गृहपृष्ठ » अार्थिक, मुख्य समाचार, विशेष, समचार, स्वास्थ्यबर्मेली बा’को लोभलाग्दो आम्दानी

बर्मेली बा’को लोभलाग्दो आम्दानी

December 3, 2015५४९ पटक

पर्वत, १७ मंसिर- काम गर्न इच्छा भएमा उमेरले छेक्दैन भन्ने उदाहरण ७० वर्षका बर्मेली बाले देखाएका छन् । देविस्थान गाविस–७ का बर्मेली बाले आफ्नै घर वरिपरीको खाली जग्गाको उपयोग गरेर वार्षिक ७ लाख रुपैयाँसम्म कमाई गर्न सफल भएका छन् । बर्मेली बाको उपनाम पाएका देबिप्रसाद भुसालले आफ्नो घरको आँगन तथा पिँढीमा समेत तरकारी खेती गरेर मनग्य कमाई गर्न सफल भएपछि गाउँमा नै नमुना बनेका छन् । ‘धेरै कुरा गरेपनि तरकारी खेती नै सबैभन्दा भरपर्दो कमाइको आधार बन्न सकेको छ’ उनले भने, ‘घरमै बसेर तरकारीबाटै सात लाख रुपैयाँभन्दा बढी कमाई गर्छु ।’ उनले काउली, बन्दा, गाजर, मूला, रायो जस्ता तरकारी आफ्नो बारीमा लगाउने गरेका छन् । सुरुका वर्षमा खासै कमाई नभएपनि तरकारी उत्पादन गर्न सकेमा विक्रि वितरणका लागि कुनै समस्या नभएपछि व्यावसायिक रुपमा नै खेती गर्न हौसिएको उनको भनाई छ । बुढा बाको यस्तो उत्साह देखेपछि उनलाई प्राविधिक रुपमा जिल्ला कृषि विकास कार्यालयले समेत सहयोग गर्दै आएको छ । भुसालले विरुवा उत्पादन गर्ने नर्सरी बनाएर वार्षिक रुपमा १ लाख तरकारी बिक्रीबाट ३ लाख रुपैयाँ र गोलभेँडा बिक्री गरेर ३ लाख रुपैयाँ आम्दानी गर्ने गरेको बताए । जिल्ला कृषि विकास कार्यालयबाट समय समयमा निरिक्षण हुने भएकाले प्राविधिक समस्या भने नहुने उनले बताए । घरमै प्रर्याप्त रुपमा कम्पोष्ट मल उत्पादन हुने भएकाले उनले रासायनिक मल प्रयोग गर्नु नपर्ने र विषादीहरु समेत घरमै गहुँत कुहाएर गराउने भएकाले रासायनिक मलको आवश्यकता नपर्ने बताए । कृषि विकास कार्यालयबाट विभिन्न तालिम लिएपछि तरकारीखेतीप्रति आकर्षित बनेका भुषालले २०४७ सालदेखि यो खेती सुरु गरेका हुन् । लामो समयसम्म रोजगारीका लागि म्यानमारमा गाडी मर्मत गर्ने तथा नेपाल फर्किएपछि केही समय कुलेखानी र मस्र्याङ्दी जलविद्युत परियोजनामा काम गरेपनि कमाई नभएको उनको अनुभव छ । मेहेनत र जाँगर हुने हो भने जहाँ बसेर पनि मनग्गे आम्दानी गर्न सकिन्छ भन्ने मान्यता राखेका भुषाल उमेरले बुढो भएपनि जाँगरिला र मेहेनती देखिन्छन् । उनी भन्छन्, ‘हात खाली राख्न मन लाग्दैन, जतिखेरसुकै काम गरिरहन मन लाग्छ, अन्य पेशाभन्दा कृषि पेशा नै राम्रो लागेर आकर्षित भएको हुँ ।’ ‘बिक्रीका लागि बजार जानु पर्दैन घरमै ग्राहकहरु आउँछन्, दिनमा जति तरकारी टिपेपनि बिक्री हुन्छ’ उनले भने, ‘पाक्न नपाउँदै काँचैमा बिक्री हुन्छ ।’ ‘मेहेनत र परिश्रम गर्ने हो भने विदेशमा गएर दुःख कष्ट गर्नु पर्दैन आफ्नै माटोमा सुन फलाउन सकिन्छ’ उनले भने । भुषालजस्ता मेहेनती र परिश्रमी कृषकलाई प्रोत्साहन स्वरुप प्राविधिक सल्लाहा तथा सामान्य सहयोग गरिरहेको जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत बासुदेब रेग्मीले बताए । ‘बुढेसकाल लागेका बाले यति मेहनत गर्छन् भने युवाले मेहनत गर्दा बिदेशीनु नै पर्दैन’ कृषि विकास अधिकृत रेग्मीले भने ।

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण