इंग्लिस प्रिमियर लिगमा आर्सनलको खराब सुरुवात, वेष्ट ह्यामसँग २–० ले पराजित
साउन २४ – आर्सनल इंग्लिस प्रिमियर लिगको यो सिजनाको पहिलो खेलमा पराजित भएको छ । आइतबार बेलुका भएको खेलमा आर्सनल वेष्ट ह्यामसँग २–० ले पराजित भएको हो ।
गएको सिजनमा तेस्रो भएको आर्सनल यो सिजनको पहिलो खेलमा तुलनात्मक रुपमा आर्सनल भन्दा कमजोर मानिएको वेष्ट ह्यामसँग पराजित भएको हो । वेष्ट ह्यामले गएको सिजन १२ औं स्थानमा रहँदै सिजन अन्त्य गरेको थियो ।
आइतबार भएको आफ्नो पहिलो खेलमा ४३ औं मिनेटमा केकाओ कोउएटको गोलबाट वेष्ट ह्यामले सुरुवाती अग्रता लिएको थियो । यस्तै औं मिनेटमा मौरो जारटेले गोल गर्दै वेष्ट ह्यामलाई २–० को जित दिलाए ।
जितसँगै वेष्ट ह्यामले तीन अंक जोडेको छ । खेल अवधिभर बलमा बढी नियन्त्रण राखेको भएपनि आर्सनलले गोल गर्न सकेन ।
साउथह्यामटन र न्युक्यासल बराबरीमा
आइतबार बेलुका नै भएको अर्को खेलमा साउथह्यामटन र न्युक्यासले बराबरी खेलेका छन् । यी दुई टोलीले २–२ को बराबरी खेल्दै अंक बाँडेका हुन् ।
२४ औं मिनेटमा ग्राजियानो पेलेको गोलबाट साउथह्यामटनले सुरुवाती अग्रता लिएको थियो । ४२ औं मिनेटमा न्युक्यासलका पापसि सिसेले बराबरी गोल फर्काए ।
यस्तै ४८ औं मिनेटमा जर्जिनियो विनाल्डोले गोल गर्दै न्युक्यासललाई २–१ को अग्रता दिलाए । तर ७९ औं मिनेटमा साउथह्यामटनका लङले गोल गर्दै खेल २–२ को बारबरीमा ल्याए । अंक तालिकामा दुवैले एक एक अंक जोडेका छन् ।