गृहपृष्ठ » मुख्य समाचार, विशेष, शिक्षा, समचार, स्वास्थ्यसम्बन्ध विच्छेदमा नयाँ कानुनी व्यवस्थाको प्रस्ताव

सम्बन्ध विच्छेदमा नयाँ कानुनी व्यवस्थाको प्रस्ताव

February 20, 2016२८९ पटक

काठमाडौँ, फागुन ८ गते = प्रस्तावित देवानी कानुनमा पत्नीले परपुरुषसँग वा पतिले परस्त्रीसँग यौन सम्बन्ध राखे पतिपत्नीबीच सम्बन्ध विच्छेद गर्न सकिने व्यवस्था गरिएको छ ।
त्यस्तै, पतिले पत्नीसँग जबर्जस्ती करणी गरेमा समेत पत्नीले पतिसँग सम्बन्धविच्ेछद गर्नसक्ने प्रावधान देवानी काुूनमा प्रस्ताव गरिएको छ । पतिले जाँड रक्सीको मातमा पत्नीलाdivorceई दुःख दिने र पत्नीकोे इच्छा नहुँदा नहुँदै पनि जबर्जस्ती यौन सम्पर्क गर्ने गरेका घटना सञ्चारमाध्यममार्फत बाहिर धेरै आउने गरेपछि त्यस्तो प्रावधानको व्यवस्था गरिएको सांसदहरूको भनाइ छ ।
सम्बन्ध विच्छेदसम्बन्धी सो व्यवस्थामा पतिले पत्नीको मञ्जुरीबिना पनि सम्बन्ध विच्छेद गर्नसक्ने चारवटा कारण उल्लेख गरिएको छ भने पत्नीका लागि सम्बन्ध विच्छेद गर्नसक्ने छवटा व्यवस्था प्रस्ताव गरेको छ ।
प्रस्तावित व्यवस्थामा पतिले तीन वर्षसम्म पत्नीसँग अलग बसेमा, पत्नीले खानलाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा, पत्नीले पतिको अङ्ग–भङ्ग हुनेगरी कष्ट दिएमा वा जाल प्रपञ्च गरेमा र पत्नीले परपुरुषसँग यौन सम्बन्ध राखेको ठहरेमा पतिले पत्नीसँग सम्बन्ध विच्छेद गर्नसक्ने छ ।
सोहीअनुसार, पत्नीले पतिको मञ्जुरी नभए पनि सम्बन्ध विच्छेद गर्नसक्ने व्यवस्था गरिएको छ । जसमा पतिले पत्नीको मन्जुरी नलिई लगातार तीन वर्ष अलग बसेमा, पतिले खानलाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा, शारीरिक मानसिक यातना वा जाल प्रपञ्च गरेमा, पतिले अर्को विवाह गरेमा, पतिले अन्य स्त्रीसँग यौन सम्बन्ध राखेको ठहरेमा र पतिले पत्नीलाई जबर्जस्ती करणी गरेको ठहरेमा पत्नीले पतिसँग सम्बन्ध विच्छेद गर्न चाहँदा गर्नसक्ने व्यवस्था प्रस्ताव गरिएको छ ।
सम्बन्ध विच्छेदसम्बन्धी सो व्यवस्थाले पति र पत्नीबीच राजीखुसीले कानुनी व्यवस्थाअनुसार सम्बन्ध विच्छेद गर्न तयार भएमा सोअघि अंशबण्डा गर्नुपर्ने व्यवस्था प्रस्ताव गरेको छ । सम्बन्ध विच्छेदका लागि प्रक्रियामा गएपछि अदालतले पहिलो  चरणमा दुवैबीच मेलमिलापको प्रयास गर्ने, मेलमिलाप नभएमा कानुनबमोजिम हुने व्यवस्था गरिएको छ ।
प्रस्तावित सम्बन्ध विच्छेदको व्यवस्थामा पतिको सम्पत्तिबाट पत्नीलाई सम्पत्तिको अंशबण्डा गराउने, मासिक खर्च भराइदिने व्यवस्था छ तर त्यसका लागि पत्नीले त्यसरी अंशबण्डा नहुँदै अर्को विवाह गरेमा भने पतिबाट अंश र मासिक रकम र खर्च नपाउने व्यवस्था छ । पति र पत्नीले कानुनअनुसार सम्बन्ध विच्छेदका लागि अदालतमा निवेदन दिनुपर्नेछ ।
त्यस्तै, सम्बन्ध विच्छेद गरेकी महिलाको मृत्यु भएमा निजको सम्पत्ति निजकै छोराछोरी र छोराछोरी नभए पूर्वपतिबाट पाएको सम्पत्ति माइतीपट्टिको हकलाग्ने ऐनमा प्रस्ताव गरिएको छ । तर, सम्बन्ध विच्छेद गरेकी महिलाले अर्को विवाह गरेमा निजले सम्बन्ध विच्छेद गर्दा पतिबाट पाएको सम्पत्ति पतितर्फ छोराछोरी भए त्यस्ता छोराछोरी र छोराछोरी नभए सम्बन्धविच्छेद गर्नुअघिको पतिको हक लाग्ने व्यवस्था छ ।
व्यवस्थापिका संसद् अन्तर्गतको विधायन समितिमा विचाराधीन रहेको सो ऐनमा सर्वसाधारणको सुझावका लागि समितिले आगामी चैत मसान्तसम्मको समयावधि तय गरेको छ । समितिले आगामी जेठ मसान्तसम्म सो ऐनलाई संसद् बैठकमा पेस गर्ने तयारी गरेको समितिकी सभापति गङ्गा चौधरीले बताउनुभयो ।
समितिका सदस्य लक्ष्मणलाल कर्णले समाजमा श्रीमान्ले श्रीमतीमाथि गरेको विभिन्न हिंसाजन्य घटनाका कारण त्यसलाई न्यूनीकरण गर्न सम्बन्ध विच्छेदको सहज कानुन प्रस्ताव गरिएको तर्क गर्नुभयो । “यति खुकुलो कानुन पहिले थिएन, नयाँ प्रस्तावमा श्रीमान् र श्रीमतीबीच चित्त नबुझे सहजै सम्बन्धविच्छेद गर्नसक्ने प्रावधान राखिएको छ”, उहाँले भन्नुभयो । श्रीमान् र श्रीमतीबीच समझदारी हुँदासम्म त ऐनको कुनै प्रभाव नहुने उहाँले प्रस्ट पार्नुभयो ।
समितिले सम्बन्ध विच्छेदसम्बन्धी सो व्यवस्थामा सुझावका लागि सर्वसाधारणलाई आह्वान गरेको छ । समितिका हुलाकमार्फत सुझाव पठाउनेले पोस्ट बक्स नं. २००९९ मा र सिधै फोनमार्फत पनि सुझाव राख्न सकिने व्यवस्था छ । त्यसका लागि ०१४२००१७२ मा सुझाव दिनेले डायल गर्न सक्नेछन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण