सुक्न थाल्यो ठूला अस्पतालको आम्दानी
२४ कात्तिक, काठमाडौं । भारतीय नाकाबन्दीका कारण गरिब बिरामी अत्यावश्यक स्वास्थ्य सेवाबाट वञ्चित भइरहेका बेला मुलुककै ठूला अस्पतालको आम्दानी आधा घटेको छ।
रिफरल अस्पताल वीर, त्रिवि शिक्षण, पाटनलगायत ठूला अस्पतालको गत वर्षको तुलनामा पछिल्लो तीन महिनाको आम्दानी करोडौं रुपैयाँले कमी भएको हो। तराईमा सवारीसाधन ठप्प हुनु र अन्य क्षेत्रमा पेट्रोलियम पदार्थ अभाव हुँदा स्थानीय स्वास्थ्य संस्थाबाट रिफर गरिएका बिरामीसमेत उपचारका लागि काठमाडौं आउन नसक्दा अस्पतालले एकातिर सेवा दिन पाएका छैनन् भने अर्कोतिर आन्तरिक स्रोतबाट जुट्ने आम्दानी ह्वात्तै घटेको अन्नपूर्ण पोस्टमा खबर छ।
नियमितजसो उपचारका लागि आउने बिरामीको संख्या आधा घट्नु, टेन्डरबाट नियमित रूपमा आउने औषधि सीमानाका र विभिन्न मुलुकका अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किँदा तत्कालका लागि महँगो मूल्यमा अत्यावश्यक औषधि खरिद गर्नु, चिकित्सक, कर्मचारीलगायतलाई अस्पताल आवतजावतमा अस्पतालकै सवारीसाधन प्रयोग गर्नु, ग्यास अभावमा हिटर र दाउरामा क्यान्टिन सञ्चालन गर्नु, बिजुली र पानीका लागि दोब्बर खर्च गर्नुपर्ने जस्ता कारणले अस्पतालको आम्दानी सुक्दै गएको हो।