गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, समचारपासपोर्टको पखेटा सपनाको उडान

पासपोर्टको पखेटा सपनाको उडान

October 31, 2015१७१ पटक

पासपोर्टको पखेटा सपनाको उडान

संविधानसभा मार्फत संविधान बनाउने सात सालदेखिको नेपालीको सपना असोज ३ गते पूरा भएको छ। रौतहट इनरवाका भुवन पटेल आफ्नो परिवारको सपना पूरा गर्न जुम्लाका डबल थापासँग अघिल्लो भदौको अन्तिम साता नै मलेसिया उडिसके। परिवारको सपना पूरा गर्नुपर्ने जिम्मेवारी आफ्नो काँधमा आएकाले बिदेसिनु पटेलको बाध्यता बन्यो।

उनकै शब्दमा ‘विदेश नगई पटेल परिवारको रथ चल्दैन ।’ थोरै खेतीपातीले मात्र गुजारा चलाउन सम्भव नभएपछि उनी ऋणपान गरेर परदेश जान लागेका हुन् । ‘यहीँ केही गरूँ भने राज्यले सहयोग गर्दैन, विदेश नजाऊँ भने परिवारको खर्च धान्न सक्दैनाैं,’ भदौ ३१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेटिएका उनले विवशता कहे, ‘अहिलेको समयमा गाउँमा बसेर बाँच्न नसक्ने भएकैले उड्न लागेको हुँ ।’

जुम्लाका डबल थापाको बाध्यता पनि पटेलको भन्दा भिन्न छैन । ‘मेरो सपना पनि उस्तै हो,’ रातो टीका र खादा पहिरिएका उनले पटेलतिर हेर्दै भने, ‘हामी एकै ठाउँमा जाँदै छौं ।’

नागरीकले छापेको छ । 

यतिखेर मुलुक संविधानको स्वागतमा जुटेको छ । तराईमा सानातिना विरोधका स्वरहरू मत्थर भइरकेका छैनन् । तर पटेल र थापाको सपनाको उडानलाई संविधानले रोक्न सकेन । त्यसैले त न जुम्लाका पहाडी युवा संविधानको स्वागत गर्न रोकिए, न तराईका युवा ‘विरोध गर्न’ अडिए । हातमा पासपोर्ट बोकेका उनीहरू सपनाको उडान भर्दै मलेसिया उडे । छुट्ने बेला उनीहरू संवाददातासँग भन्दै थिए, ‘हामी मिलेर परदेशमा काम गर्न जाँदै छौं । स्वदेशका हिमाल, पहाड र तराईका सबै दाजुभाइ पनि मिलेर बसे हामीलाई खुसी लाग्छ ।’

भनाइ छ— चरालाई पखेटाले होइन, पेटले उडाउँछ । अर्घाखाँची बागीका विक्रम भुसाललाई पनि भुवन पटेल र डबल थापाले देखेको जस्तै घरायसी सपनाले उडाउँदै छ । भुसालको काँधमा पनि थुप्रै जिम्मेवारी ओइरिएको छ । राम्रो घर बनाउने, बहिनीहरूको बिहे गर्ने, आमालाई सुखका साथ राख्ने । यी सपना पूरा गर्न उनले केही वर्ष यहीँ ‘मार्केटिङ’को काम पनि गरे । तर, त्यसबाट उनलाई सन्तुष्टि मिलेन । उनी विदेश जाने प्रयासमा छन् । अर्घाखाँची जिल्लाबाटै पासपोर्ट बनाइसकेका उनी दुबई उड्ने तयारीमा छन् । ‘आफ्नो सपना स्वदेशमा बसेर पूरा गर्न सकिनँ,’ मेडिकल गराउन राजधानी आएका भुसालले भने, ‘विदेश नगई मेरो सपना पूरा हुन नसक्ने देखेको छु ।’

भुसालको जस्तै बाध्यता भएका थुप्रै युवा हरेक दिन राहदानी विभागबाट पासपोर्ट निकाल्छन् र त्यसैको पखेटा हालेर सपनाको उडान पूरा गर्न बिदेसिने गरेका छन् । वैदेशिक रोजगारीमा गएकाहरूको पीडाबारे उनीहरूलाई जानकारी नभएको होइन तर नजाँदा परिवारले भोग्ने समस्याले उनीहरूलाई पिरोल्छ । देशमै बसूँ रोजगारी छैन, विदेश जाऊँ मन छैन । विवशताको भारीले थिचिएर अन्ततः उड्नैपर्ने अवस्थाबाट उनीहरू गुज्रिरहेका छन् ।

