गृहपृष्ठ » राजनीतिउपराष्ट्रपति पुनले सम्हाले पदभार

उपराष्ट्रपति पुनले सम्हाले पदभार

November 1, 2015१२० पटक

Pasang

१५ कात्तिक, काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले सपथ लिएका छन् ।

सपथ लिन शीतल निवास जानु अघि पुनले एमाओवादी पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेका थिए । १० वर्षे जनयुद्धमा लडाकू कमाण्डरको भूमिका निभाएका पुनले सहिद, देश र जनताको नाममा सपथ लिए ।

शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्या भण्डारीले उपराष्ट्रपति पुनलाई पद तथा गोपनियताको सपथ दिलाए । सपथका लागि पुन दौरा सुरुवालमा सर्जिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका थिए ।

सपथपछि नवनिर्वाचित उपराष्ट्रपति पुनलाई बधाइ दिने क्रममा एमाओवादी अध्यक्ष प्रचण्डसहितका पार्टीका केही नेताहरुले अंकमाल नै गरे ।

पुनले अपराहृन बहादुर भवनस्थित उपराष्ट्रपति कार्यालयमा पुगेर पदभार ग्रहण गरेका छन् ।

पुनको पदभार ग्रहण लगतै निवर्तमान उपराष्ट्रपति परमानन्द झालाई विदाइ समेत गरिएको छ । सरकारी आयोजनामा भएको विदाइ कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले झालाई बुद्धको मूर्ति उपहार दिएका छन् ।

एमालेसहित सत्ता गठवन्धनको समर्थनमा पुन शनिबार उपराष्ट्रपति पदमा निर्वाचित भएका थिए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण