गृहपृष्ठ » मुख्य समाचार, समचारविराट पेट्रोका अध्यक्ष ‘भारतीय कारोबारी’

विराट पेट्रोका अध्यक्ष ‘भारतीय कारोबारी’

November 7, 2015१६४ पटक

विराटनगर- तेल ल्याउन मनलागी ठेक्का पाएका विराट पेट्रोलियम प्रालि(विराट आयल) का अध्यक्ष अर्जुन क्षेत्री पेट्रोलियम पदार्थका भारतीय कारोबारी रहेको रहस्य खुलेको छ। भारतको सिक्किम, गुवाहटीका बासिन्दा क्षेत्रीले २० वर्षयता नेपालमा पेट्रोलियम ‘धन्दा’ चलाइरहेका छन्।

इटहरीको पूर्वलाइनमा रहेको पंकज पेट्रोलपम्पबाट नेपालमा पेट्रोलियम व्यवसाय थालेका क्षेत्रीले इटहरीकै पेट्रोलियम व्यवसायी शिवप्रसाद घिमिरेको पार्टनरसिपमा सुनसरीको खनारमा नेपा पेट्रो केमिकल्स स्थापना गरेका हुन्। सरकारले १० वर्षअघि निजी क्षेत्रलाई पनि पेट्रोलियम आयात गर्न दिने तयारी थाल्दा क्षेत्री र घिमिरे मिलेर नेपा पेट्रो स्थापना गरे। त्यति नै बेला मोरङ, हात्तीमुढामा पनि सुबोध कोइरालाले त्यही प्रकृतिको कारोबार गर्न कोसी पेट्रो केमिकल्स स्थापना गरे।

चार वर्षअघि नेपा पेट्रोको खनारस्थित उद्योगमा ग्यास सिलिन्डर फुटरिङ र नेकरिङ गरेको घटना सार्वजनिक भएपछि क्षेत्री र घिमिरेले त्यहाँको कारोबार रोके। स्रोतका अनुसार विराट पेट्रोको रिफाइनरी उद्योग धादिङमा छ जहाँ घिमिरेको सुगम ग्यासको कारखाना थियो। अर्काको कम्पनीको ग्यास सिलिन्डर बजारबाट गायब पारेर १५ हजार सिलिन्डरको पिँध काटिएको प्रमाणित भएपछि उद्योग मन्त्रालयले कारबाही गरेको थियो। नेपाल पेट्रोलियम व्यवसायी संघका पूर्वअध्यक्ष र हाल ग्यास व्यवसायी संघका अध्यक्ष घिमिरेको स्वामित्वमा रहेको सुविधा ग्यास फुटरिङ र नेकरिङको घटनापछि सरकारको निर्देशनमा बन्द भइसकेको छ।

सुनसरीको खनारमा नेपा पेट्रोले पेट्रोलियम भण्डारणका लागि दुईवटा ओभरहेड स्टोरेज ट्यांकसमेत बनाएको छ। त्यहाँ १ हजार ७ सय किलोलिटर क्षमताको ट्यांक छ। ट्यांक बनाइएकै परिसरमा विभिन्न कम्पनीका १५ हजार ३ सय १४ थान सिलिन्डर फुटरिङ र नेकरिङ गरिएको फेला परेको थियो। सरकारी अनुगमन टोलीले २०६८ वैशाख २२ गते ती सिलिन्डर जफत गरेको थियो।

घिमिरेको व्यवसाय हेरिरहेका छोरा सुदीपले नेपा पेट्रोबाट क्षेत्री अलग भइसकेको बताए। ‘अहिले नेपा पेट्रोमा हाम्रो एकलौटी लगानी छ,’ उनले भने, ‘पार्टनरहरू अलग भइसकेका छन्।’ नेपा पेट्रोमा क्षेत्री र घिमिरेले ९ जना साझेदार राखेका थिए। ग्यास फुटरिङ र नेकरिङ घटना बाहिरिएपछि साझेदारमध्ये विराटनगरको एक मारवाडी घरानाले हात झिकेको थियो।

भारतको बरौनी रिफाइनरी डिपोबाट ०६५ सालदेखि पेट्रोलियम पदार्थ आयात गर्नुअघि पूर्वक्षेत्रमा सिलिगुडी डिपोबाटै तेल आपूर्ति हुन्थ्यो। सिलिगुडीबाट नेपाल आयल निगमको विराटनगरस्थित क्षेत्रीय डिपोसम्म पेट्रोलियम पदार्थ ल्याउने ट्यांकरमध्ये एउटाका चालक क्षेत्री पनि थिए। ट्यांकरका चालक हुँदा नै क्षेत्रीको पूर्वक्षेत्रका पेट्रोलियम व्यवसायीसित ‘हिमचिम’ बढेको हो। ‘क्षेत्रीलाई २० वर्षदेखि चिन्छु,’ विराटनगरका एक पेट्रोलियम व्यवसायीले नागरिकसँग भने, ‘सुरुमा भेट्दा उनले जिउभरि एक किलो सुनको गहना लगाएका थिए, लबज सिक्किमे पाराकै थियो।’

इन्डियन आयल कर्पोरेसनले निगमको क्षेत्रीय डिपोलाई पहिले फारबिंसगन्जबाटै पेट्रोलियम उपलब्ध गराउँथ्यो। रेल्वेबाट तेल ल्याएर फारबिंसगन्जको डिपोमा खन्याएर निगमलाई दिन्थ्यो। यसो गर्दा घाटा लागेपछि कर्पोरेसनले विराटनगर डिपोलाई पनि सिलिगुडीबाटै तेल दिन थाल्यो। सिलिगुडीबाट पेट्रोलियम आउन थालेपछि क्षेत्री यहाँका तेल व्यवसायीसित नजिकिएका थिए। ट्यांकर ड्राइभरको काम छाडेर क्षेत्रीले सिक्किममा पेट्रोलपम्प खोले। स्रोतका अनुसार उक्त पेट्रोलपम्प अझै सञ्चालनमा छ। ‘सिक्किमका अधिकांश ठूला पेट्रोलपम्प क्षेत्रीकै हुन्,’ उनीसँग नेपालमा पेट्रोलियम कारोबार गरेका एक व्यवसायीले भने, ‘सिलिगुडी डिपो र आयल निगम दुवैतर्फ राम्रो पकड भएकाले क्षेत्री थोरै अवधिमा पेट्रोलियम क्षेत्रका माफिया बने।’ पूर्वी नेपालका पेट्रोलियम व्यवसायीबीच क्षेत्री अहिले पनि ‘तेलका डन’ र ‘नटरवरलाल’ भनेर चिनिन्छन्।

‘क्षेत्री सिक्किममा तेल कारोबार गर्ने व्यक्ति हुन्,’ मोरङ व्यापार संघका पूर्वअध्यक्ष जीवन नेपालले भने, ‘उनको नेक्सस नेपाल आयल निगमसम्म थियो, अहिले पनि छ।’ नेपालका अनुसार छुट्टिएको देखाए पनि क्षेत्री र घिमिरे अहिले पनि व्यावसायिक पार्टनर हुन्। घिमिरेको काठमाडौं, रविभवनस्थित अढाईतले घर क्षेत्रीले नै किनेका हुन्। आयल निगमको ग्लोबल टेन्डर भरेका कोसी पेट्रोका सञ्चालक सुबोध कोइरालाले क्षेत्रीलाई सिक्किमका तेल कारोबारीका रूपमा चिनेको बताए।

कम्पनी रजिस्ट्रारको कार्यालयमा २०६५ असार २० गते दर्ता विराट पेट्रोलियम प्रालिको सञ्चालकमा मेचीनगर नगरपालिकाका नीरज क्षेत्री, कैलाश क्षेत्री, विनोद पाण्डे, प्रकाश दाहाल र परशुराम उप्रेती छन्।

