गृहपृष्ठ » मुख्य समाचार, विशेष, समचार, स्वास्थ्यन्यानो कपडा किन्न भूकम्पपीडितलाई रकम बाँडिदै

न्यानो कपडा किन्न भूकम्पपीडितलाई रकम बाँडिदै

December 20, 2015२७५ पटक

चितवन, पुस ५ गते – न्यानो कपडा किन्नका लागि सरकारले भूकम्पपीडितलाई उपलब्ध गराएकोे प्रतिपरिवार रु १० हजार चितवनमा आजबाट सम्बन्धित नगरपालिकाका वडा र गाविसले वितरण गर्ने भएका छन् ।

प्रजिअ विनोदप्रकाश सिंहले रु तीन करोड ७५ लाख गाविस र नगरपालिकामा पठाइसकिएको बताउनुभयो । तीन दिनभित्र रकम  वितरण गरिसक्ने बताइएको छ । घर पूर्ण क्षतिग्रस्त भएर रातो परिचयपत्र पाएकाहरुलाई सरकारले न्यानो लुगा किन्नका लागि रकम दिन लागेको हो । गाविस कार्यालय र नगरपालिका भए सम्बधित वडा कार्यालयमार्फत रकम वितरणको व्यवस्था मिलाइएको छ ।

चितवनमा पहाडी क्षेत्रमा भूकम्पले धेरै घर भत्काएको थियो । दारेचोक गाविसमा सबैभन्दा धेरै घर भत्किएका थिए । पहाडी गाविसमा डाँडाहरु भूकम्पका कारण चिरा परेकाले वर्षायाममा पहिरोको जोखिम हुने देखेर केही बस्ती अस्थायी रुपमा स्थानान्तरणसमेत गरिएको थियो । जिल्लाका आठ गाविस, एक उपमहानगरपालिका र सात नगरपालिकामा रातो परिचयपत्र भएका भूकम्प प्रभावित छन् ।

चितवनमा पूर्णरुपमा घर क्षतिग्रस्त भएका तीन हजार ७२५ घरलाई रातो परिचयपत्र दिइएको छ । रातो परिचयपत्र पाएका भूकम्पपीडितले यसअघि पनि सरकारबाट अस्थायी बास बनाउनका लागि रु १५ हजार पाएका थिए ।

घर बनाउन आंशिक क्षति भएकालाई केही रकम दिए पनि लुगा किन्न दिइएकोे छैन । स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेलले आजबाट नगदै रकम वितरण गरेर दैनिक जानकारी गराउन भनिएको र तीन दिनभित्र सबै प्रभावितले रकम बुझ्ने उहाँले बताउनुभयो । रासस

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण