गृहपृष्ठ » मुख्य समाचार, समचारग्याँस अभावले बन्द हुँदैछन् पोखराका होटल

ग्याँस अभावले बन्द हुँदैछन् पोखराका होटल

October 31, 2015१५९ पटक

१४ कात्तिक , पोखरा । मुलुकको दोस्रो प्रमुख पर्यटकीय नगरी पोखरा पनि इन्धन अभावले संकटमा परेको छ । भारतीय नाकाबन्दीका कारण लामो समयदेखि ग्याँसको आपूर्ति हुन नसकेपछि यहाँ सञ्चालित साना ठूला होटलहरु बन्द हुने अवस्थामा पुगेका छन् ।

Hotel-Indreni-Himalaya-Goushala-3 ग्याँस र तेलको अभावले यहाँको पर्यटन नराम्रोसँग प्रभावित भएको छ । अहिले पोखरामा ५ सय भन्दा बढी पर्यटकस्तरीय होटलहरु सञ्चालनमा रहेका छन् । यहाँ फुलवारी रिसोर्ट र पोखरा ग्रान्ड गरी दुईवटा पाँचतारे होटल सञ्चालनमा छन् ।

अहिलेसम्म मेनुमा कटौती गरी होटल सञ्चालन गरेपनि अब थेग्न नसक्ने अवस्था सिर्जना भएको होटल व्यवसायीको भनाई छ । ‘ग्याँसको अभावले एक महिनादेखि पर्यटकलाई चाहेको खानेकुरा पकाएर खान दिन सकिएको छैन’ पश्चिमाञ्चल होटल संघका संस्थापक अध्यक्ष गोविन्द पहारी बताउँछन ।

यो मुख्य पर्यटकीय मौसम हो । यतिबेला पोखरामा सञ्चालित होटलहरु पर्यटकले भरिभराउ हुने गर्थे । तर, यस वर्ष विनाशकारी भूकम्प, तराई केन्द्रीत बन्द हडताल र इन्धनको अभावले सुनसान देखिन्छन् । अघिल्ला वर्षमा यस सिजनमा ९०/९५ प्रतिशत भरिभराउ हुने होटलहरुमा अहिले ३० प्रतिशत पनि अकुपेन्सी छैन् ।

अलिअलि आएका पर्यटकलाई पनि ग्याँस तथा तेलको अभावले सेवा दिन नसकिएको होटल सञ्चालकहरुको गुनासो छ । पोखरा नगर रेष्टुरेन्ट तथा वार एसोसिएसनका अध्यक्ष केपी शर्माले आफूले सञ्चालन गरेको दीपसागर होटल ग्याँस सकिएपछि दाउराको प्रयोग गरेर चलाएको बताए ।

तत्कालका लाग दाउरा प्रयोग गरेर होटल चलाए पनि यही अवस्था रहिरहेमा लामो समयसम्म थेग्न नसकिने शर्माको भनाई छ । उनका अनुसार ग्याँस भन्दा दाउरा महंगो पर्न गएपछि व्यवसायीलाई झनै मार परेको छ । अझै इन्धन आपूर्ति हुन नसकेमा होटल बन्द गर्नुको विकल्प नरहेको उनले बताए ।

पोखरामा सञ्चालित अधिकांश होटल ग्याँसको अभावकै कारण बन्द हुनै लागेका छन् । ‘केही होटल तथा रेष्टुरेन्ट बन्द भइसकेका छन्, केही बन्द हुने चरणमा छन्, बाँकी होटल रेष्टुरेन्ट पनि लामो समय सञ्चालन हुने अवस्था देखिदैन’ स्थानिय व्यवसायी बताउँछन् ।

ग्याँसको अभावले होटलमात्र होइन, सर्वसाधारणको जनजीवन समेत कष्टकर बन्दै गइरहेको छ । दैनिक सयौं परिवारको चुलो निभ्न थालेको छ । घर भएकाले दाउरामा खाना पकाएर खाएपनि भाडामा बस्नेहरु भने चिउरा, चाउचाउ खाएर दिन बिताउनु परेको छ ।

पोखरामा इन्धनको कालोबजारी भइरहेको छ । यहाँ एक लिटर पेट्रोल ५ सय रुपैयाँसम्म बिक्री भइरहेको छ । एक सिलिण्डर ग्याँसलाई ७ हजार रुपैयाँसम्म तिरेर किन्नु परेको होटल व्यवसायीको गुनासो छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण