गृहपृष्ठ » मुख्य समाचार, राजनीतिनेपाली कांग्रेस र मधेसी मोर्चाबीच वार्ता जारी

नेपाली कांग्रेस र मधेसी मोर्चाबीच वार्ता जारी

November 14, 2015१५५ पटक

२८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई सहमतिमा ल्याउने प्रयास जारी राखेको छ । सिंहदरवारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा कांग्रेस शीर्ष नेताहरुले मोर्चाका शीर्ष नेताहरुसँग वार्ता गरिरहेका छन् ।
वार्तामा कांग्रेसको तर्फबाट कार्यवाहक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्री प्रकाशमान सिंह र नेता महेश आचार्य छन् । यसैगरी मोर्चाका तर्फबाट तमलोपा अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलगायतका नेताहरु वार्तामा सहभागी छन् ।
मोर्चाको आन्दोलन र सीमा नाकामा देखिएको अवरोध हटाउने उपाय खोज्न कांग्रेसले मोर्चासँग छलफल थालेको हो । कांग्रेसले मोर्चा र सरकारको बीचमा समस्या समाधानका लागि सहजकर्ताको भूमिका निर्वाह गर्ने बताएको छ ।
तिहार अघि नै वार्ता हुने भनिए पनि मोर्चाका नेता काठमाडौं बाहिर रहेकाले हुन सकेको थिएन ।
मोर्चाले सरकारले गठन गरेको वार्ता टोलीसँगको छलफलबाट मात्र निष्कर्ष निस्कन नसक्ने भन्दै वार्तामा बस्न अस्वीकार गरेपछि सरकारले शुत्रबार वार्ता गर्ने जिम्मा उच्चस्तरीय राजनीतिक समितिका संयोजक तथा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री एवं सरकारी वार्ता टोली संयोजक कमल थापालाई दिएको थियो ।
प्रचण्ड नेतृत्वको टोलीले पनि आजै मोर्चासँग छलफल गर्ने तयारी गरेको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण