गृहपृष्ठ » अार्थिक, मुख्य समाचार, समचारइन्धन अभावले सडक विस्तारमा समस्या

इन्धन अभावले सडक विस्तारमा समस्या

October 31, 2015२३५ पटक
काठमाडौं: काठमाडौंका साँघुरा सडक फराकिलो पार्ने काम ठप्पजस्तै बनेको छ।
सरकारी प्रतिबद्धता, अनुगमन, बजेट विनियोजन र इन्धन अभावमा सडक विस्तारको गति सुस्त भएको हो।तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको समयमा काठमाडौं उपत्यका नगर विकास समितिमार्फत काठमाडौं उपत्यकाका साँघुरा सडक फराकिलो बनाउने कामले तीव्रता पाएको थियो।
२०६७ सालदेखि तीव्रता पाएको यो कामलाई सार्थक बनाउन सरकारले समितिलाई खारेज गरी काठमाडौं उपत्यका विकास प्राधिकरण बनाएको थियो। प्राधिकरणको काठमाडौं जिल्ला आयुक्त एवं नायब विकास आयुक्त डा. भाइकाजी तिवारीले सरकारी प्रतिबद्धता, अनुगमन, मासिक प्रगति बुझाउनेजस्ता काममा चासो घट्दै गएपछि सडक विस्तार कार्य सुस्ताएको बताए।
उनले भने, ‘सडक विस्तारको गति कम हुनुमा अहिलेको इन्धन अभाव र बजेट कम हुनु पनि हो।’ भट्टराईपछि मन्त्रिपरिषद्को अध्यक्ष बनेका खिलराज रेग्मीसम्म कामले गति पाएकै थियो।
सुशील कोइराला प्रधानमन्त्री भएयता सुस्त हुन थालेको सडक विस्तार अहिले लगभग शून्य गतिमा छ। मुख्यसचिव लीलामणि पौड्याल हुँदा उनकै अध्यक्षतामा केन्द्रीय अनुगमन समिति गठन भएको र समितिले निरन्तर अनुगमन गर्ने, मासिक प्रगति बैठकमा पेस गराउने, अड्किएका काममा तत्काल समन्वय गर्ने, काममा बारम्बार झक्झक्याउने र बजेट रोकिए तत्काल निकासा दिलाउनेजस्ता काम गर्थ्‍यो।
प्राधिकरणले काठमाडौं, ललितपुर र भक्तपुरमा गरी उपत्यकाका तीन सहरका चार सय आठ किलोमिटर सडक चौडा पार्ने लक्ष्य राखेको थियो। प्राधिकरणका अनुसार जसअनुरूप हालसम्म काठमाडौंमा एक सय ८० किलोमिटर, ललितपुरमा ३० र भक्तपुरमा पाँच किलोमिटर सडकमात्र विस्तार भएको छ।
काठमाडौं महानगरभित्र आर्थिक वर्ष २०६८, ६९ मा ५१.२९ किलोमिटर, आर्थिक वर्ष २०६९, ७० मा ६२.८० किलोमिटर, आर्थिक वर्ष २०७०, ७१ मा ३२.४५ किलोमिटर र आर्थिक वर्ष २०७१, ७२ मा २३.५८ किलोमिटर सडकमात्र विस्तार भएको तथ्यांक छ।
पछिल्ला वर्षमा मन्त्री र सचिवहले नै के बित्दो छ र ? भन्दै बेवास्ता गरेको प्राधिकरणका कर्मचारी बताउँछन् । उनीहरूका अनुसार पहिले महानगरपालिकाले माइकिङ गथ्र्यो, प्राधिकरणको टोली नै स्थलगत निरीक्षण र काममा जान्थ्यो।
सुरक्षाकर्मीबाट पनि झकझक्याउने काम हुन्थ्यो तर अहिले त्यस्तो कुनै काम नभएको उनीहरूको भनाइ छ।चालू आर्थिक वर्षका लागि जिल्ला आयुक्तको कार्यालय काठमाडौंले ७५.५७ किलोमिटर सडक फराकिलो पार्ने निर्णय गरी मार्किङ गरिसकेको छ।
सोका लागि गत चैतमा २५ करोड रुपैयाँ सहरी विकास मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा बजेट माग गरेको थियो। तर भूकम्पको कारणसमेत देखाउँदै असार अन्तिममा आठ करोड रुपैयाँ निकासा भयो।
ठेक्का लगाउने समय नभएपछि भुक्तानीका लागि चाहिने आठ करोडमात्र खर्च गरेको आयुक्तको कार्यालय काठमाडौंको भनाइ छ। आयुक्त तिवारीले त्यसपछि साउनमा सहरीमार्फत अर्थलाई १६ करोड रुपैयाँ मागेको जानकारी दिए। उनले भने, ‘तर अझै निकासा हुन सकेको छैन।
उता दुई वर्षदेखि केही सडक विस्तार गर्न रोकिँदा पनि माथिल्लो निकायबाट सहयोग छैन।’ उनका अनुसार चालू आर्थिक वर्ष प्राप्त भएको ११ करोड रुपैयाँमध्ये सडक विस्तार, पर्खाल र पार्कको टेन्डरका लागि आठ करोड छुट्ट्याइएकाले तीन करोडबाट मार्किङ गरिएको ७५.५७ किलोमिटरको काम अघि बढ्न सकेको छैन।
प्राधिकरणका प्रमुख आयुक्त योगेश्वर पराजुलीले भूकम्पका कारण सडक विस्तार कार्यमा केही समस्या आएको बताए। उनले भने, ‘कार्यान्वयन थप हुँदै गएको छ, बजेट भनेको बेला निकासा नहुन सक्छ तर कामले अब गति लिन्छ।’
सहरी विकास मन्त्रालयका प्रवक्ता पद्म मैनालीले तेल इन्धनका कारण काममा प्रभाव परेको बताए। उनले भने, ‘बजेट समिति हुँदा चार पाँच करोड थियो २०६९ वैशाख १ गते प्राधिकरण भएपछि पहिलेभन्दा १५ गुणाले बढेको छ।’
प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण