ईमान्दार प्रहरी निरीक्षक चौधरीको विदाइका बेला सबैका आँखा रसाए !
सागर भण्डारी,बागलुङ २०७२ मसिंर १२ । ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख, प्रहरी निरीक्षक युवराज चौधरीलाई शुक्रवार एक भव्य कार्यक्रमकाबीच भावपूर्ण विदाई गरिएको छ । बुर्तिबाङ स्थित स्थानीय राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, स्थानीयवासी एवं प्रहरी कार्यालयका स्टाफ लगायतले एक कार्यक्रमका बीच उनलाई हार्दिक विदाई गरिएको हो ।
गत वर्ष २०७१ साल मंसिर १ गते ईलाका प्रहरी कार्यालय बुर्तिबाङमा कार्यालय प्रमुखको रुपमा कार्यारम्भ गरेका प्रहरी निरीक्षक चौधरीको काम प्रति यस क्षत्रका जनताले खुलेरै प्रशसां गर्दै आएका छन । बुर्तिवाङ आएको छोटो समयमै प्रहरी निरीक्षक चौधरीले ईमान्दार र कर्तव्यनिष्ठ व्यक्तित्वको रुपमा आफ्नो फरक पहिचान दिन सफल भएर यस क्षेत्रका जनताको मन जित्न सफल भए । बुर्तिबाङ ईलाका प्रहरी कार्यालयमा आएपछी यस क्षेत्रमा विद्यमान विभिन्न विकृति र विसङ्गतिहरुको अन्त्य गर्नका लागि उनको सक्रियताको स्थानीयवासीले निकै प्रशंसा गरेका छन् । ईमान्दार, निडर र कर्तव्यनिष्ठ छविका प्रहरी निरीक्षक चौधरीको विदाईका अवसरमा स्थानीयवासी सबैका आँखा रसाएका थिए ।
बुर्तिबाङमा स्थानीय जनतालाई सताउँदै आएका र विभिन्न ठेक्का पट्टामा समेत गैरकानुनी रुपमा कालो धन्दा गर्दै आएका कतिपय डन भनिनेहरुलाई तहलगाउन प्रहरी निरीक्षध चौधरीले पाएको सफलता, जनतालाई निष्पक्ष निर्णय र छिटो छरितो सेवा दिने उनको हक्की स्वभाव, कुनै पनि निर्णयमा आफ्नो कर्तव्य र व्यक्तित्वलाई नगुमाएका कारण उनी छोटो समयमा पृथक पहिचान दिने सफल भएको स्थानीयको विश्वास छ ।
बुर्तिबाङ र आसपासका क्षेत्रहरुमा मदिरा नियन्त्रण गर्ने, जुवातास नियन्त्रण लगायतका सामाजिक सुरक्षाका पक्षहरुलाई मजबुत बनाउँदै सामाजिक विकृति र विसङ्गतिहरुको अन्त्य गर्नका लागि उनको उल्लेखनीय योगदान रहेको छ । अवैध रुपमा हुँदै आएको घरेलु मदिरा उत्पादन तथा बेचबिखन नियन्त्रण गर्नको लागी प्रहरी निरीक्षक चौधरीले अभियान नै चलाए भने मदिरा सेवनबाट हुने असरहरुको सचेतना स्वरुप विभिन्न जनचेतना मूलक कार्यक्रमहरु पनि सञ्चालन गर्दै आउनु उनको अर्को सकारात्मक सोँच थियो ।
प्रहरी निरीक्षक चौधरी कै सक्रियतामा स्थानीयको चन्दा संकलनबाट करिव १० लाख, प्रहरी परिवारबाट श्रम अनुदान करिब ३ लाख र मिस्त्रीबाट १ लाख भन्दा बढी श्रम अनुदान गरि करिब १४ लाख रुपैयामा ईलाका प्रहरी कार्यालय बुर्तिबाङ कै परिसरमा दुर्गा भगवती मन्दिरको निर्माण भएको छ ।
अहिले उनको जिल्ला प्रहरी कार्यालय बर्दियामा सरुवा भएको छ भने बुर्तिबाङ प्रहरी चौकीमा भने उहाँकै समकक्षी बुटवल प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक शिवराज क्षेत्री आउने बताइएको छ । अब आउने कार्यालय प्रमुखले पनि आफूले गरेका सकारात्मक कार्यहरुलाई निरन्तरता दिन सके बुर्तिबाङ क्षेत्रका समाजमा विद्यमान विकृति र विसङगतिहरुको अन्त्य हने प्रहरी निरीक्षक चौधरीले बताएका थिए ।