भुसालसँगसँगै राजधानी आएका गणेशप्रसाद भुसालले पनि पासपोर्ट बनाइसके । ‘अब उड्नमात्र बाँकी हो,’ उनी अलि ढुक्क छन्, ‘कागजाग सबै मिलिसकेको छ, अब भिसाको प्रतीक्षामात्र हो ।’

२२ वर्षका गणेश इन्जिनियर बन्न चाहन्थे । १० कक्षासम्म पुग्दा पनि यो सपनाले पछ्याइरहेको थिए । एसएलसी पास गरे । प्लस टु पढ्न थाले । तबमात्र उनले बुझे— त्यसका लागि त ४–५ लाख लाग्दो रहेछ । परिवारले यत्रो खर्च जुटाएर इन्जिनियरिङ पढाउन सक्दैन थियो । उनले आफ्नो सपना त्यहीँ भुलेर अब परिवारको सपना बोकेर विदेश उड्ने तयारीमा जुटेका छन् ।

‘गाउँमा खेतीपाती गरे आकाशे पानीको भर, फलिहाले जंगली जनावरले खाइदेला भन्ने त्रास,’ उनले भने, ‘त्यसैले बिदेसिने तयारीमा छु ।’ छिमेकी गाउँका मानिस विदेशमा समस्यामा परेको खबर उनले नसुनेका होइनन् तर एकपटक कमाएर आउने योजनाले उनलाई रोक्न सकेन ।

बाध्यताको अगाडि डर पनि ठूलो नहुँदो रहेछ । बाध्यताले आफन्त पनि पराई बनाइँदो रहेछ । भानिजको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएका सर्लाही गम्हरियाका इजराइल साह यस्तै पात्र हुन् । उनलाई थाहा छ, अरबको उडान सजिलो छैन । तर यो दुःखबाट उम्कने बाटो उनी देख्दैनन् । त्यसैले त उनी पनि बिबिएस पढ्दै गरेको छोरोलाई खाडी मुलुक पठाउन लागेका छन् । ‘मेरो एक्लो छोरो हो । पठाउन मनै छैन,’ उनी भन्छन्, ‘तर परिवारको अवस्थाका कारण छोराको सोचलाई परिवर्तन गर्न सकेको छैन ।’ बहिनीको बिहेमा लाग्ने खर्च कमाउन छोराले विदेश जाने सोच बनाएको उनले सुनाए । ‘समुदायमा तिलक दिने चलन छ,’ उनी भन्छन्, ‘त्यही तिलकको खोजीमा मेरो छोराले परदेश उड्ने सोच बनाएको छ ।’ एकपटक कमाएर आएपछि भने फेरि नपठाउने उनको भनाइ छ ।

उनीजस्तै एकपटक कमाएर स्वदेशमा काम गर्ने सोच धेरैको छ । तर बिदेसिएका युवाहरू पनि पटक–पटक जाने गरेको भेटिएको छ । राजनीतिक अस्थिरता, जनमुखी सरकारको अभाव, लोडसेडिङ, औद्योगिक वातावरण बन्न नसक्नु र सरकारी कामकाजमा ढिलासुस्तीले स्वदेशमै केही गरौं भन्ने युवाहरू टिक्न सक्दैनन् । ‘यहाँ केही गर्नेलाई हौसला होइन हतोत्साही पार्ने काम गरिन्छ,’ मलेसिया जाँदै गरेका जुम्लाका अलिबहादुर राउत भन्छन्, ‘त्यही भएर विदेश जानैपर्ने हुन्छ ।’ राज्य सिस्टममा नचलेका कारण देशमै रोजगारी गर्न चाहने युवामा वितृष्णा रहेको उनको बुझाइ छ ।

सुरुका समयमा काम नपाएर जाने युवा पिँढी अहिले पाएको काम छाडेर पनि मलेसिया तथा अरबतर्फ हानिएका छन् । जसले गर्दा गाउँघरमा जन्ती–मलामी नपाइने मात्र होइन सहरमा अत्यावश्यक कामदारको अभाव छ ।

श्रम तथा रोजगार मन्त्रालयका अनुसार अहिले दैनिक १ हजार ५ सय युवा रोजगारीका लागि विदेश जाने गरेका छन् । वार्षिक ५ लाखको हाराहारीमा युवा विदेशिने गरेको मन्त्रालयले जनाएको छ । ‘गाउँका युवा धेरै विदेश उडिसके,’ अर्घाखाँचीका विष्णु भुसाल भन्छन्, ‘किशोरहरूको हातमा पासपोर्ट आउन थालेको छ ।’ एक वर्षअगाडि पासपोर्ट बनाएका उनी पनि उड्ने तरखरमा रहेको सुनाए ।

सोचेजस्तो हुन्न

सोचेजस्तो कमाइ र काम नहँुदा बारम्बार बिदेसिनुपरेको अनुभव छ, नवलपरासीका जितन यादवसँग । २७ महिना साउदीको दमाममा काम गरेर ३ महिने छुट्टीमा आएका उनी बुधबार फेरि साउदी जाँदै छन् । उनको पहिलो कमाइले घर बन्यो तर छत हाल्न सकेनन् । ‘यसपटकको कमाइले छत ढलान गर्नै सोच बनाएको छु,’ उनले योजना बनाइसकेका छन्, ‘स्वदेशमा बस्दा अनेक सपना बदलिइरहन्छन्, विदेशमा पसिना बगिरहन्छ ।’ स्वदेशमै पसिना बगाएर सपना पूरा हुने दिन आए त्यो निक्कै खुसीको क्षण हुने उनले सुनाए । भन्छन्, ‘अब संविधान आउँदै छ, यहाँका युवालाई स्वदेशमै रोजगारीको व्यवस्था भइदिए धेरै राम्रो हुन्छ ।’

यादवको जस्तै सोच छ, चितवन भरतपुरका राम क्षेत्रीको पनि । उनी अफ्रिकी मुलुकमा काम गर्छन् । ‘१० वर्ष भइसकेछ पासपोर्ट बनाएको र काम गर्न थालेको,’ बुधबार अपराह्न नारायणहिटीस्थित राहदानी विभागबाट नयाँ पासपोर्ट लिएका उनले भने, ‘पासपोर्ट फटाइसकियो तर सपना कहिल्यै पुरानो नहुँदो रहेछ ।’

आशा छ, भरोसा छैन

हरेक नयाँ सरकार बन्नेबित्तिकै युवा नीति र रोजगारबारे चर्चा–परिचर्चा भइहाल्छ । युवा रोजगारका सहज वातावरण बनाउने प्रतिबद्धता वर्षौंदेखि आइरहेका छन् । तर, आश्वासनले मात्रै परिवारको मुखमा माड नलाग्ने बिदेसिने युवाको भनाइ छ । स्वदेशमा केही अवसर मिल्ला कि भन्ने आशा त छ तर त्यो पूरा भएको छैन,’ राम क्षेत्री थप्छन्, ‘अब बन्ने संविधानले युवाको लागि राम्रो अवसर सिर्जना गर्ला कि ।’

स्वदेशमा जति कमाए पनि बचत हुन नसकेकाले बिदेसिनुपरेको क्षेत्रीजस्ता युवाको आम धारणा हो । कतिपय त यहाँको सामान्य जागिर छाडेर पनि पासपोर्ट बनाउन लागिपरेका छन् । मासिक ६ हजार तलब खाँदै गरेका जुम्लाका भीमसेन थापा कोठाभाडा नै ४ हजार तिर्थे । ‘यहाँको महँगीले टिकाएन अब बाहिर नगए कसरी कमाउने ?’ उनी प्रश्न गर्छन् ।

वैदेशिक रोजगार विज्ञहरू भने श्रमप्रतिको सम्मानको अभावमा नेपालीहरू बिदेसिने क्रम नरोकिएको सुनाउँछन् । विदेश जानेलाई जबर्जस्तीभन्दा बुझाएर नेपालमा रोक्न सक्नुपर्ने विज्ञको बुझाइ छ । यसका लागि शिक्षा प्रणाली र सामाजिक चेतनामा परिवर्तन ल्याउनुपर्ने हुन्छ । वार्षिक ४ लाखभन्दा बढी नेपाली श्रम बजारमा प्रवेश गर्ने गरेका छन् तर, रोजगार वृद्धिदर भने निकै न्युन रहेको श्रम मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण