महिला मन्त्रालयमा श्रीमान श्रीमतीको आलोपालो
काठमाण्डु, १९ कात्तिक– नेकपा मालेका महासचिव सीपी मैनालीका पति पत्नीले महिला तथा बालबालिका मन्त्रालयमा आलोपालो गरेका छन् ।
नेपाली कांग्रेसका सभापति सुशील कोइराला नेतृत्वको सरकारको पालामा मैनाली पत्नी निलम केसीले महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिइन ।
वर्तमान सरकारमा पनि सो मन्त्रालयको जिम्मेवारी मैनाली परिवारमै पुगेको छ । केपीका पति तथा माले महासचिव मैनाली उपप्रधान एवं महिला बालबालिका तथा समाज कल्याण मन्त्रीमा नियुक्त भएका छन् ।
तत्कालीन झापा आन्दोलनका कमााण्डर रहेका मैनाली यसअघि पनि एमाले नेतृत्वका सरकारमा स्थानीय विकास र आपूर्तिलगायतका मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् ।
ताप्लेजुङको फुलबारीमा विसं. २००८ सालमा जन्मेका उपप्रधानमन्त्री मैनालीले १४ महिना जेल जीवन बिताएका छन् । ०३३ साल चैत १२ गते नख्खु जेल फोरेर भाग्न सफल भएका मैनालीले ८ वर्ष निर्वासन र १९ वर्ष भूमिगत जीवन बिताएका छन् ।
उनको दलसँग संसदमा ५ सीट छ । ०४८, ०५१ साल र ०६३ सालमा पनि सांसद रहेका मैनाली पहिलो र दोस्रो संविधानसभामा समानुपातिक सभासद हुन् ।