गृहपृष्ठ » फोटो ग्यालरी, मुख्य समाचार, साहित्य, स्वास्थ्यसाहित्यकार पुरण क्षेत्री “सिमापारि सिमावारि”बाट पुरस्कृत

साहित्यकार पुरण क्षेत्री “सिमापारि सिमावारि”बाट पुरस्कृत

August 8, 2015७२४ पटक

Simapari_wari_Puranअमरजित पुनमगर
रोल्पा, २३ साउन । कवि एवं साहित्यकार पुरण क्षेत्री पुरस्कृत भएका छन् । ललित साहित्य परिषद रोल्पाले कवि क्षेत्रीलाई पुरस्कृत गरेको हो । स्वदेशमा र विदेशमा रहेका युवा साहित्यकारहरुद्वारा स्थापित सिमापारि सिमावारि पुरस्कारबाट क्षेत्रीलाई पुरस्कृत तथा सम्मान गरिएको हो ।
Simapari_wari_Puranरोजगारीको सिलसिलामा विदेशमा रहेका ६ जना र स्वदेशमा रहेका ९ जना गरी १५ जना युवाहरुद्वारा स्थापना गरिएको अक्षयकोषबाट प्रगतिबादी साहित्यकार क्षेत्रीलाई शनिवार एक समारोहबीच सम्मान तथा पुरस्कृत गरिएको हो । ललित साहित्य परिषद्का अध्यक्ष ओम पंक्षीको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्रीलाई ५ हजार पुरस्कार राशिसहित सम्मान गरिएको थियो । प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कवि क्षेत्रीको ब्यक्तित्व चर्चा पत्रकार मौसम रोकामगरले गरेका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, प्रनाउ रमेश थापा, एकीकृत नेकपा माओबादीका शेरबहादुर बुढा, राजमोका केबी थापा, पत्रकारहरु काशीराम डाँगी, खेम बुढा, इश्वरी जीएम, गैसस महासंघका उपाध्यक्ष दिनेश सुवेदी, परिषदका पुर्व उपाध्यक्ष भगवती बुढा, जलजला बहुमुखी क्याम्पसका प्रमुख कृष्णप्रसाद न्यौपाने लगायतले मन्तव्य व्यक्त गरेका थिए । परिषद्का सचिव खेमराज गाउँलेले सञ्चालन गरेको कार्यक्रममा साहित्यकार डिबी टुहुरोले अक्षयकोष स्थापनाको बारेमा जानकारी गराएका थिए ।

२०३७ साल असार ८ गते जङ्कोट रोल्पामा जन्मिएका क्षेत्री “देशले उत्साह खोजिरहेछ” कविता संग्रहका लागि पुरस्कृत भएका हुन् । बुवा बीरबहादुर के.सी. र आमा बिन्दु केसीका दुई छोरा र एक छोरीमध्ये उनी जेठा छोरा हुन् । लिबाङ नगरपालिका ७ की तेजकुमारी महरासँग बिवाह गरेका कवि पुरण केसीका एक छोरा र एक छोरी छन् ।

कवि पुरण क्षेत्रीले लिबाङस्थित तत्कालीन श्री बालकल्याण मा.बि.बाट २०५४ मा प्रवेशिका परीक्षा दिएका थिए । लगत्तै तत्कालीन नेकपा माओवादीको जनयुद्धमा सामेल भएपछि औपचारिक शिक्षालाई त्यहींनेर विराम लगाएका थिए । स्वअध्ययनवाट भने कवि केसीले राजनीतिशास्त्र, समाजशास्त्र र माक्र्सवादी कला तथा सौन्दर्यशास्त्रको राम्रो शिक्षा आर्जन गरेका छन् ।

सानै उमेरबाट राजनीतिको हावाले छोएका पुरण क्षेत्री २०५४ सालदेखि माओवादीको पूर्णकालीन कार्यकर्ता भएका हुन् । अहिले पनि उनले एमाओवादी रोल्पाको जिल्ला सचिवको जिम्मेवारी सम्हालेका छन् । उनको यो सफलतामा धैर्यता, दृढता, इमान्दारिता, कर्तब्यनिष्ठता, लगनशीलता बलियो पक्ष रहेको उनका सहकर्मीहरुले बताउने गरेका छन् ।

पुरस्कार ललित साहित्य परिषद्को कोषमै
कवि क्षेत्रीले आफूले प्राप्त गरेको पुरस्कार पनि ललित साहित्य परिषदको कोषमा नै रहने गरी हस्तान्तण गरेका छन् । उनले प्राप्त पुरस्कार राशिमा ५ हजारमा आफ्नोतर्फबाट ५ हजार ५ सय ५५ रुपैयाँ थप गरी परिषद्को कोषमा राख्ने घोषणा गरेका छन् । ८० हजारको अक्षंकोष स्थापना गरी त्यसबाट आउने व्याजबाट प्रत्येक वर्ष एक जना स्रष्टालाई पुरस्कृत गरिने बताइएको छ । रोल्पामा जन्मेका तर बैदेशिक रोजगारमा निस्किएका र जिल्लामा रहेका युवाहरुबाट ५÷५ हजार जम्मा गरी उक्त अक्षयकोष स्थापना गरिएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले पनि अक्षयकोषमा केही लगानी गर्ने इच्छा ब्यक्त गरेका थिए । क्याम्पस प्रमुख कृष्णप्रसाद न्यौपानेले पनि अक्षयकोषमा आफूलाई पनि सहभागी गराउन अनुरोध गरेका थिए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण