गृहपृष्ठ » अार्थिक, कृषि, मुख्य समाचार, समचारतरकारी डुलाउँदै किसान

तरकारी डुलाउँदै किसान

November 15, 2015५८८ पटक

दैलेख, २९ कात्तिक । साँझ बारीमा फलेका तरकारी टिपेर डोकोमा तयार पार्छन् । बिहानै डोको लिएर तरकारीे बिक्री गर्न तिलेपाटा– ७ लामिछाने गाउँका ४५ वर्षीय गाने कामी विभिन्न बजारमा घुमाउँछन् ।

गाउँमा बिक्री नहुँने भएपछि आफूले उत्पादन गरेका तरकारी तीनदेखि चार घण्टा पैदल हिँडेर बजारमा बिक्री गर्नुपर्ने उहाँको बाध्यता रहेको छ । कहिले डोकोमा लगेको तरकारी नै बजारसम्म पुग्दैन् । कहिले त बिक्री नहुँदा सस्तोमा बिक्री गरेर फर्किनुपर्ने हुन्छ । कामीका लागि यो कुनै अनौठो भने होइन ।

परिवार पाल्ने जोहो गर्न उनी हप्तामा तीन देखि चार दिन पश्चिम दैलेखको टुनीबगर, राकमकर्णाली र खिड्कीज्यूलाका होटल तथा पसलमा तरकारीको डोको चाहार्दै समय खर्चिन्छन् । अरु दिन उनी परिवारसंँगै तरकारीको रेखदेखमै व्यस्त रहन्छटन् । यसअघि कामी भारतमा ज्याला मजदुरी गरेर धौ धौसँग परिवारको खर्च टार्ने गर्थे ।

पहिले भारतमा निकै दुःख गरेर कमाएको पैसा वाटोमै लुटिने गरेको कामी सुनाउँछन् । जीवनमा धेरै दुःखकष्ट बेहोरेका कामी पछिल्ला वर्षमा गाउँमै व्यावसायिक तरकारीखेती गर्न थालेका हुन् । विदेशमा गरेजतिकै दुःख आफ्नो गाउँ ठाउँमा गरे सहजै परिवार पालेर केही पैसा कमाउन सकिने देखेर नै तरकारीखेतीमा लागेको उनले बताए ।

नौ जनाको परिवार रहेको उनले तरकारी खेती गर्न परिवारबाट पनि उत्तिकै सहयोग पाएका छन् । “गाउँमा बिक्री नहुने भएपछि आफँैले बोकेर नजिकैका बजारमा तरकारी डुलाउँछु” उनले भने । उनले घर नजिक प्लास्टिकको घरभित्र गोलभेँडा फलाएका छन् । अहिले उनी बारीमा रहेको बन्दागोभी, काउली, मुला बिक्री गरिरहेका छन् ।

नर्सरी व्यवस्थापन र रोग नियन्त्रण सम्बन्धी तालिम लिएपछि तरकारीखेती गर्न अझ सहज भएको उनले बताए । प्राविधिक ज्ञान पाएपछि आफूलाई तरकारी लगाउन सजिलो भएको उनको भनाइ छ ।

उन्नत् र बैमौसमी तरकारीको बीउको खोजीमा रहेको बेला सामाजिक सेवा केन्द्रको सामाजिक परिचालनमा सञ्चालित ग्रामीण पहुँच कार्यक्रमले बीउविजन कार्यक्रमबाट सहयोग पाएपछि तरकारी लगाउन अझ मद्दत पुगेको उनले बताए ।

“यो याममा गोलभेँडाबाट मात्रै रु ४५ हजार कमाए,” कामीले भने– “अन्य तरकारीबाट कमाएको पैसा घरखर्चमै ठिक्क भयो ।” भारतमा भन्दा राम्रो कमाई हुने गरेकाले अरुलाई पनि गाउँमै कुनै न कुनै व्यवसाय गर्न उनले सल्लाह दिने गरेका छन् ।

कामीले तरकारी मात्र बिक्री गर्दैनन् बेर्ना उमारेर बिक्री समेत गर्ने गर्छन् । “तरकारी लगाएर घरमै बसेर कमाउन सकिदँैन,” उनले भने– “नजिकका बजारमा तरकारी बिक्री गर्न उत्तिकै मेहनत गर्नुपर्छ ।” रासस

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण