेरबहादुर देउवाविरुद्ध मोर्चाबन्दी गरेर राष्ट्रपतिले पदकै गरिमा बिर्सेको दाबी उनले गरे ।

यसअघि काँग्रेस नेता विमलेन्द्र निधिले समेत काँग्रेस सभापति निर्वाचनमा शीतलनिवासको दुरुपयोग गरी सुशील कोइरालाको पक्ष र देउवाको विपक्षमा राष्ट्रपति यादव लागेको आरोप लगाएका थिए ।

काँग्रेसको १३ औं महाधिवेशनको प्रारम्भमै सक्रिय सदस्यता वितरणका क्रममा धनुषा–५ मा आतंक सिर्जना हुनुमा चन्द्रमोहनको राजनीतिक कारण भएको सभासद महेन्द्र यादवले बताए ।

चन्द्रमोहनले गरेको राज्य शक्तिको दुरुपयोगविरुद्ध आफूले आगामी केन्द्रीय समिति बैठकमा कुरा उठाउने जानकारी यादवले दिए ।

आधिकारिक श्रोतका अनुसार राष्ट्रपति यादव दुईपल्ट भारतको यात्रा गर्दा दुवैपल्ट छोरा चन्द्रमोहन पनि साथै गएका थिए ।

उनको व्यवहारले प्रोटोकलसम्बन्धी समस्या उत्पन्न भएको परराष्ट्र मन्त्रालय श्रोतले बताएको छ ।
अन्नपूर्ण पोष्टबाट
– See more at: http://kathmandutoday.com/2015/08/124559.html#sthash.xhlicZIF.dpuf

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण