चिनको प्रश्न कत्रो विमान पठाऊँ
फाल्गुन २८, प्रधानमन्त्री केपी ओली नेतृत्वको टोलीलाई चीन भ्रमणका लागि लिन समकक्षी ली खछ्याङले विशेष विमान नै काठमाडौं पठाउने भएका छन् । चिनियाँ प्रधानमन्त्री लीले भ्रमण टोलीको संख्याप्रति जिज्ञासा राख्दै खबर पठाएका छन्– ‘कत्रो विमान पठाऊँ ’
प्रधानमन्त्री ओलीले चैत ७ देखि चीनको पाँचदिने औपचारिक भ्रमण गर्दै छन् । स्रोतका अनुसार चीनका विशिष्ट व्यक्तिले मात्र उपयोग गर्ने विमान पठाइने जानकारी आएको छ । खासगरी प्रधानमन्त्रीको भ्रमण टोली तय नहुँदा कत्रो विमान पठाउने भन्नेमा चीन सरकार अन्योलमा छ । चीनले विमानको विषय टुंग्याउन ताकेता गरिरहेको स्रोतले जनायो ।
चीनले पठाउने विशेष विमान वा आफनै राष्ट्रिय ध्वजावाहक विमान प्रयोग गर्ने भन्नेमा उच्च तहमा बहस भइरहेको स्रोतको भनाइ छ । विशेष सुरक्षा जडित विमान आउने जानकारी गराइएकाले प्रधानमन्त्रीले चिनियाँ विमानै उपयोग गर्ने संकेत गरेका छन् । उनले भारत भ्रमणमा नेपाल वायुसेवा प्रयोग गरेका थिए । आफ्नै ध्वजावाहक विमानबाट फर्कने क्रममा डेढ घण्टा ढिला भएकोमा उनले गम्भीर चासो देखाएका थिए । निगमले समय तालिका मिलाएर नियमित उडानमा असर नपर्ने गरी भ्रमणका लागि विमान उपलब्ध गराउन सक्ने पर्यटन मन्त्रालयमार्फत प्रधानमन्त्री कार्यालय र परराष्ट्रमा जानकारी गराएको छ ।
प्रधानमन्त्री ओली चीनको बोआओमा हुने एसियाली सम्मेलनमा भाग लिन जाने क्रममा दुई दिनअघि बेइजिङ पुग्ने भएका हुन् । उनलाई बोआओ फोरममा सहभागी हुन निमन्त्रणा गरिएको थियो । लामो समयदेखि बोआओ फोरममा नेपाललाई निमन्त्रणा गर्न छाडेको चीनले गत वर्षदेखि पुनस् निमन्त्रणा गरेको हो । गतवर्ष तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले सहभागिता जनाएका थिए । यद्यपि उनलाई चीन सरकारले बेइजिङमा रेड कार्पेट नओछ्याएका कारण उनी बोआओबाटै फर्केका थिए ।
यसपटक भने ओलीलाई बेइजिङमा स्वागत गरेर त्यहाँबाट हैनानमा पुनस् स्वागत गर्ने चीनको तयारी छ । गत वर्ष पनि चीनले आफ्नै विमानमा कोइराला नेतृत्व टोलीलाई हैनान लगेको थियो । उनलाई नियमित उडानबाट छेन्दु हुँदै हैनान पुर्याएको थियो । अहिले ओलीलाई विशेष विमानबाट सिधै बेइजिङ पुर्याउने चीनको चाहना छ । सरकारले चीन भ्रमण टोली पनि विशेष बनाउने तयारी गरेको छ । विभिन्न विषयमा छलफल हुने उक्त भ्रमणमा कम्तीमा तीन मन्त्री हुनेछन् ।
प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालय र अन्य सम्बन्धित मन्त्रालयका अधिकारी तथा व्यापारी समुदायसहित भारतको जस्तै जम्बो टोली बन्ने अधिकारीहरूले बताएका छन् । चीन सरकारले टोलीको संख्या छिटो तय गर्न आग्रह गरिरहेको छ । सरकारी टोली ४० भन्दा बढी नहुने र व्यापारी पनि भारत गए जति नहुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले बताए । सबै तयारी चलिरहेकाले अन्तिम नामावली तय हुन बाँकी रहेको उनले बताए । टोली जस्तोसुकै भए पनि त्यहाँ सरकारले गर्ने काममा यो भ्रमणको मूल्यांकन हुने भन्दै परराष्ट्र अधिकारीले टोलीबारे खासै चासो नराखेको अधिकारीहरूले बताए । संविधान जारी भएपछि भारतले देखाएको व्यवहारबाट अलमलिएको एमाले नेतृत्वको सरकारले एकतर्फी परनिर्भरताको अन्त्य गर्न चीनसँग पारवहनसहित अन्य महत्त्वपूर्ण विषयमा सम्झौतासमेत गर्नेछ । प्रधानमन्त्री ओलीले नै आसन्न चीन भ्रमणको क्रममा नेपालले पारवहनलगायत विविध द्विपक्षीय सुविधाबारे सम्झौता हुने बताइसकेका छन् ।
पारवहन सुविधासँगै इन्धन र स्वतन्त्र व्यापार क्षेत्र (फ्री ट्रेड एरिया) सम्झौता हुनेछ भने अन्य द्विपक्षीय विविध विषयमा छलफल हुने तय छ । चीनसँग जलाशययुक्त विद्युत् परियोजनामा चिनियाँ एक्जिम बैंकमार्फत सहुलियतपूर्ण ऋण लिनेबारे समेत प्रस्ताव लैजाने तयारी सरकारको छ । नाका सुचारु, सडकको स्तरोन्नति, विभिन्न पूर्वाधारमा लगानी, नेपाली उत्पादनलाई चीनमा सहज पहुँच, पर्यटनमा सहकार्य, नेपालसम्म रेलमार्गलगायत एक दर्जनभन्दा बढी विषयमा छलफल हुनेछ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।