गृहपृष्ठ » मुख्य समाचार, समचारखाने तेल पनि ट्यांकरबाट ल्याउने व्यवसायीको तयारी

खाने तेल पनि ट्यांकरबाट ल्याउने व्यवसायीको तयारी

November 6, 2015१३३ पटक

 

२० कात्तिक, काठमाडौं । भारतीय नाकाबन्दीपछि बजारमा खाने तेलको अभाव टार्न ट्यांकरमार्फत तेल आयात गर्न व्यवसायीहरुले प्रस्ताव गरेका छन् ।Oil

तेलको आपूर्तिका विभिन्न विकल्पहरु प्रस्तुत गर्दै नेपाल चामल, दाल, तेल उत्पादक तथा बिक्री संघले भारतबाट ट्यांकरमा राखेर प्रशोधित तेल नेपाल ल्याउने वातावरण बनाउन आग्रह गरेको हो ।

यसअघि नेपाली उद्योगहरुले कच्चा तेल ल्याएर प्रशोधन गरी तेल बिक्री गर्ने गरेका थिए भने कतिपयले कच्चा पदार्थ नै भित्राउने गरेका थिए ।

‘बजारमा २ महिनामा खपत हुने बराबरको माग छ । त्यसैले अहिले कच्चा तेल ल्याएर संकट टर्दैन,’ संघका अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले अनलाइनखबरसँग भने-‘अब बीरगञ्ज बाहेक सहज रहेका भारतसँग जोडिएका सीमानाकाबाट तेल भित्राउने वातावरण बनाउनुपर्छ ।’

वीरगञ्ज नाकामा रोकिएका तेल नेपाल भित्रिए पनि त्यसले १०/१२ दिनको माग मात्र धान्ने व्यवसायीले बताएका छन् । अहिलेदेखि नै बजारमा तेल अभाव छ ।

‘नाकाबन्दी हटेपछि प्रक्रिया पूरा गरेर तत्कालै कच्चा तेल पनि ल्याउन सकिँदैन । त्यसपछि झन् खाने तेलको अभाव ४/५ महिना लम्बिने अवस्था आउँछ । त्यसैले प्रशोधित तेल जुनसुकै विकल्प प्रयोग गरेर पनि भित्राउनुपर्छ,’ कर्माचार्यले भने ।

अहिले भन्सार विभागले २० लिटरभन्दा बढीको प्याकेजिङ गरी प्रशोधित तेल नेपाल ल्याउन नपाउने व्यवस्था गरेको छ । त्यसैका कारण ट्यांकरमा खाने तेल ल्याउँदा समस्या हुने तेल उत्पादक संघको भनाइ छ ।

वाणिज्य विभागले पनि त्यस्तो प्रतिबन्ध तत्कालका लागि खोल्ने गृहकार्य अघि बढाएको जनाएको छ । ‘प्याकेजिङ तेल भनिएकाले ट्यांकरमा ल्याउन रोकिँदैन की भन्ने पनि छ । हामी अध्ययन गर्दैछौं,’ वाणिज्य विभागका महानिर्देशक शम्भु कोइरालाले भने-‘व्यवसायीलाई खानेतेल भित्राएर अभाव टार्न सहजीकरण गर्छौं ।’

व्यवसायीले चीन र मलेसियाबाट पनि खाने प्रशोधित तेल ल्याउन सकिने भन्दै सरकारलाई प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् ।

भारतीय नाकाबन्दीपछि बजारमा खानेतेल लगभग पाउनै छोडिएको छ । सूर्यमुखी र भटमास तेलको मौज्दात सकिएको छ भने केही कम्पनिका तोरीको तेल फाट्टफुट्ट रुपमा भेटिने गरेको छ ।

अभावको कारण देखाउँदै उद्योगहरुले तोरीको तेल लिटरको २ सय ४० रुपैयाँसम्ममा बिक्री गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण