कुकुरलाई झम्टिँदै घरभित्र पसेको चितुवा दिनभर कोठामा थुनियो
भवानी अधिकारी
स्याङ्जा, फाल्गुन २८ गते । स्याङजाको भिरकोट नगरपालिका–११ जोगीथुम स्थित होमबहादुर गुरुङको घरमा शुक्रवार जंगलबाट आएर कोठा भित्र रहेको कुकुरलाई झम्टिँदै घरभित्र पसेको चितुवालाई घरधनी गुरुङले बाहिरबाट चुकुल लाएर दिनभरि थुनिदिएका छन्। कुकुर भने भाग्न सफल भएको छ ।
शुक्रवार बिहान ३ बजे थुनिएको चितुवालाई प्रहरी र बन कार्यालयका कर्मचारीको सहयोगमा दिउँसो साढे ४ बजे छाडिएको छ । चुकुल खोलिदिएपछि चितुवा जंगलतिर गएको प्रहरी निरीक्षक रणबहादुर चन्दले जानकारी दिए । बस्तीबीचमा रहेको गुरुङको घर नजिकै जंगल छ । चितुवाबाट मानवीय तथा भौतिक क्षति भने केही गरेको छैन । करिब १४ घण्टा थुनिएको चितुवा भकारीको आड लागेर दिनभर सुतेको बताइएको छ । सो चितुवा अन्दाजी ४÷५ वर्षको रहेको वन कार्यालयका प्रमुख अजित कर्णले बताए ।