नाकाबन्दीबाट कृषिमा मात्रै दैनिक झन्डै अर्बको नोक्शानी
काठमाडौँ : भारतको अघोषित नाकाबन्दीबाट मुलुकको कृषि क्षेत्रमा दैनिक रु ८३ करोड घाटा हुने गरेको छ ।
नाकाबन्दीका कारण इन्धन तथा ग्यासको चरम अभाव हुँदा दैनिक रुपमा सम्पादन गर्नुपर्ने काम गर्न नसक्दा तथा ढुवानीमा परेको कठिनाइले सो घाटा ब्यहोर्नुपरेको कृषि विकास मन्त्रालयका सहसचिव डा सुरज पोखरेलले जानकारी दिए।
दुग्धजन्य, मासुजन्य, खाद्यान्न तथा तरकारी बाली एवम् वितरणमा प्रत्यक्ष–परोक्ष प्रभाव पर्दा जीविकोपार्जन गरिरहेको साना किसानलाई तराईको बन्द हडताल र चक्काजामले गम्भीर सङ्कट उत्पन्न गरेको कृषि विभागका महानिर्देशक युवकध्वज जानकारी दिएका छन्।
नेपाल–भारत सीमामा मधेसी मोर्चाले गरेको लगातारको बन्द, हडताल र चक्काजामको परिस्थितिले कृषि क्षेत्रमा प्रतिकूल प्रभाव परेकाले सर्वसाधारण र किसानको रोजीरोटीमा असर परेको राष्ट्रिय कृषक समूह महासङ्घ नेपालका अध्यक्ष उद्धव अधिकारीले बताए।
नाकाबन्दी र इन्धन अभावले उत्पादित कृषि वस्तु बिक्री गर्न बजारसम्म ढुवानी गर्न सकिएको छैन । खेतबारीमा नै कृषि उपज कुहिएको, कृषकको दूध सङ्कलन हुन नसकेको, निजी क्षेत्रका दुग्ध उद्योग बन्द भएको, सिँचाइ तथा रासायनिक मल अभावले अन्न उत्पादनमा ह्रास आएकाले कृषि क्षेत्रमा सो नोक्सान पर्न गएको बुझिन्छ ।
कुखुरा, माछा, बङ्गुर, बाख्रालगायत पशुपालन व्यवसाय उत्पादन तथा बजारीकरणको असहजता एवम् फलफूल सङ्कलन र बिक्री वितरणमा समेत प्रतिकूल प्रभाव परेको छ । सोही कारणले नेपालको प्रमुख दुई खाद्यान्न बाली धान र गहुँमा मात्र रु २८ अर्बको नोक्सान हुने मन्त्रालयले प्रारम्भिक अनुमान गरेको छ ।