गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचारराजधानीका सडकमा बल्दैनन् बत्ती

राजधानीका सडकमा बल्दैनन् बत्ती

August 8, 2015२८४ पटक

२३ साउन, काठमाडौं । राजधानीका मुख्य चोकमा सवारी व्यवस्थापन सहज गर्न राखिएका ट्राफिकलाइट बल्न छाडेको पाँच वर्ष नाघेको छ । ०६७ मा उपत्यकाका चोकमा बिग्रिएका लाइट अझै बलेका छैनन् । जसका कारण ट्राफिक व्यवस्थापन मिलाउन ट्राफिक प्रहरीलाई हम्मेहम्मे पर्ने गरेको छ ।

rode-light

 

बजेट नभएको भन्दै लाइट मर्मत हुन नसकेका हुन् । ‘लाइट नहुँदा ट्राफिक व्यवस्थापनमा किनै कठिन भइरहेको छ,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका डिआइजी जयबहादुर चन्द भन्छन्, ‘लाइटले काम नगर्दा धेरै जनशक्ति खटाउनुपरेको छ ।’ उपत्यकाको पुतलीसडक, सिंहदरबार, थापाथली, कालिमाटी, त्रिपुरेश्वर, दरबारमार्ग, केशरमहललगायतका स्थानमा रहेका ट्राफिकलाइट बिग्रिएका छन् । राजधानीका अरू धेरै मुख्य चोकहरूमा ट्राफिकलाइट नै छैनन् । ट्राफिक महाशाखाका प्रवक्ता एसपी पोषराज पोखरेलका अनुसार माइतीघरदेखि सूर्यविनायकसम्मको नयाँ सडकखण्डबाहेक अन्यन्त्र ट्राफिक प्रहरीले हात हल्लाएरै ट्राफिक व्यवस्थापन गर्नुपर्ने अवस्था छ । कार्यालय समयमा सर्वसाधारणले समेत जभाभावी बाटो काट्ने गर्दा मुख्य चोकहरूमा कतिपय अवस्थामा सवारी व्यवस्थापन ट्राफिकको नियन्त्रणबाहिर पुग्ने गरेको नयाँ पत्रिकामा खबर छ । ‘४० लाख सर्वसाधारण बस्ने देशको राजधानीमा हात हल्लाएर ट्राफिक व्यवस्थापन गर्नु अन्तर्राष्ट्रिय बेइज्जत हो,’ एक ट्राफिक अधिकृतले भने, ‘यसले अनुशासन उल्लंघन गर्ने प्रवृत्ति र दुर्घटना दुवै बढाएको छ ।’ उपत्यकामा नियमित चल्ने सवारीसाधनको संख्या मात्र आठ लाख पुगेको छ । हरेक वर्ष झन्डै एक लाखका दरले सवारीसाधन थपिने गरेको यातायात व्यवस्था कार्यालयको तथ्यांक छ । कहाँ–कहाँ बल्दैनन् बत्ती उपत्यकाको पुतलीसडक, सिंहदरबार, थापाथली, कालिमाटी, त्रिपुरेश्वर, दरबारमार्ग, केशरमहलमा रहेका ट्राफिकलाइट बिग्रिएका छन् । राजधानीका अरू धेरै मुख्य चोकमा ट्राफिकलाइट नै छैनन् । थापाथली, त्रिपुरेश्वर, टेकुमा सधैँ जाम ललितपुरको कुपन्डोलदेखि माइतीघरसम्मको सडकखण्डमा अधिकांश समय जाम हुने गर्छ । त्यस्तै त्रिपुरेश्वरको जाम कालिमाटीसम्म पुग्ने गरेको छ । यी सडकखण्डमा सवारीसाधनको अत्यधिक चाप हुने गर्छ । पानी परेपछि जाम बर्खामा राजधानीका अधिकांश सडकखण्ड कतै पोखरी तथा कतै खोलामा परिणत हुने गरेका छन् । माइतीघर, जमल, भोटेबहाल, कुमारीपाटी, महाराजगन्ज ओरालोलगायतका सडकहरू ठूलो पानी परेपछि अवरुद्ध हुने गरेका छन् । सडक निर्माण वैज्ञानिक हुन नसक्दा झरीमा सडकमा पानी जम्ने गरेको हो । जसले गर्दा पानी परेको समयमा थप जाम हुने गरेको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण