प्रहरीले ज्यादती गरेको भन्दै स्वास्थ्यकर्मीद्वारा विरोध प्रदर्शन
सप्तरी, मंसिर १० – प्रहरीले सप्तरीमा स्वास्थ्यकर्मीमाथि ज्यादती र दमन गरको भन्दै स्वास्थ्यकर्मीले विरोध प्रदर्शन गरेका छन् । प्रहरीले अस्पतालभित्र स्वास्थ्यकर्मी माथि कुटपीट गरेको तथा अमानवीय व्यवहार देखाएको भन्दै सप्तरीका सम्पूर्ण टेूड युनियन पदाधिकारीहरुले विरोध प्रदर्शन गरेका हुन् ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीका एसपी, डिएसपीको निलम्बन, सुरक्षाको ग्यारेन्टी र घाइतेहरुको उपचार तथा क्षतिपूर्तीको व्यवस्था हुनुपर्ने माग अघि सार्दै गठित संयुक्त संघर्ष समितिको नेतृत्वमा राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालबाट विरोध जुलुस निस्केको थियो ।
प्रहरी दमन गरेको भन्दै विरोधमा अस्पतालसहित सप्तरीका सम्पूर्ण स्वास्थ्य संस्था र कार्यालयहरुको सेवा आइतबारदेखी पूर्ण रुपमा ठप्प रहेको छ । अहिले अस्पतालले आकस्मिक सेवा टेन्ट लगाएर सञ्चालन गरेको छ ।
स्वाथ्यकर्मीलाई प्रहरीले अस्पताल हाताभित्र प्रवेश गरी कुटपीट गरेको भन्दै आफूहरुले असुरक्षित महशुस गरी जिल्लाभरीका सम्पूर्ण स्वास्थ्य संस्थाका सेवाहरुबन्द गरेको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. दीपा यादवले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख भीम प्रसाद ढकालले अस्पतालसहित स्वास्थ्य सेवा प्रभावित भएकोमा आफूहरुले गम्भीरतापूर्वक लिएको भन्दै यस विषयमा पहल भइरहेको जानकारी दिनुभयो ।