गृहपृष्ठ » अन्तर्राष्ट्रिय, पत्रपत्रीका, मुख्य समाचार, राजनीतिभारतीय कम्युनिष्ट पार्टीले मोदीलाई भन्यो- नेपाललाई नहेप

भारतीय कम्युनिष्ट पार्टीले मोदीलाई भन्यो- नेपाललाई नहेप

November 6, 2015२८४ पटक

Sitaram-yachuri

२० कात्तिक, काठमाडौं । नेपालप्रति लिएको नीतिलाई लिएर भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको कडा आलोचना गरेको छ । मोदी सरकारले नेपालप्रति हेपाहा नीति लिएको उसले बताएको छ ।

कम्युनिष्ट पार्टीले आफ्नो मुखपत्र ‘पिपुल्स डेमोक्रेसी’मा सम्पादकीय नै लेखेर मोदी र बीजेपीले बिहारको चुनावलाई हेरेर नेपालका मधेसी दलहरुलाई सहयोग गरेको बताएको छ ।

उसले लेखेको छ, ‘नरेन्द्र मोदी र बीजेपीले बिहारको चुनावलाई हेरेर नेपालसँगको सुमधुर सम्बन्ध बिगार्ने गरी मधेसीलाई समर्थन गरेका छन्, जो बिहारको सीमा क्षेत्रमा छन् ।’

‘नेपाललाई चीनतिर जान बाध्य पारिएको छ र चीनबाट एक हजार मेटि्रक टन पेट्रोल ल्याउन सम्झौता भएको छ, भारतको नाकाबन्दीविरुद्ध असन्तुष्टि जनाउन नेपालका परराष्ट्रमन्त्री संयुक्त राष्ट्रसंघ गएका छन् । सार्कका अधिकांश देशले नेपाली जनतामाथि लादिएको नाकाबन्दीबारे चासो व्यक्त गरेका छन्’ सम्पादकीयमा भनिएको छ ।

भारतीय कम्युनिष्ट पार्टी सन् २००४ को चुनावपछि कांग्रेस आईसँगको गठवन्धन सरकारमा सामेल थियो । सो पार्टीका महासचिव प्रकाश करात र नेता सीताराम यचुरी लगायतका नेताले नेपालको शान्ति प्रकृयामा सहजीकरणको भूमिका खेलेका थिए ।

भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका महासचिव एवं पिपुल्स डेमोक्रेसीका सम्पादक सीताराम येचुरी नेपालमा लोकप्रिय छन् । नेपालको माओवादीलाई राजनीतिको मुलधारमा ल्याउन उनले पनि भूमिका खेलेका थिए ।

पिपुल्स डेमोक्रेसीले केही परराष्ट्रविदहरुसँग पनि कुराकानी गरेको छ, जसले भारतका कारण नेपाल चीनतर्फ ढल्किएको भन्दै चिन्ता जनाएका छन् । पछिल्लो दिनमा भारतीय नागरिक समाजले मोदी सरकारको गलत विदेश नीतिका कारण नेपालमा भारतविरुद्ध जनमत बन्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

भारतका पूर्वन्यायाधीश, पत्रकार तथा राजनीतिक दलका नेताहरुले नेपालसँग हेपाहा व्यवहार नगर्न सरकारलाई आग्रह गर्दै आएका छन् ।
नेपालको संविधानप्रति असन्तुष्टि जनाउँदै भारतले झण्डै दुई महिनायता नेपालमा नाकाबन्दी लगाउँदै आएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण