गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचारबेलायतमा मोदी विरुद्ध नेपालीले प्रर्दशन गरेपछि भारतको यो कदम

बेलायतमा मोदी विरुद्ध नेपालीले प्रर्दशन गरेपछि भारतको यो कदम

November 14, 2015२१३ पटक

Indian Express
काठमाण्डु, २८ कात्तिक– बेलायत भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी विरुद्ध नेपालीहरुले नाराबाजी गरेपछि नेपालीको गतिविधिबारे भारतीय प्रधानमन्त्री कार्यालयले चासो देखाएको छ ।

भारतीय प्रधानमन्त्री कार्यालयले लण्डनस्थित भारतीय उच्च आयुक्तको कार्यालयलाई बेलायतमा रहेका नेपालीको प्रभावबारे सोधखोज गरेको हो ।

भ्रमणका क्रममा मोदीले नै सुन्ने गरी नेपालीहरुले ’ब्याकअफ इन्डिया’ र ’रिमुभ ब्लकेड’को नारा लगाएपछि प्रधानमन्त्री कार्यालयले प्रर्दशशनमा सहभागी भएका नेपालीको संख्या र उनीहरुको प्रभावका बारेमा सोधखोज गरेको भारतीय अंग्रेजी दैनिक इन्डियन एक्सप्रेसको शनिबारको संस्करणमा उल्लेख छ ।

प्रधानमन्त्री कार्यालयले बेलायतमा रहेका नेपालीहरुका संघ संस्था र प्रर्दशनमा सहभागी भएकाहरुको संख्यासहितको प्रतिवेदन तयार पार्न निर्देशन दिएको इन्डियन एक्सप्रेसले जनाएको छ ।

मोदीको लन्डन भ्रमणका क्रममा नेपालीको विरोध प्रदर्शन देखेर भारतीय प्रतिनिधिमण्डल छक्क परेको उच्चायुक्त कर्मचारीलाई उदृत गर्दै पत्रिकाले उल्लेख गरेको छ ।

भारतीय प्रधानमन्त्री मोदी बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनको कार्यालय टेन डाउनिङ स्ट्रिट पुग्दा नेपाली प्रदर्शनकारीले उनीविरुद्ध नाराबाजी चर्काएका थिए ।

लन्डन स्क्वायरमा महात्मा गान्धीको शालिकमा फूलमाला अर्पण गर्दा प्रदर्शनकारीले नजिकैबाट लगाएका नारा उनले सुनेका थिए ।

मोदीसँगै रहेका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभलले ब्याकअफ इन्डिया र रिमुभ ब्लकेड, मोदी नट वेलकम नारा लगाइरहेकाहरुलाई नजिकबाटै देखेका थिए ।

नेपालीको प्रदर्शनसँगै भारत सरकारसँग असन्तुष्ट भारतीय शिखहरुले पनि मोदीविरुद्ध नाराबाजी गरेका थिए ।

प्रदर्शनकारीले मोदीलाई रातो कार्पेट विछ्याएकोमा आलोचना गर्दै नेपालबिरुद्धको नाकाबन्दी तत्काल हटाउन दवाब दिन वेलायती प्रधानमन्त्री क्यामरुनलाई आग्रह गरेका थिए ।

दुई जना नेपाली युवाहरुको सक्रियतामा बेलायतस्थित गैरआवासीय नेपाली संघ लगायत करिब चार दर्जन संघसंस्थाले भारतीय नाकाबन्दीप्रति विरोध जनाउन मोदीविरुद्ध प्रदर्शन गरेका थिए ।
उनीहरुले भारत सरकारसँग दुस्मनी नभएपनि मोदी सरकारको कदमप्रति बिरोध जनाएको बताएका थिए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण