सिमाङ्कनको विरोधमा बागलुङ बन्द
राजेशचन्द्र राजभण्डारी
बागलुङ श्रावण २४
संविधान बनाउने नाउँमा प्रमुख राजनैतिकदलले शनिवार राती सहमती गरेको प्रदेश सिमाङ्कनको विरुद्ध बागलुङ जिल्ला बन्दको घोषणा गरेका छन् ।
नेपाली काँग्रेस, एमाले, एमाओवादी र मधेशी जनअधिकार फोरमको शिर्ष नेताहरुले ६ वटा प्रदेश निर्माण गर्ने क्रममा बागलुङ जिल्लालाई टुक्राएको भन्दै अनिश्चितकालिन बागलुङ बन्दको घोषणा गरिएको छ ।
बागलुङ जिल्लामा रहेका राजनैतिकदल, उद्योग वाणिज्य संघ लगायतका संघ संस्थाको संयुक्त बैठकले संघीयताको नाउँमा बागलुङ जिल्लालाई २ वटा प्रदेशमा राख्नु षडयन्त्र मूलक खेल भएको भन्दै उक्त गलत निर्णय नसच्याएसम्म सम्पूर्ण व्यापारिक, शैशिक संघ संस्था यातायात सबै पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको नेपाली काँग्रेसका कार्यवाहक अध्यक्ष जगदिशचन्द्र उपाध्यायले बताए ।
रातारात षडयन्त्रपूर्ण रुपमा बागलुङ जिल्लालाई प्रदेश ४ र ५ मा राख्नु आफुहरुलाई मान्य नहुने उक्त गलत निर्णय तत्काल सच्याई संविधान निर्धारित समयमा जारी गर्नुपर्ने आफुहरुको माग रहेको बताए ।
राजनीतिक दल र बागलुङवासीहरु जुलुश प्रदर्शनको तयारीमा लागेका छन् ।