कार्यालयका कागजातमा उल्लेख भएअनुसार क्षेत्री झापा, मेचीनगर नगरपालिकाका बासिन्दा हुन्। नीरज र कैलाश उनकै छोरा हुन्। पाण्डे र दाहाल सुनसरी, हाँसपोसाका तथा उप्रेती दोलखा, नाम्दुका बासिन्दा हुन्। काठमाडौं, गोठाटार–८ मा केन्द्रीय कार्यालय रहेको बताइएको विराटको अधिकृत पुँजी १० करोड, जारी पुँजी १० करोड र चुक्ता पुँजी ४ करोड २५ लाख भएको कम्पनी रजिस्ट्रार कार्यालयमा पेस गरिएको विवरणमा उल्लेख छ।

कम्पनीका साझेदार उप्रेती आफ्नो पाँच प्रतिशत मात्रै हिस्सा रहेको जानकारी दिँदै अधिकांश सेयर क्षेत्री दाजुभाइका नाममा रहेको बताउँछन्। ‘मेरो त नाम मात्रै हो,’ उप्रेतीले भने, ‘सबै कारोबार उहाँहरूले नै गर्नुहुन्छ, के–कति हुन्छ मलाई थाहा छैन।’ उप्रेतीका अनुसार भारत तथा नेपालमा पेट्रोलियमको ठूलो कारोबार गरिरहेका क्षेत्री बढीजसो भारतको सिलिगुडीमै बस्छन्।

क्षेत्री ‘भारतीय नागरिक’

०५१ सालदेखि इटहरीको पंकज पेट्रोलपम्पबाट नेपालमा पेट्रोलियम कारोबार थालेका विराट पेट्रोका अध्यक्ष क्षेत्री ‘भारतीय नागरिक’ हुन्। पूर्वी नेपालका तेल व्यवसायी क्षेत्रीलाई सिक्किमे भनेर चिन्छन्। क्षेत्रीसँग पंकज पेट्रोलपम्प खरिद गरेका इटहरीका व्यवसायी श्याम जलानले पनि उनी सिक्किमका ठूला तेल कारोबारी रहेको बताए। ‘पेट्रोलपम्प किनेपछि क्षेत्रीसँग सम्पर्क छैन,’ जलानले भने, ‘तर सिक्किममा उनका थुप्रै पम्प छन्।’

ट्यांकर चालक छँदा क्षेत्रीले नेपाल–भारत दुवैतर्फको तेल कारोबार बु‰न पाए। स्रोतका अनुसार नेपालमा पेट्रोलियम कारोबार थाल्न उनले नेपाली नागरिकताको प्रमाणपत्रसमेत लिएका छन्। ‘क्षेत्री थरको फाइदा उठाउँदै उनले झापा वा इलाम जिल्लाबाट नेपाली नागरिकता लिएका हुन्,’ स्रोतले भन्यो, ‘अनुसन्धान गर्दा पत्ता लाग्छ।’

केही समयअघिसम्म सिक्किम, सिलिगुडी क्षेत्रमा ‘ड्राइभिङ’ गर्दै आएका क्षेत्री अहिले सिक्किमको ‘आधा बजेट आफैं खेलाउँछु’ भन्दै हिँड्ने गरेको उनलाई चिन्नेहरू बताउँछन्। सीमावर्ती भारतीय बजार नक्सलबाढीमा पेट्रोलपम्पको कारोबार सुरु गरेसँगै ‘मालामाल’ बनेपछि नेपालका पेट्रोल पम्पमा पनि लगानी गरे। स्रोतका अनुसार इटहरीस्थित पंकज पेट्रोलपम्पमा उनले पहिला लगानी गरेका थिए। ‘हामीले जान्दासम्म उनी गाडीका ड्राइभर थिए,’ इलामका एक पेट्रोलियम व्यवसायीले भने, ‘अहिले उनले ज्यादै ठूलो आर्थिक हैसियत बनाएका छन्।’नागरीक न्युज बाट

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण