यसबर्ष सुन्तला नबिक्ने चिन्ता
ताप्लेजुङ, मंसिर १० – ताप्लेजुङका किसानलाई यो वर्ष उत्पादन भएको सुन्तला बिक्री नहुने चिन्ताले पिरोल्न थालेको छ ।
भारतको अघोसित नाकाबन्दीका कारण इन्धन अभाव हुँदा जिल्ला बाहिरका सुन्तला व्यापारी सुन्तला खरिद र मुल्य तोक्न हालसम्म पनि बगानमा नआउँदा किसान चिन्तित बनेका हुन् ।
अघिल्ला वर्षहरुमा यो समयसम्ममा सुन्तला खरिदका लागि पाँचथर, इलाम र झापाका व्यापारी बगानमा नै आउने गरेका थिए । तर यो वर्ष अझैसम्म व्यापारी नआउँदा सुन्तलाबाट राम्रो आम्दानी गर्ने सोचमा रहेका किसान निरास बनेको स्थानीय कृष्णप्रसाद बरालले बताए ।
यहाँ उत्पादन भएको अधिकांश सुन्तला बिक्रीका लागि बाहिरी जिल्लामा पठाउने गरिन्छ । जिल्लामा करिव १ हजार ६ सय ३० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ ।
यहाँबाट आठ हजार मेट्रिक टनको हाराहारीमा सुन्तला उत्पादन हुँदै आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।