संविधान कार्यान्वयनमा भारतको अवरोधः दाहाल
काठमाडौ , २८ माघ– एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधानसभाबाट जारी नेपालको प्रगतिशील संविधान कार्यान्वयनमा दक्षिणी छिमेकी भारतले अवरोध सिर्जना गरेको बताएका छन् । नेपालको प्रगतिशील संविधान कार्यान्वयन हुँदा त्यसको असर आफ्नो मुलुकमा पर्ने डरका कारण भारतले संविधान कार्यान्वयनमा अवरोध गर्न खोजेको आरोप दाहालको थियो ।पार्टी निकट थारू राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय समितिको बुधबार पेरिसडाँडामा बसेको बैठकमा अध्यक्ष दाहालले भने, ‘संविधानसभाबाट जारी संविधानले नेपालका जनजाति र महिलालाई दिएको अधिकार भारत र अमेरिकाले पनि दिएका छैनन् । नेपालको जस्तो प्रगतिशील संविधान न भारतमा छ न अमेरिकामा । हाम्रो संविधानमा जनजाति र महिलाका लागि धेरै अधिकार सुनिश्चित गरिएको छ,’ दाहालले भने ।महिलाको ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको, जनजातिको लागि समावेशी र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरिएको र सीमांकनबारे संविधान संशोधन गर्न छलफल चलिरहेको स्मरण गराउँदै उनले भने, ‘हाम्रो संविधानलाई राम्रो भने भारतमा पनि हाम्रो संविधानमा भएजस्तै अधिकार त्यहाँका महिला र आदिवासी जनजातिले खोज्ने भए ।’अन्नपूर्ण पोस्ट्बाट