नाकाबन्दीको कहरमा कमाउने रहरले जीवनकै अन्त्य
लहान– तिहार विदामा आएका सिरहा महदेवा पोर्ताहा ७ का २७ वर्षीय कमलेश यादव समान्य गल्तिका कारण पत्नी सहित दुनियाँबाट सधैका लागि विदा भए।
भारतबाट ल्याएर घरमा राखेको पेट्रोलको छिटा भुइँमा पोखिएको थियो। त्यही ठाउँमा सलाई कोर्दा आगो घरभरी सल्कियो। नजिकै रहेकी कमलेश कि पत्नी नितुको जिउमा आगो लाग्यो। पत्नीको जिउमा लागेको आगो निभाउन पुगेका कमलेशलाई पनि त्यो आगोले समात्यो। आगोले पोलेपछि दुबैलाई उपचारका लागि लहानस्थित सप्तश्रृषी अस्पताल पुर्याइयो। यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुयाइयो।
आगोले पालेर दुबैको जिउमा गहिरो घाउ परेकोले थप उपचारका लागि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल लगियो। उपचारकै क्रममा आइतबार बिहान कमलेश र सोही दिन साँझ नितुले दम तोडे। इलाका प्रहरी कार्यालय लहानका डिएसपी उमा प्रसाद चतुर्वेदीले दिएको जानकारीअनुसार पेट्रोल राखिएको घरमा सलाई कोर्दा सल्केको आगोले कमलेश र नितुको शरिर जलेको थियो । समान्य असावधानीले दुबैजनाको ज्यान गएको प्रहरी भनाइ छ।
सीमा नाकामा भारतको अघोषित नाकाबन्दीका कारण नेपाली बजारमा पेट्रोल पम्पबाट पेट्रोल पाउन असहज भएपछि यस क्षेत्रका सर्वसाधारण भारतीय सहरबाट पेट्रोल भित्रयाएर घरमा भण्डारण गर्ने क्रम बढेको छ। सीमा क्षेत्रका मानिसहरु रातभरी सीमापारीबाट पेट्रोल भित्र्याएर घरमा भण्डारण गर्ने धन्दा सुरु गरेका छन्। यसले आगलागीको जोखिम र मानिसको ज्यानको जोखिम बढेको प्रहरीको भनाइ छ।
भारतीय पेट्रोल पम्पबाट पेट्रोल खरिद गरी सीमावर्ती गाउँको घरघरमा पेट्रोल भण्डारण गरिएको सुरक्षा सूत्र बताउँछन्। गाउँमा भण्डारण गरिएको भारतीय पेट्रोल रातको समयमा सहर बजारमा ल्याएर बस र निजी जिपमार्फत काठमाडौं पुर्याएर कालोबजारी गर्ने धन्दामा मधेस र सीमापारीका मानिसहरु सक्रिय छन्।
सीमावर्ती सहरका किराना पसलहरुबाट पेट्रोल बिक्री वितरण भैरहेको पाइएको छ। लक्ष्मीपूजाको दिन लहानस्थित महेश ट्रेडर्स(किराना पसल) मा बिक्रीका लागि राखिएको पेट्रोल भुँइमा पोखिएको थियो। असावधानीवस सोही ठाउँमा दीयो बाल्दा आगो सल्कियो। भुईंमा सल्केको आगोको लप्का पसलभरी फैलिएर पसलको सामान जलेर नष्ट भयो । लहान नगरपालीकाको बारुण यन्त्र, प्रहरी र स्थानीयले घण्टौं लगाएर आगो नियन्त्रणमा लिएको लहान प्रहरी प्रमुख(डिएसपी) उमा प्रसाद चतुर्वेदीले बताए।नागरीक न्युजबाट ।