रामजानकी विवाहपञ्चमी महोत्सव विधिवत रूपमा सुरु, आन्दोलनले चहल पहले र तयारीमा कमी
जनकपुरधाम ,मंसिर २५ – हरेक वर्ष भव्यतासाथ मनाईने विश्व प्रसिद्ध रामजानकी विवाहपञ्चमी महोत्सव सुरु भएको छ । झण्डै एक हप्तासम्म चल्ने महोत्सवको लागि सबै तयारी पूरा भएको जानकी मन्दिरका सहमहन्थ रामरोशन दास बैष्णवले बताउनु भयो ।
सात दिनसम्म विभिन्न कार्यक्रमका साथ मनाईने विवाह पञ्चमीमा महोत्सव अन्तर्गत भगवान रामसीताको वैवाहिक कार्यक्रम पुस १ गते हुनेछ । महोत्सवको पहिलो दिन शुक्रबार नगर दर्शन गरिएको छ । त्यस्तै २६ गते शनिबार फूलबारी लिला, २७ गते आइतबार धनुष यज्ञ, २८ गते सोमबार तिल्कोत्सव, २९ गते मंगलबार मटकोर, पुस १ गते बुधबार शुभ विवाह मुख्य दिन र पुस २ गते बिहीबार राम कलेवा हुने कार्यक्रम छ । हरेक कार्यक्रमका लागि बेग्ला बेग्लै रुपमा विशेष तयारी भइरहेको सह महन्थ दासले जानकारी दिनुभयो ।
यसपटक अयोध्याबाट झण्डै तीन सयको संख्यामा साधुसन्त र महन्थहरुको जन्ती आउने उहाँले जानकारी दिनुभयो । त्रेतायुगमा मर्यादा पुरुषोत्तम भगवान श्रीराम र आदर्श नारी सीताबीच भएको विवाहको स्मरणमा हरेक वर्ष मंसिर शुक्ल पञ्चमी तिथिका दिन मिथिला नगरी जनकपुरधाममा ऐतिहासिक विवाह पञ्चमी महोत्सवको आयोजना गरिँदै आएको छ ।
चहलपहल र तयारीमा कमी
हरेक वर्ष रामजानकी विवाह महोत्सव धुमधामसँग मनाउन दुई दुई साता अघिदेखि नै जोडतोडका साथ तयारी हुन्थ्यो । तर यस वर्ष तराई मधेशमा विगत चार महिनादेखिको निरन्तर बन्द र आमहड्तालले विवाह पञ्चमी महोत्सवलाई प्रभावित गर्ने निश्चित छ ।
अघिल्ला वर्षहरुमा दुई साता अघिदेखि नै विभिन्न पक्षहरु महोत्सवको लागि उत्साहकासाथ व्यवस्थापन र तयारी गरेपनि यस वर्ष बन्दले खासै केहि तयारी र चहलपहल देखिदैन । हरेक वर्ष स्वदेश तथा भारत लगायत विदेशबाट समेत लाखौंको संख्यामा महोत्सवको अवलोकन गर्न आउने श्रद्धालु भक्तजनहरु यस वर्ष यातायात बन्दको कारण थोरै संख्यामा सहभागी हुने अनुमान छ ।