गृहपृष्ठ » मुख्य समाचार, समचारसामाचकेवा पर्वको चहलपहल सुरु

सामाचकेवा पर्वको चहलपहल सुरु

November 14, 2015१२२ पटक

विराटनगर, २८ कात्तिक-तराईमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीका रुपमा मनाइने सामाचकेवा पर्वको चहलपहल सुरु भएको छ । यस पर्वको अवसरमा माटाको कलात्मक मूर्ति बनाएर पूजापाठ गर्ने गरिन्छ । सोही कारणले कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिन मूर्ति बनाउनका लागि माटो ल्याउने र पन्ध्र दिनका अवधिमा मूर्ति तयार गरेर कात्तिक पूर्णिमाको मध्यरातिमा पर्व सम्पन्न गरिन्छ । माटाका विभिन्न प्रकारका जनावर, चरा र मानवलगायतका मूर्ति बनाइन्छ । नयाँ पुस्ताका महिलालाई माटाको मूर्ति बनाउने कलाको ज्ञानसमेत यस पर्वको माध्यमबाट प्राप्त हुन्छ । यो पर्व मैथिलानी र थारु समुदायका महिलाले मनाउने गर्छन् । ग्रामीण क्षेत्रमा अझै पनि पर्वको लोकप्रियता कायम छ भने तराईका सहरी क्षेत्रमा क्रमिक रुपमा यस पर्वप्रतिको आकर्षणमा कमी आएको महसुस गर्न थालिएको छ । काँचो माटाबाट बनाइएका मानव, चरा र जनावरलगायतका मूर्तिलाई ‘सामा’ भनिन्छ भने सोही सामालाई आगामा पकाएमा ‘चकेबा’ भनिन्छ । यो पर्व धार्मिक विश्वासमा आधारित छ । किंवदन्ती अनुसार द्वापर युगमा श्रीकृष्णकी सुपुत्री सामा वृन्दावन जङ्गलमा घुमघाम गर्न जाँदा ऋषिसँग रमण गर्ने गरेको झुठो कुरा सेविका डिहुलीले कृष्णसमक्ष लगाइन् । कृष्णले आवेशमा आएर सामा र वृन्दावनका समस्त ऋषिलाई चरा बन्ने श्राप दिए । सामाका भाइ साम्बले सो विषयमा जानकारी पाएपछि आफ्नी दिदीलाई श्रापबाट मुक्त गराउनका लागि घोर तपस्या गरे । तपस्याबाट खुसी भएर कृष्णले सामासहित सबै ऋषिलाई श्रापबाट मुक्त गरे । भाइले आफ्नी दिदीलाई श्रापबाट उद्धार गरेकाले अबदेखि जसले माटाको सामा बनाएर गाउँभरमा भ्रमण गरी पर्व मनाउँछन् उसका दाजुभाइ दीर्घायु हुने वरदान श्रीकृष्णले दिएकाले यो पर्व मनाउन थालिएको भविष्यपुराणमा उल्लेख छ । छठ पर्वको खरनादेखि माटाका मूर्ति बनाउने कार्यको थालनी हुन्छ । सो दिन सिरीसामा र दोस्रो दिन ‘चकेवाका साथै एकै पातमा बसेका वटा चरा ‘सतभैंया’ बनाइन्छ । त्यसपछि क्रमिक रुपमा खररुची भैया, बाटो बहिनो, दुई मुखवाला चरा, भाग्य चक्रका कारण विमुख भएका दाजुबहिनीको मूर्ति तयार गरिन्छ । यसका साथै वृन्दावन जङ्गल, भूmठो कुरा लगाउने चुक्लेबाजका मूर्ति निर्माणका साथै बनाइएका ती मूर्तिलाई विभिन्न रङ भर्ने गरिन्छ । पर्वमा दिदीबहिनीले पर्वको अवधिभर बेलुकीका समयमा दाजुभाइको प्रशंसाका साथै आशिष दिने खालका सामा गीत गाउने गर्छन् । प्रत्येक आँगनमा महिलाहरु रोचक गीत गाउने गर्छन् । गीतका माध्यमबाट दिदीबहिनीले आआफ्ना दाजुभाइलाई ठूला व्यक्ति बन्ने आशिष एवम् शुभकामना दिने चलन छ । सोही क्रममा आफ्नो सम्मानमा कमी नहोस् भनी उनीहरु गीतको माध्यमबाट आफ्नो चाहना व्यक्त गर्छन् । त्यसपछि कात्तिक पूर्णिमाको मध्यरात महिलाले आआफ्ना घरबाट गीत गाउँदै चौबाटामा भेला भएर पर्वलाई समापनको प्रक्रिया सुरु गर्छन् । सो अवसरमा सबैभन्दा पहिले भाइले सामाको मूर्ति फोडेपछि चुगलालाई वृन्दा वनमा जलाइन्छ । एकार्कासँग मूर्ति साटासाट गरेर घर फर्कने क्रममा पुनःगीत गाउँदै आँगनमा पुगेर झुम्मरी गीत गाई पर्व समापन गरिन्छ । यस पर्वमा प्रसादका रुपमा नयाँ धान, चिउरा, दहीर मिठाइका साथै नयाँ धानको बालासमेत राख्ने गरिन्छ । -प्रभाषचन्द्र झा

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण