गृहपृष्ठ » मुख्य समाचार, राजनीतिउपराष्ट्रपतिमा पुन र यादवबीच प्रतिस्पर्धा

उपराष्ट्रपतिमा पुन र यादवबीच प्रतिस्पर्धा

October 31, 2015१६५ पटक

काठमाडौं–नयाँ संविधान कार्यान्वयन गराउनका लागि हुन लागेको उपराष्ट्रपति निर्वाचनमा सत्तारुढ घटक एमाओवादी नेता नन्दबहादुर पुन र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका उम्मेदवार अमियकुमार यादवबीच प्रतिस्पर्धा हुने भएको छ।

व्यवस्थापिका संसदले शनिबारका लागि तय गरिएको उपराष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिएका मध्ये दुईजनाले उम्मेदवारी फिर्ता लिएपछि पुन र यादवबीच प्रतिस्पर्धा हुन लागेको हो। मुलुकमा पहिलो पटक उपराष्ट्रपतिको निर्वाचन हुन लागेको हो। कांग्रेसका उम्मेदवार यादवले सुरुमै र पुनले अन्तिममा उम्मेदवारी दर्ता गराएका थिए।

शनिबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मतदान हुने र सोही साँझ बस्ने संसद बैठकले विजयी उपराष्ट्रपतिको घोषणा गर्ने कार्यक्रम छ । ‘नयाँ संविधान कार्यान्वयन, पालना र संरक्षण गर्दै राष्ट्रलाई एकताबद्ध गरेर अघि बढाउन सहयोगी भूमिका खेल्ने छु,’ पुनले उम्मेदवारी दर्तापछि भने, ‘मलाई मतदान गर्नका लागि सबैलाई अपिल गर्दछु ।’ सत्तारुढ घटक एमालेका वरिष्ठ नेता झलनाथ खनाल प्रस्तावक र राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरी समर्थक भई पुनको उम्मेदवारी दर्ता भएको हो ।

तत्कालीन माओवादी लडाकु प्रमुख पुन गत निर्वाचनमा काठमाडौं–४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापासँग पराजित भएका थिए । एमाओवादीभित्र स्थायी समिति सदस्यसमेत रहेका उनी माओवादी सशस्त्र युद्ध सुरु भएको पहिलो दिन अर्थात २०५२ फागुन १ गते होलेरी प्रहरी चौकी आक्रमणका सहायक कमान्डर पनि हुन् । माओवादी लडाकु समायोजनमा उल्लेखनीय भूमिका खेलेका उनी मिर्गौला रोगले पीडित छन् । सत्तारुढ गठबन्धनको प्रमुख सहयोगी एनेकपा माओवादीको शुक्रबार बिहान बसेको स्थायी समिति बैठकले उपराष्ट्रपतिमा नेता पुनलाई उठाउने औपचारिक निर्णय गरेको थियो ।

प्रतिपक्षी कांग्रेसले उठाएको अर्का प्रत्यासी यादव सिरहा निवासी हुन् । हाल व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने यादव समानुपातिक तर्फबाट तत्कालीन संविधानसभामा चुनिएर आएका थिए । व्यवस्थापिका संसद, बानेश्वर परिसरमा गत कात्तिक ११ गते बसेको कांग्रेस केन्द्रीय समिति बैठकले यादवलाई उम्मेदवारी बनाउने निर्णय गरेअनुसार शुक्रबार यादवको उम्मेदवारी परेको हो ।

कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठ प्रस्तावक र सचेतक इश्वरी न्यौपाने समर्थक रही यादवको उम्मेदवारी दर्ता भएको छ । ‘तराई–मधेस, पहाड, हिमाल सबै मिलेर बसोस् भन्ने सबै नेपालीको चाहना छ, म विजयी भएँ भने त्यसका लागि प्रयास गर्नेछु,’ यादवले उम्मेदवारी दर्ता गरेपछि भने । उनी नेपाली कांग्रेसका पुराना सम्मानित नेता हुन् ।

उम्मेदवारी दर्ता गराएर पनि स्वतन्त्र सभासद अतहर कमाल मुसलमान र नेपाल परिवार दलका दयाराम कँडेलले अन्तिम समयमा फिर्ता लिएका छन् । अखण्ड नेपाल पार्टीका सभासद कुमार खड्का प्रस्तावक र जनजागरण पार्टीका सभासद लोकमणि ढकाल समर्थक भएर स्वतन्त्र सभासद मुसलमानको उम्मेदवारी दर्ता भएको थियो । दोस्रो नम्बरमा दर्ता गरेका मुसलमानले ‘मुसलमान उम्मेदवार, हिन्दु प्रस्तावक र क्रिस्चियन समर्थक भएर उम्मेदवारी दर्ता गरेर समावेशीको एउटा नमुना प्रर्दशन गरेको’ प्रतिक्रिया दिएका थिए ।

राष्ट्रपति निर्वाचनमा कांग्रेस उम्मेदवार कुलबहादुर गुरुङलाई मतदान गरेका मुसलमानले उम्मेदवारी दिएपछि कांग्रेस उपसभापति रामचन्द्र पौडेललगायतको प्रयासस्वरुप उनको उम्मेदवारी फिर्ता भएको थियो ।उता, सत्तारुढ गठबन्धकै घटक परिवार दलले आफ्ना नेता दयाराम कँडेललाई उम्मेदवार बनाएको थियो।

पार्टी अध्यक्ष तथा सांसद एकनाथ ढकाल प्रस्तावक र मिलनकुमारी राजवंशी समर्थक रहेर कँडेलको उम्मेदवारी दर्ता भएको थियो तर सत्तारुढ गठबन्धनका प्रमुख सहयोगी एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललगायतको प्रयासस्वरुप कँडेलको उम्मेदवारी अन्तिम समयमा फिर्ता गराइएको थियो। शुक्रबार अबेरसम्म प्रतिस्पर्धामा रहेका पुनलाई सत्तारुढ गठबन्धनका १५ भन्दा बढी दलको समर्थन प्राप्त छ भने यादवलाई आफ्नै पार्टी कांग्रेसको मात्रै समर्थन रहेको देखिएको छ ।

प्रधानमन्त्री, सभामुख र राष्ट्रपति चुनावमा समेत एकजुट रहेका सत्तारुढ गठबन्धन दलको ३ सय २५ भन्दा बढी मत पर्नसक्ने भएकाले पुनको दाबेदारी निकै बलियो देखिएको छ । संसदमा हाल कायम रहेका ५ सय ९७ मतमध्ये कम्तीमा २९८ मत ल्याउने उम्मेदवार विजयी हुनेछन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण