गृहपृष्ठ » मुख्य समाचार, विशेष, समचार, स्वास्थ्यसुत्ने बेलामा शक्तिशाली पराकम्प : पराकम्पका कारण ६९ जना घाइते

सुत्ने बेलामा शक्तिशाली पराकम्प : पराकम्पका कारण ६९ जना घाइते

February 6, 2016२३८ पटक

काठमाडौं, माघ २३ –  सिन्धुपाल्चोक केन्द्रविन्दु भएर शुक्रबार राति ५ दशमलव ५ रेक्टर स्केलको पराकम्पका कारण काठमाडौं उपत्यकामा ६९ जना घाइते भएका छन् ।

राति १० बजेर ५ मिनेटमा धक्का महसुस हुने बित्तिकै घरबाहिर निस्केर दौडिँदा लडेर उनीहरु घाइते भएका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सबै घाइतेहरुको अवस्था सामान्य छ ।

पराकम्प आउँदा कोही मस्त निद्रामा थिए भने कोही सुत्ने तयारीमा थिए । धेरै दिनपछि ठूलो धक्का महसुस हुने बित्तिकै धेरैजना रातको चिसोमा घर बाहिर निस्केका थिए । एकछिन त्रास भएपनि नयाँ भूकम्प नभएर पराकम्प भएको थाहा भएपछि सबैजना फेरि घरभित्र पसेका थिए ।

यो वैशाख १२ गते गोरखाको वारपाक केन्द्रविन्दु भएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पको पराकम्प नै भएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताउनुभयो । यस्ता पराकम्प आउने समयको अन्तराल बिस्तारै कम हुँदै जाने तर कहिलेसम्म आइरहन्छ भन्ने यकिन नभएको उहाँको भनाई छ ।

उहाँका अनुसार यसअघि वि.सं. १८९० मा यहि क्षेत्रमा सबैभन्दा ठूलो भूकम्प गएको थियो । तर त्यतिबेला जाँच्ने उपकरण नहुँदा कति रेक्टर स्केलको आएको भन्ने थिएन । त्यतिबेला ३ महिनाभित्र ठूला ठूला पराकम्प गएका थिए । अहिले १ सय ८२ वर्षपछि त्यहि प्रकृतिको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख अधिकारीले बताउनुभयो ।

भूकम्प गएको लामो समयसम्म पनि ठूला पराकम्प आइरहनु नौलो कुरा भएको उहाँको भनाई छ । सामान्यतया साना पराकम्प आएर भूकम्पको शक्ति सकिने भएपनि यसपाली ठूला पराकम्प आइरहेका छन् । यसअघि यहि माघ १३ गते बिहान ६ बजेर १७ मिनेटमा सिरहा केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको थियो ।

पुस ३ गते बाजुरा केन्द्रविन्दु भएर ५ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यो पछि ४ रेक्टर स्केलको पराकम्प आइरहेपनि ५ रेक्टर स्केल भन्दा माथिको भूकम्प वा पराकम्प गएको थिएन । यसअघि मसिर ३ गते पनि सिन्धुपाल्चोक नै केन्द्रविन्दु भएर ५ दशमलव ३ रेक्टर स्केलको पराकम्प गएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण