गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, समचारनिजी र सार्वजनिक सवारीलाई आजबाट तेल वितरण बन्द

निजी र सार्वजनिक सवारीलाई आजबाट तेल वितरण बन्द

November 10, 2015१९८ पटक

२४ कात्तिक, काठमाडौं । नेपाल आयल निगमले मंगलबारबाट निजी र सार्वजनिक सवारीसाधनलाई इन्धन उपलब्ध नगराउने भएको छ । निगमले सोमबार सुरक्षा निकायबाहेकका सवारीसाधनलाई इन्धन दिन नसक्ने निर्णय गरेको हो ।

नियमित तथा वैकल्पिक मार्गबाट इन्धन नआएको र थोरै भएको मौज्दात पनि सकिएकाले सुरक्षा निकायबाहेक अन्य सवारीलाई इन्धन दिन नसकिने आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले बताए । ‘हामीसँग मौज्दात इन्धन छैन, थोरै भएको मौज्दात सेक्युरिटीका लागि राख्छौँ,’ उनले भने, ‘आज (सोमबार) सम्मको विषम परिस्थिति र आपत्का वेलासम्म हामीले इन्धन आपूर्ति गर्न सक्यौँ, अब सक्ने अवस्थामा छैनौँ ।’ निगमका निर्देशक मुकुन्द घिमिरेले पाँच दिनयता भन्सार छुटेर एउटा पनि इन्धन बोकेका ट्यांकर नआएको र मौज्दात पनि सकिएकाले अप्रिय निर्णय लिनुपरेको बताएको नयाँ पत्रिकामा खबर छ ।

‘हामीसँग तेल छैन, भन्सार छुटेर पाँच दिनयता ट्यांकर आएका छैनन्,’ उनले भने, ‘यस्तो अवस्थामा सबै सवारीसाधनलाई इन्धन दिन सकिँदैन भन्ने निष्कर्षमा हामी पुगेका हौँ ।’ कार्यकारी निर्देशक खड्काले चीनबाट आउने अनुदानको तेल सुरक्षा निकायलाई केही दिन वितरण गर्न पुग्ने र थप तेल नभएको पनि बताए । सुरक्षा निकायलाई वितरण गर्न पनि धेरै तेल नरहेको उनको भनाइ छ । ‘हामीसँग भएको मौज्दातले केही दिनका लागि सुरक्षा निकायलाई दिन सकिन्छ,’ उनले भने । चीनबाट सोमबारसम्म ६ लाख ५५ हजार लिटर तेल आई वितरण भएको र थप तेल साताभित्रै आइसक्ने निगमले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण